Logo

जब ‘जनयुद्ध’ को भूतले प्रचण्डलाई तर्सायो



दीपेश केसी/ जङ्गबहादुर जिवितै छँदा टुँडिखेल नजिक शालिक राख्न लगाएछन् । यो पनि बेलायत जाँदा साथ रहेका एकजना चाकडीवाजको सल्लाहमा । तर, शालिक राखेको केही महिनामै निकाल्न लगाएछन् । उनलाई लागेछ आफू जिउँदो छँदा पो शालिकको सम्मान हुन्छ, मरेपछि शालिकको सम्मान त के दुव्र्यवहार हुनसक्छ । १९ औं शताब्दीमा कोतपर्वमा कत्लेआम गरेका जङ्गबहादुर दुरदर्शी थिए र शालिक हटाइहाले ।

२१ औं शताब्दीका प्रचण्ड सत्ता र शक्ति सधै रहन्छ जसरी आफूलाई नायक सम्झदैछन् । यतिसम्मकी अन्तर्राष्ट्रिय फौजदारी अदालत, ‘द हेग लगेमा हिरो हुन्छु’ भन्दैछन् । प्रचण्डले भुल्नु हुँदैन कि नेतृत्व लिएको विद्रोहले नेपालको इतिहासमा सबैभन्दा बढी मान्छे मारिएका छन् । कुनै प्राकृतिक प्रकोप या लडाईंमा समेत यति धेरै मान्छे मारिएको तथ्यांक छैन । १८ हजार मान्छे मारिएको घटना बिर्साएर देशलाई स्वर्णीम युगमा लानुपर्ने दायित्व निर्वाह गर्नुपर्नेहरुले बाटो बिराएका मात्र छैनन् बाटो भत्काउँदैछन् ।

जनतालाई खोक्रो आश्वासन दिएर निराशा छाउने गतिविधि गरिरहेछन् । जनयुद्ध लडेकाहरु विलासी जीवनमा भुलेका छन् । सर्वहारा वर्गको अधिनायकत्व ल्याउने भनेकाहरु शासनसत्तामा पुगेर पूँजीपतिमा रुपान्तरण भएका छन् । यसले सबैभन्दा बढी जनयुद्ध लडेकाहरुलाई चिढ्याएको हुनुपर्छ । मर्नेहरु त मरिसके बाँच्नेहरुमा पश्चात्ताप र आक्रोशको ज्वालामुखी छातिभित्र थोपरिएको छ । त्यसले विष्फोटक रुप लिनसक्छ । आक्रोश र असन्तुष्टिको परिणाम बनेर लेनिन बिष्टहरु जन्मिएका छन् । जसले बाल्यावस्थामा कलम समात्ने हातले बन्दुक समाते । किताब बोक्ने झोलामा गोलीगठ्ठा बोकेर हिंडे ।

लेनिनको चुनौती
रुसी बोल्सेभिक क्रान्तिका नायक भ्लादिमिर लेनिनको नामबाट प्रभावित भएर कसैले लेनिन बिष्टको नाम राखिदिएको हुनुपर्छ । बिष्टले जनयुद्ध लडे । बालसैनिकका रुपमा उनको प्रयोग भयो । लेनिन एउटा पात्र मात्र हुन्, उनीजस्ता हजारौं बालसैनिकको प्रयोग दश वर्षे सशस्त्र द्वन्द्वकालमा भएको थियो । विद्यालयमा पढ्दा पढ्दै स्वर्णीम युग ल्याउने सपना देखाएर जङ्गलमा बन्दुक थमाउन लगिए । बुर्जुवा शिक्षा लिन हुन्न भन्दै सत्ताको लोभ देखाउँदै ‘सत्ता बन्दुकको नालबाट निस्कने’ सिकाउँदै लगिए ।

आकर्षण गर्ने अनेकन उपाय थिए । अबोध बालबालिकाहरुको ब्रेनवास गरियो । नयाँ चाहना र नयाँ भविष्य निर्माणका लागि आतुर हुने बालबालिकाहरु सजिलै माओवादीको जनयुद्धमा आकर्षित भए । घरपरिवारबाट बिछोडिएर क्रान्ति सम्पन्न गरी जनवादी शासन स्थापना गर्ने सपना देखे । चीन, रुस, क्युवालगायत देशको कम्युनिष्ट क्रान्तिका सुन्दर पक्षहरु पढाइए । ती देशहरुले क्रान्तिपछि सुखमात्र पाएको सुनाइए । यसरी हजारौं बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने गतिविधि भए ।

हजारौं आमाहरुको काख रित्तियो । हजारौं टुहुरा भए । बालबालिकाहरु सबैभन्दा तारोमा परे । कलम उचाल्नुपर्ने कलिला हातहरुले बन्दुक उचाले । सुन्दर भविष्यको आशामा अञ्जानमा दुश्मन भनिएका आफ्नैहरुसँग लडे भिडें । त्यस क्रममा धेरै मारिए । केही बाँचे ।

बालसैनिकहरु सेना समायोजनका क्रममा अयोग्य ठहरिए । जसले सशस्त्र जनयुद्धमा बालसैनिकको प्रयोग भएका घटनाहरु खुल्यो । प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्दै युद्ध लडेका प्रचण्ड बाबुरामलगायत माओवादी नेताहरुका लागि अहिले इतिहास चुनौती बनेर तेर्सिएको छ ।
बालसैनिकका रुपमा प्रयोग भएकाहरु एकीकृत भएका छन् । उनीहरुले अन्तर्राष्ट्रिय क्षेत्रसम्म आवाज पुर्याएका छन् । युद्धमा भएका गैरन्यायिक घटनामा कसैले उन्मुक्ति पाउन नहुने आवाज उठाइरहेका छन् ।

दश वर्षे युद्धमा १८ हजारभन्दा बढी मारिएको तथ्यांक छ । मारिएका र तिनका परिवारले घटना बिर्सिएका छैनन् होला । तैपनि शान्तिका लागि संयमता अपनाएका छन् । २१ औं शताब्दीमा अमानवीय तरिकाले हत्या र यातना भए । जुन पृथ्वीनारायाण शाहले १८ औं शताब्दीमा नेपाल एकीकरण गर्दा पनि भएको थिएन । १९ औं शताब्दीको अन्ततिर जङ्गबहादुरले समेत यो हदको मानवताविरोधी जघन्य घटना घटाएका थिएनन् । तैपनि, शान्तिका लागि जनताले महानता देखाए ।

विगतका घटनालाई लुकाउन सकिएला तर मेटाउन सकिदैन । जोडतोडले उठिरहेको बालसैनिकको मामला यही हो । यसमा कस्को के स्वार्थ छ अध्ययन अनुसन्धानको विषय होला । तर, बालक अवस्थामा लेनिन बिष्टको काँधमा बन्दुक बोकाइएको होइन भनेर न त प्रचण्डले दाबी गर्न सक्छन् न त डा.बाबुराम भट्टराईले दाबी गर्न सक्छन् ।

लेनिन बिष्ट माओवादी जनयुद्धका जनसेना कमाण्डरहरु प्रचण्ड र बाबुरामका लागि पिउसो थिए । उनी जस्ता कति मारिए कति अङ्गभङ्ग भए । तर, जिवितै फर्कन सफल लनिन जब अयोग्य लडाकु भनिए तब वास्तविक युद्धमा होमिन थाले ।

आफूहरुको हाँस्ने खेल्ने उमेर हरण गरिएको चाल पाएर न्याय पाऊँ भन्दै हिंडे । आमा र बाबुको काखमा रमाउनुपर्नेहरुले बाल्यकाल नहुँदै वृद्ध बनाइन लागेको चाल पाएर विगतमा परेको अन्यायको आवाज उठाउन थाले । त्यो आवाज यति चर्को भएको छ कि प्रचण्ड र बाबुरामको कानै खान सक्ने भइसकेको छ । देशभित्र बालसैनिकको आवाजको सुनुवाई नभएपछि अन्तर्राष्ट्रियकरणतर्फ बढेको छ ।

हेगको डर
अहिले प्रचण्ड, बाबुरामलगायत नेता मात्र नभई द्वन्द्वसँग जोडिएका नेताहरुका लागि विदेश भ्रमण असजिलो भइसकेको छ । प्रचण्ड स्वयंले अमेरिका भ्रमणताका पक्राउ पर्ने डरबारे खुलासा गरिसके । उनले अहिले अन्तर्राष्ट्रिय फैजदारी अदालत, हेगको त्रासबारे बोलिसके । हेग गएमा आफू हिरो हुने दाबी गरेका छन् । तर, प्रचण्डले हेग पुग्नेहरु हिरो होइन किरो बनेको इतिहास अध्ययन गर्न जरुरी छ ।

हेगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत छ जसले अन्तर्राष्ट्रिय तहमै बदनाम मानवताविरोधी अपराध, युद्धअपराधलगायतको मुद्दा हेर्दछ । हेगमा लेनिन बिष्ट लगायत बालसैनिकहरु मुद्दासहित पुगेमा के हुन्छ ? यो गम्भीर विषय हो । लेनिनले आफू हेगमा मुद्दा लिएर जाने बताउँदै आएका छन् । उनले प्रचण्ड र बाबुराम मात्र नभई जनयुद्धकालमा भएका गैरन्यायिक घटनासँग जोडिएका सत्तापक्ष र विपक्षका नेताहरु सबैविरुद्ध उजूरी गर्ने चेतावनी दिइरहेका छन् । यो आफैमा गम्भीर विषय हो ।

हेगमा मुद्दा अगाडि बढेमा सर्वियाको गृहयुद्ध देखि लाइबेरियाको युद्ध अपराधमा उजूरी खेपेका वरिष्ठ पूर्व सरकारी अधिकारीहरुलाई जसरी कठघरामा उभ्याइने अवस्था हुन सक्छ । लेनिनले आफ्ना पूर्व नेता प्रचण्ड र बाबुरामलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतको कठघरामा उभ्याउँछु भनेका छन् । यो अवस्था आउला नआउला अलग विषय हो । तर, प्रचण्डले लेनिनसँग जुहारी खेल्न थालिसके । उनले १३ साउनमा लेनिनको पछिल्लो चेतावनीको जवाफलाई हल्का मान्दै ‘हेग गए अन्तर्राष्ट्रिय रुपमा हिरो बन्छु’ भने । कमरेड प्रचण्ड ! हेग पुगेका लाइबेरियाली पूर्व राष्ट्रपति चाल्र्स टायलर हिरो बनेनन् । युद्ध अपराध गरेको अभियोग पुष्टि भएपछि ५० वर्षको कारावास सजाय सुनाइए । बोस्निया हर्जगोभनियाको युद्ध अपराधमा दोषी ठहरिएका सर्व नेता रादोभान काराजिक ४० वर्षको कारावास सजाय भोगिरहेका छन् । कंगोका विद्रोही नेता थोमस लुवांगा डिइलो युद्ध अपराधमा दोषी ठहरिए ।

अदालतमा मुद्दा दायर हुँदैमा कोहीपनि अपराधी भइहाल्दैन । तर, माओवादी जनयुद्धमा धेरै मानवताविरोधी घटना भएका छन् । यसको जिम्मेवारी त्यतिबेलाको युद्धका पक्षधरहरुले लिनैपर्छ । युद्धअपराध अन्तर्राष्ट्रियकरण हुनुभन्दा पहिले आन्तरिक तरिकाले न्याय दिलाउने कार्य अबिलम्ब हुनुपर्छ । अहिले बालसैनिकहरु न्यायका लागि सक्रिय भएका छन् । लेनिन एउटा पात्र मात्र हुन् । उनीजस्ता हजारौं बालसैनिकहरुको भविष्यमाथि खेलवाड भएको छ । त्यो क्षतिको पूर्ति हुनसक्दैन । तर, उनीहरुको भविष्यका लागि बेलैमा सोच्नुपर्छ । कामरेड प्रचण्डले लेनिनसँग जुहारी खेल्नुभन्दा लेनिन जस्ता हजारौं पूर्व बालसैनिकको देशभित्र व्यवस्थापन गर्नुपर्छ । विगतमा जसरी हजारौं बालबालिका र युवाहरुको भविष्यमाथि खेलवाड भयो अब त्यो नहुने सुनिश्चितता गर्नुपर्छ ।

हेग नपुगेर के भो इतिहासले हिसाबकिताब राखेकै छ । मानवताविरुद्धको अपराध केही समय सत्ता र शक्तिको आँडमा छोपिएला मेट्न सकिदैन । विगतको गल्ती सच्याउन र पश्चात्ताप गर्न पनि भविष्यमा कुनैपनि बालबालिका या युवालाई हतियार नबोकाइने वातावरण निर्माण गर्नुपर्छ । कम्तिमा देश र आउँदो पीढीको भविष्य सुन्दर बनाउन भूमिका खेल्नैपर्छ । प्रचण्डले हेगमा पुगेर हीरो बन्छु भन्ने ठानेका भए भ्रम पालेका छन् या भ्रम फैलाउन खोजेका छन् । उनी हेग नपुगी नेपालको सुन्दर भविष्यको नक्शा कोरुन् । जुन स्वर्णीम युग ल्याउने भनेर युद्ध गरियो त्यसको सान्दर्भिकता पुष्टि गर्न प्रचण्ड र बाबुरामका लागि सम्भव छैन । अब उनीहरुले विगतको पश्चाताप गरेर जीवनको उत्तराद्र्धमा भावी पीढीका लागि सुन्दर भविष्य निर्माणका लागि त्याग गर्न सक्छन् । नत्र जनयुद्धको भूतले तसाईरहन्छ । लेनिनको सिद्धान्तको अनुयायी बनेकाहरु २१ औं शताब्दीका लेनिनहरुबाट झस्किइरहनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्