Logo

निर्मला पन्त हत्याको एक वर्षः अपराधी कहाँ छन् ?



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । १० साउनको साँझबाट हराएकी उनी भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन् । उनी चढेको साइकल उखुबारी नजिकैको सडक छेउ फ्याँकिएको थियो ।

उनलाई १० साउनको राति बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेपनि वास्तविक हत्यारा अझै पत्ता लाग्न सकेको छैन । शंकाको सुई शक्तिशाली व्यक्ति देखि समान्य व्यक्तिसम्म घुमेको थियो । तर, प्रहरीले वास्तविक दोषी पत्ता लगाउन नसक्दा आलोचित भएको छ ।

घटनास्थल सुरक्षित गर्न नसकेको र प्रमाण जोगाउन नसकेको भनी प्रहरीका उच्च अधिकारीहरु नै कारबाहीमा परे । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्ली बिष्ट देखि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु नै निलम्बनमा परे ।

घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पायो । जति हल्ला भयो उति दोषी पत्ता लगाउन प्रहरी असफल रह्यो । प्रहरीले शंकाको भरमा पक्राउ परेकाहरुलाई जर्बजस्ती फसाउन खोजिको आरोप समेत लाग्यो ।

दाजुको हत्यामा जेल परेका दिलिप सिंह बिष्ट पक्राउ परे । उनले बयानका क्रममा हत्या स्वीकार गरेका थिए । तर, बिष्ट बारे यथेष्ठ प्रमाण नभेटिएपछि फसाउन खोजएको खबर फैलियो । बिष्ट छुटे ।

नेपाल प्रहरीको इतिहासमा निर्मला पन्त निकै जटिल अनुसन्धानको विषय बनेको छ । शंकास्पदमाथि निगरानी र बेला बेलामा पक्राउ गर्दै बयान लिने गरेबाट प्रहरी झन् आलोचित भयो ।

निर्मला साथीको घरमा गएकी थिइन् । बबिता बम र रोशनी बमलाई समेत पक्राउ गरी अनुसन्धान गरियो । रोशनी निर्मलकी साथी थिइन् । बम दिदीबहिनीको घरमा पुगेर फर्कंदा घटना घटेकाले शंका साथी र उनकी दिदीमाथि पनि गरियो । तर, प्रहरीले यथेष्ठ प्रमाण जुटाउन सकेन ।

सरकारको विभिन्न तहबाट छानविन समिति गठन भयो । तर, निर्मलाका हत्यारा अझै पत्ता लागेन । एक वर्ष बित्दा पनि दोषी खुलेआम हिंडिरहेको छ । तर, पहिचान गरी कारबाही गर्न सकेन ।

ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो । जति जति दोषी पत्ता लाग्न समय लाग्छ उति उति निर्मला पन्तले न्याय नपाए बराबर हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot