Logo

‘भारतसँगको व्यापार सन्तुलित हुनुपर्छ’



काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत बीचका व्यापारसम्बन्धी सन्धिसम्झौता समयमै परिमार्जन हुनुपर्ने बताएका छन् । नेपाल–भारत लजिष्टिक समिटको आज काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतसँग नेपालको उच्च व्यापार घाटा रहेको भन्दै व्यापार सन्तुलित हुनुपर्नेमा जोड दिए ।

उनले जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने विश्वाससमेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको दुई पक्षीय सम्बन्ध सडक सञ्जाल नै रहेको भन्दै रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम गरिरहेको बताए ।  काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेकोले भारतसँगको व्यापारको भूमिका महत्वूर्ण हुने बताए ।

कार्यक्रममा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलानले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्ने बताए । नेपालसँगको व्यापार थप सुधार र विस्तार गर्नुपर्ने अवस्था रहेको भन्दै उनले दुई पक्षीय व्यापार विस्तार गर्न भारत तयार रहेको बताए । त्यस्ता विषयमा दुवै देश छलफल र कुराकानीबाटै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीले नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको भन्दै पेट्रोलियम पाइपलाइनबाट नेपालको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्