Logo

मन्त्री निवास नयाँ बन्दै



साउन ६, काठमाण्डौ । सरकारले ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास सार्ने भएको छ । भैसेपाटीको ९८ रोपनी जग्गामा ४१ वटा आलिसान भवन बनाउँदै मन्त्री निवास सार्ने निर्णय सरकारले गरेको हो । अहिले भइरहेको निवास सन्तोषजनक हुँदा हुँदै पनि ठूलो रकम खर्च गरेर सुविधान सम्पन्न भवन बनाउने निर्णयलाई कतिपयले भने रुचाएका छैनन् ।

नयाँ बन्ने मन्त्री निवास क्षेत्रमा स्विमिङ पुल, हेलिप्याड, जिमखाना, सपिङ महल, कम्युनिटी हल लगायतका सुविधा रहने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । यी भवनहरु यहि विभागले बनाउने छ ।

विभागका विशेष भवन निर्माण संयोजक प्रकिर्ण तुलाधरका अनुसार प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुईबटा प्रवेशद्वार बन्नेछन् । नेपाली परम्परागत शैलीमा बनाइने यी आलिशान भवन अबको दुई वर्ष भित्र बनाइसक्ने विभागको लक्ष्य रहेको शहरी विकास तथा भवन निर्माण विभागका प्रकिर्ण तुलाधरले जानकारी दिए ।

यस क्षेत्रमा बन्ने ४१ वटा भवन मध्ये मन्त्रीका लागि २४ वटा, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि ३ वटा र सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु बस्ने १४ वटा भवन बनाइने छ ।

भवनहरु बनाउनका लागि भैसेपाटीको १२३ रोपनी जग्गामध्ये ९८ रोपनी प्रयोग गरिने छ । जसमध्ये आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । सरकारले मन्त्रीहरुका लागि सुविधासम्पन्न निवास बनाउन लागेसँगै सर्वसाधारणले भने असन्तुष्टी व्यक्त गरेका छन् ।

शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले यहि गएको असार २० गते र ३१ गते गरेर दुईवटा टेन्डर खोलिसकेको छ । ३० दिनको समय दिएर खोलिएको टेन्डरमा विभिन्न कम्पनीहरुले आवेदन हालेका छन् । टेन्डर पछि प्राविधिक छनोट गर्ने र बाँकी प्रक्रिया पुरा गरेर चाडै नै काम थाल्ने योजना विभागको छ ।

शहरी बिकास तथा भवन निर्माण विभागका अनुसार ९८ रोपनी जग्गामा बन्ने संरचना निर्माणका लागि करीब दुई अर्ब र साँढे २७ रोपनी जग्गामा बन्ने संरचनाका लागि १ अर्ब खर्च लाग्ने छ ।।



प्रतिक्रिया दिनुहोस्