Logo

समाजवादीसँग एकताका लागि महतो सक्रिय



काठमाडौं । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीचको एकताको प्रयासले गति लिएको छ । राजपा अध्यक्षमण्डलका एक नेता राजेन्द्र महतो एकताका लागि सक्रिय भएका छन् ।

सिमान्तकृत र पिछडिएको समुदायको मुद्दा उठान गरी स्थापित भएका दुवै पार्टी एक भएर बलियो शक्ति बनाउने योजना बन्दै आएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल मिलेर समाजवादी पार्टी बनेपछि राजपा समेत मिलाएर अर्को चुनावसम्ममा बलियो शक्ति बनाउने योजनामा केही नेताहरु सक्रिय छन् ।

राजेन्द्र महतो समाजवादी पार्टी र राजपा मिलेर जानुपर्ने पक्षमा दरिलोसँग उभिएका छन् । आगामी चुनावमा सरकारको नेतृत्व लिने गरी बलियो शक्ति बनाउन महतो सक्रिय भएका हुन् । कुनै हालतमा एकता गर्नुपर्ने पक्षमा समाजवादी पार्टी नेपालका नेताहरु उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पनि उभिएका छन् । यादवलाई सरकारबाट हटेर प्रतिपक्षमा आउन दबाब परिरहेको छ ।

पार्टी एक बनाउनुअघि यादव सरकारबाट फिर्ता हुने र एकतालाई अन्तिम रुप दिने अभ्यास भइरहेको छ । एकताविना मधेशी र जनजातिको मुद्दा बलियो हुननसक्ने भन्दै केही नेताहरु तत्काल एकतामा जोड दिइरहेका छन् । तर, दुवै पार्टीभित्र एकता हुँदा पद र शक्ति गुम्नसक्ने डर भएकाहरु हतार गर्न नहुने पक्षमा छन् ।

समाजवादी पार्टी र राजपाबीच एकता गराएर बाबुराम भट्टराईलाई नेता बनाउने र भविष्यमा प्रधानमन्त्री बनाउने गरी योजना भइरहेको विश्लेषण हुँदै आएको छ । समाजवादी पार्टी र राजपाबीच एकता भएमा देशमा पार्टीहरुबीच त्रिपक्षीय प्रतिष्पर्धा हुनसक्छ । एक भएका कम्युनिष्टहरु अहिले पहिलो शक्तिका रुपमा छन् । नेपाली काँग्रेस दोस्रो शक्ति छ । तेस्रो शक्ति बनिसकेको समाजवादी पार्टी नेपाल राजपासँग मिलेमा त्रिपक्षीय प्रतिष्पर्धा हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्