Logo

प्रचण्डले हेगको हिरो बन्छु भन्नु हुन्छ भने फेरी जनआन्दोलनको सुरुवात हुनु हो–हृदयश त्रिपाठी



हृदयश त्रिपाठी कम्युनिष्ट राजनीतिबाट हुर्किएर मधेशको मुद्दाले स्थापित गराएको नेता हुन् । तर, नेकपाको सूर्य चिन्हबाट चुनाव जितेर उनको राजनीतिक लाइन अल्झिएको देखिदैछ । बौद्धिक नेता त्रिपाठी प्रष्ट बोल्छन् । उनीसँग देशको राजनीतिक घटनाक्रमबारे ्ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि लिएको अन्तवार्ताः

अब देशमा राजनीकि सहमति होला कि नहोला ?
सहमतिको अर्को विकल्प छैन सहमती हुन्छ । संसद अवरुद्धको विषयलाई लिने हो भने त्यसलाई निरन्तर प्रतिनिधिसभाका सदस्य समितिहरु छन् । तिनीहरु मार्फत पनि अगाडी बढ्न सकिन्छ । छुट्टै संसदीय छानविन समिती बनाउनुपर्ने आवश्यक छैन । यो काम राज्य व्यवस्थापन समितीले गर्दछ । यो त्यसको कार्यक्षेत्रभित्र पनि पर्दछ । नेकपा भित्रको विभागीय प्रमुखहरुको कुराले देशको राजनीतिलाई त्यति असर पारेको छैन । उहाँहरुको व्यक्तिगत जीवनमा तलमाथि भइरहेको छ । दुई पार्टी एकिकृत भएका छन । यो पुरानो विरासतलाई बोकेर हिँड्ने सहभागिता हो केही समय जान्छ पनि त्यो ।

बजेट पारित भए पश्चात् संसद अबरुद्ध भएको अवस्थामा संसदीय समितीको गठन गरी छानविन समिति गठन गर्नु उपयुक्त हुन्छ ?
संसद प्रभावकारी हुन सकेको छैन । संसदले आफ्नो प्रभावकारीतालाई देखाउन सकेको छैन । सरकारको भन्दा पनि संसदको नेतृत्वमा रहेका संसदीय दलहरुको बढी हुनुपर्छ । यसको लागि बैठकहरु सभामुखले राख्ने, प्रधानमन्त्रीले राख्ने । कुन विधेक महत्वपूर्ण छन् सरकारले छुट्याउन सक्नुप¥यो । विधेकहरुलाई अगाडी बढाउनका लागि प्रतिपक्षहरुले पनि सहयोग गर्नुप¥यो । यस्ता सबै कुरा मिलाउनको लागि राम्रो वातावरण सिर्जना गर्नुप¥यो । यो कलाविहीनताले गर्दा भएको हो ।

प्रतिनिधि सभामा हाम्रा देशका नेताहरुले संसदीय मामिलामा आर्जन गरेका ज्ञान प्रयोग भएन नि ?
त्यो त हो । प्रतिपक्षको पनि के छ भने पहिलो हद प्राप्तिको चुनावी नतिजाबाट ,अहिले कुनै विषयलाई अगाडी बढाउदा ऊ आफै तानिन खोज्छ त्यसैले ऊ पनि चाहदैन । प्रतिपक्षको पनि आन्तरिक राजनितीक जीवन उथलपुथल भएका कारणले पनि हो । संसदलाई प्रभावकारी बनाउनका लागि प्रतिपक्षको भूमिका महत्वपूर्ण छ ।

केपी शर्मा ओली र प्रचण्ड बीचको विवादको चुरो कुरा के होला ?
यो विषयमा धेरै विश्लेषण गर्नुपदैन । उहाँहरु दुवैजनाले जब पार्टी एकीकरण गर्नुभयो केही सोच,उद्देश्य र लामो अवधिसम्म एउटै पार्टी बनाउने भनेर सोचेर नै निर्णय गर्नुभएको होला । उहाँहरु दुवैजना संघर्षवाट खारिएको हुनुहुन्छ, परिपक्क र अनुभवी पनि हुनुहुन्छ । दुई–दुई पटक प्रधानमन्त्री भएका व्यक्तिहरु हुनुहुन्छ । यसमा कुनै दुईमत छैन । यो आ–आफ्नो पुरानै गुट अनुसार एकीकरण भयो र तत्कालीन नेकपा एमालेमा रहेका जुन अवस्थामा थियो र नेकपा माओवादी पनि पटक–पटक विभाजन भयो । यो सबैले गर्दा उहाँहरुले एकीकरण गर्नुभयो र निष्कर्षमा पु¥याउनु भएको पनि छ । जस्तो निर्वाचनमा पु¥याउनु भएको ,सरकार बनाउन पु¥याउनु भएको र अन्य अवस्थामा पु¥याउनु नै भएको छ ।

त्यसो भए उहाँहरुले पार्टीभित्रको विवाद मिलाउन सक्नुहुन्छ ?
एकदमै सक्नुहुन्छ । त्यसमा मलाई कुनै शंका छैन ।

स्कुल विभागको प्रमुख चाहिँ को बन्दा राम्रो हुन्छ ?
यस्मा मलाई केही थाहा छैन । स्कुल विभागको प्रमुख को बन्दा राम्रो भनेर मैले प्रवेश गर्नेे स्थिती छैन उहाँहरुले जसलाई बनाउनु हुन्छ ,उहाँले काम गर्नुहुन्छ । अब संसदीय प्रतिस्पर्धा कसरी अगाडी बढाउने भन्ने कुरामा केन्द्रित हुनुपर्छ ।

केपी शर्मा नेतृत्वको सरकारले आर्थिक क्रान्ति,विकास र भ्रस्टचारीलाई कारबाही गर्न सक्छ ?
यो सबै तुलनात्मक हो । आर्थिक क्रान्ति, आर्थिक बृद्धि कतितलाई सम्बृद्धि मान्ने । हाम्रो राजयको क्षमता कमजोर छ । जस्तै ः विकास खर्च गर्ने अवस्था छैन । निरङकुश सरकार,अल्पमतको सरकार,बहुमतको सरकार, दुई तिहाईको सरकारले क्षमता र सामथ्र्यको कारण गर्न सकेको छैन । विकास खर्चहरु सही ढंगले खर्च गर्न सक्दैन अनि सम्बृद्धि र आर्थिक विकासको कुरा कहाँबाट हुन्छ ? साधारण खर्च आवश्यकता भन्दा बढी भइराखेको नै छ । त्यसकारण राज्यको क्षमता र सामथ्र्य बढेको छैन ।

त्यो भए विकासको चुनौतीपूर्ण अवस्थामा छौ हामी ?
विकास खर्च नै चुनौतीपूर्ण देखिएको छ । यसमा कुनै निराशा हुनुपर्ने छैन । सोच्नुपर्ने कुरा राज्यका अंग र अवयवहरुलाई हामीले कसरी बलियो बनाउने,खर्च गर्ने क्षमता त्यसमा कानुनी समस्याहरु छन् भने कसरी हटाउने,क्षमता र यन्त्रहरुलाई कसरी परिमार्जित गर्ने विकसित गर्ने तिर सोच्ने हो । सोचाई नै उल्टो भईराखेको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि १३ अर्ब ऋण लिदै छ त्यो कति सम्भव छ ?
सबैभन्दा पहिले भएका पैसा कत्तिको सदुपयोग भएको छ त्यो हेर्ने हो । पछिल्ला कार्यक्रममा बाँदर धपाउनेदेखि लिएर सरसफाई कार्यक्रम जुन क्षणिक हुन् । एक दिन दिवसको रुपमा मनाउने अरु दिन फोहोर थुपार्ने न हो । अनि हामीले रोजगारलाई कसरी उत्पादनमुखी र परिणाममुखी बनाई राखेका छन् त्यो पनि हेर्ने स्थिती छ । यसका लागि प्रभावकारी ढंगले कार्यविधि र उद्धेश्यहरु अझै प्रस्ट भएका छैनन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ऋण लिनु हुन्न भन्ने धेरैको धारणा आयो नि फेरी ?
ऋणलाई सही सदुपयोग गर्ने, उत्पादनमुखी, परिणाममुखी बनाउने हो भने ऋण लिन हुन्न भन्न मिल्दैन । विकासका काम गर्नका लागि ऋण लिनु नै पर्छ । आन्तरिक काम त हाम्रो साधारण खर्चवाट चल्छ । ऋण लिएर सदुपयोग गर्न सकिएन भने त्यो अपराध हुन्छ ।

सत्य निरुपण आयोग र मेलमिलाप आयोग पनि असफल भयो भनेर अन्तर्राष्ट्रिय क्षेत्रले भनिरहँदा हेग लगे म हिरो हुन्छु भन्ने प्रचण्डको भनाई किन आयो ?
माओवादी जनयुद्धले पक्कै केही प्रतिफल दिएको छ । त्यो भन्दा अगाडी गणतन्त्रको कल्पना गर्न सक्ने स्थिती थिएन । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता परिवर्तनहरु हुदाँ जो–जो आहात भएका छन् तिनीहरुले तत्कालीन माओवादीहरु रिसाएका छन् । हिंसामा राज्य र माओवादी दुवै दोषी थिए । अब प्रचण्डले म हेगको हिरो बन्छु भन्नु हुन्छ भने फेरी जनआन्दोलनको सुरुवात हुनु हो । हामीले शान्ति प्रक्रियालाई यहाँसम्म ल्याइसकेपछि फेरि त्यो कुरालाई अगाडी बढाउनु भनेको द्धन्द्धमा होमिनु हो । यसले नेपाली जनतालाई कुनै लाभ हुदैन ।

द्धन्द्धकालीन घटनाका पिडितलाई न्याय दिनुपर्छ भन्ने पक्षमा हो तपाई ?
यो कुरामा कुनै पक्षले इन्कार गरेको छैन । यसलाई कसरी अगाडी बढाउने भन्ने विषय पनि बनायौ तर त्यो प्रभावकारी ढंगले अगाडी बढ्न सकेन अरु विषयले प्राथमिकता पाए तर त्यसले पाएन । अहिलेको अवस्थामा यो मौसमी ढंगले मात्र कुरा भएको छ ।

मधेश र तराईमा के कारणले डुबान भइरहन्छ ?
चुरेको अवस्था दोहन भएपछि बाढी र पहिरो जाने हो । पहाडमा जथाभावी सडक विस्तारको कामले पानीको मुहान सुक्ने र पहिरो जाने हो । चुरेको जसरी क्षय भएको छ त्यसरी नै केही बर्षपछि हामी तराईलाई मरुभूमीको रुपमा देख्छौ । तराई क्षेत्रमा जमिन मुनिको पानीको सतह घट्दै गईरहेको छ । चुरेले नेपाल मात्र नभएर दक्षिण एसियामा पर्ने देशहरुलाई समेत नियन्त्रण गर्दछ । चुरेलाई हामीले समाप्त गदै गयौ, जंगलहरु समाप्त भइसक्यो । चुरेमा लाखौले बसोबास गरिसके चुरेमा दिनका दिन हानी पुगिरहेको छ । यसको परिणम सिङ्गो देशले भोग्नुपर्छ । राष्ट्रपती चुरे संरक्षण जस्ता कार्यक्रम ल्याइयो तर त्यो अनुसारको काम हुन सकेन ।



प्रतिक्रिया दिनुहोस्