Logo

अपराध अनुसन्धानमा नेपाल प्रहरी कति सफल ?



साउन १४, काठमाण्डौ । अपराधिक घटना पूर्ण रुपमा अन्त्य गर्न नसकिएला । तर न्युनिकरण गर्न अवश्य सकिन्छ । यसका लागि नेपाल प्रहरीको भूमिका प्रभावकारी बन्नुपर्छ । तर हत्याका घटना न्युनिकरण गर्न र अपराधीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी पूर्ण रुपमा सफल भएको छैन ।

आर्थिक वर्ष २०७३÷७४ मा ६ सय १६ जनाको हत्या भएकोमा ५ सय ३१ हत्या काण्डको मात्रै अनसुन्धान टुङ्गोमा पुगेको छ ।

बाँकी ८५ हत्याकाण्डको अनुसन्धान निष्कर्ष बिहिन छ । आर्थिक वर्ष २०७४÷७५ मा ६ सय २८ जनाको हत्या भएकोमा ५ सय ५५ व्यक्तिको प्रहरीले हत्यारा पत्ता लगाएको छ । बाँकी ७३ व्यक्तिको हत्यारा अझै पत्ता लागेको छैन् । आर्थिक वर्ष २०७५÷७६ मा ६ सय ५९ जनाको हत्या भएकोमा १ सय ६७ हत्या काण्डको मात्रै अनुसन्धान निष्कर्षमा पुगेको छ ।

बाँकी ४ सय ९२ हत्या काण्ड मध्ये केहिको हत्यारा नै पत्ता लगेको छैन भने केहिको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । यो तथ्याङ्कले प्रष्ट पार्छ की प्रहरीको अनुसन्धान खास प्रभावकारी छैन भनेर ।

कयौै हत्या काण्डको प्रहरीले नै प्रमाण नष्ट गर्ने र अनुसन्धान फितलो बनाउने गरेको पाइएको छ । यसको पछिल्लो उदाहरण हो निर्मला हत्या काण्ड । जसको प्रमाण प्रहरीले नष्ट गरेकै कारण आजसम्म हत्यारा पत्ता लागेको छैन् ।

हत्या काण्डको आरोपी प्रक्राउ नपर्नुको मुख्य कारण राजनीतिक दबाब नै हुने गरेको पूर्व प्रहरी अधिकारीहरु बताउँछन् । स्रोत साधनको बन्दोबस्त गर्न छाडेर आफ्ना स्वार्थका मुद्दामा राजनीतिक दलका नेताहरु सक्रिय बनेकाले समस्या हुने गरेको नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारी बताउँछन् ।

नेपाल प्रहरीले भने स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण कतिपय अनुसन्धान प्रभावकारी बन्न नसकेको स्वीकार गरेको छ । अहिलेसम्म भएका कमी कमजोरी सुधारेर जनताले अपेक्षा गरेजस्तै नतिजा दिन प्रयास गरिरहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउँछन् ।

निर्मला पन्त लगायतका दर्जनौ व्यक्तिको हत्यारा पत्ता लाग्न नसकेको यथार्थ जति तितो छ । हत्याको श्रृखला बढ्दै गएको तथ्याङ्क उति नै डरलाग्दो देखिएको छ । प्रहरीले उपलब्ध गराएको पछिल्ले ३ वर्षको तथ्यांक अनुसार प्रत्येक बर्ष हत्याको दर बढ्दै गएको छ ।

नेपाल प्रहरीले अपराध नियन्त्रण गर्न सफल भएको दाबी गरिरहदा बढ्दो हत्याको दर र अपराधी पक्राउ गर्ने दर बिच धेरै भिन्नता देखिएको छ । जसले नेपाल प्रहरीको कामप्रति नै प्रश्न चिन्ह खडा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्