Logo

‘हिराचन नै जापान प्रतिनिधि’



काठमाडौं । नेपाल वायु सेवा निगमको जापान प्रतिनिधिमा देवमान हिराचन नै रहने भएका छन् । जापान उडान पुनः सुरु गर्ने तयारीमा रहेको नेपाल वायु सेवा निगमले हिराचन नै प्रतिनिधि रहेको स्पष्ट पारेको छ ।

रिपोर्टर्स नेपाल डट कमसँग १७ साउनमा कुरा गर्दै निगमका प्रवक्ता गणेशकुमार चन्दले देवमान हिराचन नै जापान प्रतिनिधि रहेको बताए । उनले भने,‘जापान प्रतिनिधिमा देवमान हिराचन नै हुनुहुन्छ ।’ अन्य व्यक्तिलाई जापान प्रतिनिधि बनाउन पत्र नपठाइएको उनको भनाई थियो । हिराचन प्रतिनिधि रहेको निश्चित भएपछि जापान उडान ढिलो नहुने सुनिश्चित भएको छ । यसअघि उनको नाम हटाउने र राख्ने चलखेलले जापान उडानमा अन्यौल भएको थियो । निगमका कार्यकारी अध्यक्ष मदन खरेललगायत केही वरिष्ठ अधिकारीहरु विवादमा तानिएका थिए ।

निगमले हिराचनलाई जापान प्रतिनिधिबाट हटाउने निर्णय गरेपछि सर्वोच्च अदालतले उक्त निर्णय तत्काल कार्यानवयन नगर्न र नगराउन अन्तिरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको ८ साउनको एकल इजलासले हिराचनलाई हटाउनु पर्ने कारण सहित उनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । हिराचनलाई हटाउँदै निगमले सन्तोष पौडेललाई नियुक्त गरेको थियो । यसले निगमको जापान उडान समेत अनिश्चित भएको थियो ।


निगमका प्रवक्ता चन्दले अदालतको आदेश उल्लंघन नहुने बताए । सर्वोच्चको आदेशपछि निगम व्यवस्थापन हिराचनको विषयमा लचिलो भएको थियो । हिराचनलाई जापान प्रतिनिधि कायमै राख्न चौतर्फी दबाब आएको थियो ।

जापान एभियशनले हिराचनलाई प्रतिनिधि तोकिइसकेको अवस्थामा उनलाई हटाउँदा उत्पन्न हुनसक्ने समस्यासहितको पत्र पठाएको थियो । उसले सुरक्षासम्बन्धी प्रक्रिया पूरा गर्न कठिन हुने आशयसहितको पत्र निगममा पठाएपछि व्यवस्थापन समस्यामा परेको थियो । इन्टर एभिएसन जापानका कनाको तमुराले नेपाल एयरलाइन्सका टी.एन.दाहाललाई लेखेको पत्र रिपोर्टर्स नेपाल डट कमले सार्वजनिक गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्