Logo

सभामुख सरकारको छायाँजस्तै हुनुभयो : थापा



काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा सरकारको छायाँजस्तै बनेको आरोप लगाएका छन् । बुधबार संसद स्थगित् भएपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद थापाले यस्तो आरोप लगाएका हुन् ।

उनले भनेका छन्,‘केही दिनदेखि संसद अवरुद्ध छ । संसद अवरुद्ध होस् र यसभित्र छलफल नहोस भन्ने कुरामा हाम्रो कतैबाट पनि चाहना छैन् । संसद सबैभन्दा बढि हामीलाई चाहिएको छ । सरकारलाई गर्नुपर्ने प्रश्न, सरकारबाट लिनुपर्ने थुप्रै स्पष्टीकरणहरु छन् । हामीलाई डर के कुरामा रह्यो भने संसदमा सभामुखले स्वतन्त्र भएर निर्णय गर्न सक्नुहुन्छ कि सक्नुहुँदैन् भन्ने ठूलो प्रश्न छ । हामीले जुन दिन संसदीय छानबिन समितिको कुरा उठायौं, त्यो दिन उहाँले समिति बन्छ भन्नुभएको थियो । तपाईहरु अहिले बस्नुहोस भन्नुभएको थियो । हामीले मान्यौं ।’

तर, सभामुखले समिति बनाउनेबारे सरकारलाई सोधेको र अहिलेसम्म समिति गठन नगरेको थापाको आरोप छ । उनले भने,‘त्यसकारण सभामुख सरकारको छायाँजस्तै बन्नुभयो । यो सदनभित्र सभामुख हामी सबैको नेता हो । अभिभावक हो । आज हामीले उठाएको प्रश्नको उत्तर खोजेनौं भने संसद झन झन कमजोर हुँदै जान्छ ।’ थापाले उक्त घटनाका सम्बन्धमा सरकारले स्पष्टीकरण दिए पनि संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नसक्ने प्रतिक्रिया दिए । file photo, lens by Mukunda Kalikote/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्