Logo

देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न तयार रहन भनेपछि…



रिपोर्टर्स नेपाल विशेष । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सम्बन्ध नजिकिएको छ । गएको संसदीय चुनावको केही महिना अगाडि देखि टाढिएका नेताद्वय पछिल्लो समय नजिकिन थालेका छन् ।

प्रचण्ड र देउवाबीच बेला बेलामा भेटघाट भइरहेको छ । होटल समिटको भेटपछि नजिकिएका दुवैले मिलेर जानसक्ने सम्भावनाबारे समेत छलफल गरिसकेका छन् ।

पछिल्लो समय देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि तयार रहन भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षे कार्यकाल नजिकिदै जाँदा देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि तयार रहन भन्नुलाई अर्थपूर्ण मानिएको छ ।

दुई वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न नपाइने कानुनी व्यवस्थाका कारण ओली हलचल नहुने अवस्थामा छन् । तर, पछिल्लो समय खुलेका केही विषयले ओली सजिलै पदमा रहिरहन कठिन छ । प्रचण्डले डेढ महिना अघि आधा आधा अवधि प्रधानमन्त्री बन्ने भित्री सहमतिको सनसनीपूर्ण खुलासा गरिदिए । ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनको अन्तवार्तामा खुलासापछि अबको राजनीतिक सजिलै जाने छाँट नदेखिएको हो ।

यही मौकामा देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न तयार रहन भनेका छन् । विगतमा ओली सरकार ढाल्न देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको इतिहास छ । प्रचण्ड र देउवाबीच आधा आधा अवधि प्रधानमन्त्री बन्ने सहमति भएको थियो । त्यसै अनुसार देउवा चुनाव गराउँदा प्रधानमन्त्री बने । तर, प्रचण्डले ओलीसँग मिलेर चुनाव लड्नुका साथै पार्टी समेत एक गरे ।

अहिले सत्तासंघर्ष हुने छाँट देखिदै जाँदा देउवाले पनि नयाँ तुरुप हानेका छन् । उनले प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री बन्न सहयोग गर्ने आश्वासन दिएका छन् । यसले ओलीलाई अहिले नै झड्का परेको छ । अब नेपाली राजनीतिमा नयाँ नयाँ तुरुप फाल्ने होडवाजी चल्ने छाँट देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्