Logo

बाढी पहिरोले लियो १ सय ११ को ज्यान, २ अर्बको क्षति



साउन १०, काठमाण्डौ । यसपटकको वर्षातले निम्त्याएको विपत्तिले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढी पहिरोले घरसमेत बगाउँदा मृत्यु र बेपत्ता हुनेको संख्या झण्डै दुई सय पुगेको छ । ज्यान गुमाउनेको संख्या मात्रै १ सय ११ जना छन् । अहिलेसम्म बाढीबाट १२८ र पहिरोका २०८ घटना भएका छन् ।

यस वर्षको पहिलो दिनदेखि साउन ८ गतेसम्म बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय ११ रहेको छ । गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् ।

यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् ।

वैशाखदेखि साउन पहिलो हप्तासम्ममा बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको छ । बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति भएको छ । यस्तै पहिरोबाट रु दुई करोडभन्दा बढीको क्षति भएको छ ।

बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् । सिराहामा सात र ललितपुरमा छ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच–पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार–चार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन–तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई–दुई जनाको ज्यान गएको छ ।

उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । अझै पनि वर्षायाम सकिएको छैन ।

वर्षापछिको बाढी पहिरोबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको अवस्थामा अझै क्षति बढ्ने सक्ने देखिन्छ । प्रतिनिधिसभा बैठकमा भने बाढीले निम्त्याएको समस्याको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएर छलफल भयो । नेपाल भारत सिमा क्षेत्रमा बनाइएका बाँधले समस्या निम्त्याएको भन्दै कुटनीतिक तरिकाले समस्या समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्