Logo

सेनाको मेजर र नेवानिको पाइलटको घरमा विद्युत चोरी भेटिएपछि…



धुलिखेल । नाम चलेको परिवार । परिवारका सदस्यहरु सेनाको अधिकृत र नेपाल वायु सेवा निगमको पाइलट । तर, त्यही परिवारले वर्षौं देखि विद्युत चोरी गर्दै आएको फेला परेको छ । त्यो पनि भित्ताभित्र योजनावद्ध तरिकाले पाइप जडान गरी तार राखेर मिटरबाहिरबाट सिधा विद्युत प्रयोग गरेर ।

१२ साउनको विहान नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाले धुलिखेल नगरपालिका ७ बाँसघरीस्थित एउटा घरमा विद्युत चोरीको यो शैली भेट्यो । घरधनी केशव केसीका छोराहरुमध्ये जेठा राजु केसी नेपाली सेनाका मेजर र कान्छा नेपाल वायु सेवा निगमका पाइलट छन् ।
घरमा जडान गरिएको मिटर चेकजाँच गर्दा दशकौं देखि विद्युत चोरी भेटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाले पुष्टि गरेको छ ।

विद्युत चोरीसम्बन्धि जाँच गर्न गएका कर्मचारीका अनुसार घरको भित्ताभित्र पाइप राखी त्यसभित्र तार जडान गरी मिटरबाहिरबाट विद्युत लगिएको भेटिएको जानकारी दिए । निकै मिहेनतपछि मात्र चोरी पत्ता लागेको थियो । प्राधिकरणका एक कर्मचारीले भने,‘चोरी पत्ता लगाउन एक घन्टा समय लाग्यो ।’ मिटर नै बिग्रिएको हो कि भनेर जाँच समेत गरिएको तर अन्तमा भित्ताबाट तार लगेको भेटिएको ती कर्मचारीले बताए । अन्तमा भित्ता फोरेर तार निकालिएको थियो ।

विद्युत प्राधिकरणका कर्मचारी पुग्दा घरधनीले शुरुमा रोक्न खोजेका थिए । शक्तिको दुरुपयोग गरेर मिलाउन खोजेपनि कर्मचारी मान्न तयार भएनन् । अन्तमा चोरी पत्ता लगाएरै छाडे ।

चोरीपछि घरधनी केसीले जरिवाना समेत तिरेका छन् । जरिवाना तिरेपनि विद्युत चोरीको खुलासाले बदनाम बनाइएको भन्दै मेजर केसी प्राधिकरणका कर्मचारीसँग चिढिएको बुझिएको छ ।

विद्युत चोरी गरेवापत् जरिवाना तिरेपनि लामो समययता चोरी गरी मेजर केसीको परिवारले लाभ लिइसकेको भेटिएको छ । घटना गुपचुप राख्न दबाब समेत दिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्