Logo

संसदमै भक्कानिए भारतीय उपराष्ट्रपति



काठमाडौं १४ साउन । राजनीतिक कटाक्ष र प्रतिस्पर्धा जतिसुकै चर्को भएपनि हार्दिक सम्बन्ध र मित्रताका सामु त्यो गौण बन्छ । सोमबार भारतको माथिल्लो सदन राज्यसभामा विरलै देखिने घटना भयो । त्यहाँ एकपटक मित्रताले राजनीतिलाई पराजित गर्‍यो ।

भारतको माथिल्लो सदन राज्यसभाका अध्यक्ष तथा उपराष्ट्रपति वन्कैया नायडु सोमबार आफ्ना पुराना मित्र तथा वरिष्ठ राजनीतिज्ञ एस जयपाल रेड्डीको सम्झनामा केही बेर भावुक बने। आइतबारमात्र मृत्यवरण गरेका भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता जयपाल रेड्डीप्रति सदनमा शोक प्रस्ताव पढ्ने क्रममा भारतका उपराष्ट्रपति समेत रहेका नायडुले आफ्नो आँशु रोक्न सकेनन् भारतमा उपराष्ट्रपति राज्यसभा अध्यक्ष समेत हुने व्यवस्था छ।

नायडु भावविहल बनेपछि राज्यसभामा एकाएक मौनता छायो। चार दशकभन्दा पुराना मित्र नायडु र रेड्डी दुवै आन्ध्रप्रदेश हुन्। सन् ७० देखिकै सखा प्रदेश राजनीतिको अनुभव सगाँल्दै दिल्लीसम्म सँगसगै आइपुगेका हुन्। ‘मलाई माफ गर्नुस् उनीसँगको ४० वर्षभन्दा पुरानो मित्रताका कारण भावनामा बगें’ नायडुले आँशु पुछ्दै राज्यसभालाई गरेको सम्बोधनमा भने, ‘म ६ वर्ष कान्छो भएपनि उनी मेरा मित्र थिए, अनि अग्रज पनि।’

नायडुको रेड्डीसँगको संगत आन्ध्रप्रदेशको विधानसभादेखि कै हो। विधान सभाको बैठक सुरु हुनु अघि उनीहरु सँधैजसो सँगै नास्ता गर्थे। विधानसभा पनि एउटै बेन्चमा बस्थे। रेड्डीको निमोनियाका कारण ७७ वर्षको उमेरमा आइतबार हैदरावादको एक अस्पतालमा निधन भएको हो। शारीरिक रुपमा अशक्त भए पनि भारतीय राजनीतिमा रेड्डीको परिचय प्रखर वक्ता र निष्ठावान राजनीतिज्ञको रहृयो।

करिब ५ दशक लामो राजीतिक जीवनमा उनी ४ कार्यकाल आन्ध्र प्रदेशको विधायक रहे। दुई पटकसम्म राज्यसभाको सदस्य रहे। उनी राज्यसभामा विपक्षी दलको नेता समेत थिए। पाँचपटकसम्म लोकसभामा निर्वाचित उनी थुप्रैपटक मन्त्री बने। संसदमा सँधै खरो रुपमा प्रस्तुत हुने उनी सन् १९९८ मा उत्कृष्ट सांसद ठहरिए। ‘विषयबस्तुको ज्ञान र बुझाईसँगै भाषामा गज्जबको पकड थियो। त्यो असामान्य थियो’ नायडुले भने।

रेड्डीको राजनीति भने सन् ७० को दशकमा हैदरावादको ओसमानिया विश्वविद्यालयबाट विद्यार्थी राजनीति सुरु भएको हो। त्यसपछि उनी पहिलो पटक कांग्रेसबाट विधायक चुनिए। तर, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा संकटकाल घोषणा गरेपछि उनी कांग्रेस छाडेर जनता पार्टीमा लागे।

सन् १९८० को चुनावमा आन्ध्रप्रदेशको मेडक लोकसभा सिटमा इन्दिरा गान्धीविरुद्ध चुनाव लडेका थिए। कंग्रेसले सन् १९८४ को लोकसभा चुनाव पुरै बढारेका बेला समेत रेड्डी आन्ध्रप्रदेशको महबुब नगरबाट निर्वाचित भए।

त्यतिबेलाको विपक्षी जनता पार्टीका महासचिव रेड्डी संसदमा विपक्षीको प्रमुख आवाज थिए। उनी पहिलो पटक सन् १९९८ मा आईके गुजराल सरकारका सूचना तथा प्रसारण मन्त्री बनेका थिए। सन् १९९९ मा उनी फेरि कांग्रेसमै फर्किए र सन् २००४ मा मनमोहन सिंह सरकारमा केन्द्रिय मन्त्री बने। त्यसपछि १० वर्षसम्म चलेको कंग्रेस सरकारमा रेड्डीले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्