Logo

१ नम्बर प्रदेशको नाम कोशी, सगरमाथालगायतका मध्ये हुन्छ-हिक्मत कार्की, प्रदेश नम्बर १ का आन्तरिक मामलामन्त्री



हिक्मत कार्की, प्रदेश नम्बर एकका आन्तरिक मामलामन्त्री हुन् । विद्यार्थी राजनीतिबाट उदाएका कार्कीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

प्रदेश नं १ को नाम के हुन्छ ?
हामीसँग भएका थुप्रै नामका बारे छलफल गरिरहेका छौँ ।

यो पनि सर्वसहमतीमा टुङ्गिन्छ विवाद हुन्छ ?
पहिला हामी हाम्रो राजनीतिक दल भित्र यो कुरालाई टुङ्गाउछौँ । त्यसपछि अरू राजनीतिक दलसँग आवश्यक छलफल र परामर्श गछौँ र यसलाई पनि सर्वसम्मत ढङ्गले अघि बढाउछौँ ।

जनजाति, आदिवासी आदिले भनेको कुरा सम्बोधन गर्न सक्नुहुन्छ ?
यो प्रदेश धेरै भाषा, जाति, क्षेत्र र सम्प्रदायको बसोबास भएकाले उनीहरूको आ–आफ्नो मूल्यमान्यता छ र प्रारम्भमा सबैले आफ्ना कुरालाई उठाउँछन् । बहुजाति, बहुभाषा, बहुसंस्कृति भएरपनि नेपालीहरू शताब्दीदेखि मिलेर बसेकाले हामी यस कुरालाई पनि सबैको साझा नाम दिएर टुङ्ग्याउछौँ ।

त्यसो भए एक दुई महिनामा प्रदेशको नाम टुङ्गिन्छ ?
एक दुर्ई महिना हैन यो आर्थिक वर्ष भित्र टुङ्गिन्छ ।

प्रदेशको नाम तपाईहरू किरात राख्नुहुन्छ कि विराट ?
हामीले राजधानी टुंग्यायौं । हामीसँग कोशी, सगरमाथा, किराँत, लिम्बुवान, विजयपुर, विराट, कोशी मेची कञ्चनजङ्गालगायत धेरै नाम आएका छन् । ती नाम मध्ये कुनै एक साझा नाममा टुङ्गिन्छ ।

प्रदेश नं १ मा जातिय नाम राखिँदैन् ?
सबैको स्वीकार्य हुने कुनै एक साझा नाम हुन्छ । नेपालको जाति, भाषा, संस्कृति अवलम्बन गर्ने सबै नेपाली जनतालाई स्वीकार्य हुने खालको नाममा विवाद रहित ढङ्गले सर्वसहमतिले टुङ्गाउछौँ ।

प्रदेश नं १ मा शान्ति सुरक्षाको अवस्था के छ ?
नेपालको औसत शान्ति सुरक्षाको स्थिति भन्दा यहाँ उत्कृष्ट छ । केही दुर्घटना अपराधिक घटना र केही असामाजिक गतिविधिहरू नेपालभरि छन् र त्यसको मात्रा प्रदेश नं १ मा पनि छ । नेपाल सरकार र प्रदेश सरकारको नियन्त्रणमा यहाँको शान्ति सुरक्षा छ अद्यापि केही अपराधिक घटनाहरू, असामाजिक क्रियाकलापहरू छिटफुट रूपमा हुन्छन् र ती घटना घटिसकेपछि यहाँ प्रदेश सरकारको नेतृत्वमा नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरूले ती कुराहरूलाई कानुनी दायरामा ल्याउने काममा सम्भव भएको छ । खुल्ला सिमाका कारणले हुने तस्करी, अपराधिक गतिविधिहरू र अरू खालका असामाजिक कामहरू जति छन् । ती कुराहरूलाई हामीले एक वर्षमा धेरै हदसम्म नियन्त्रण गरेका छौँ । खुल्ला सिमानाका कारण हुने क्रियाकलापलाई हिजोको तुलनामा धेरै हद सम्म नियन्त्रण गरेर राजस्व सङ्कलनमा बृद्धि गरेका छौँ र सुरक्षा स्थितिलाई मजबुत बनाएका छौँ । यहाँका जनताले सरकार छ र सुरक्षाको स्थिति सुदृढ बन्दै छ र हामी सुरक्षित छौँ भन्ने कुराको अनुभुती बढ्दै गइरहेको छ ।

१ नं प्रदेशको सरकार जनताको मनमा बस्न सफल कि असफल ? तपाईहरूलाई जनताले वाह वाह गरेका छन् कि छैनन् ?
हामीलाई जनताले वाह वाह गरेका छैनन् । जनताले जे अपेक्षा र आशा गरेका छन् लामो समयदेखि नेपालमा विकासका गति, समृद्धि भएन, सुरक्षाको स्थितिमा कयौँ पटक धम्कीहरू आए । यी कारणले नेपाली जनताहरू आक्रान्त भएका थिए र उनीहरूका धेरै खालका चाहना र आवश्यकताहरू रातरात पुरा हुन भन्ने चाहन्छन् । जुन कुरा त सम्भव छैन । त्यसो भएको हुनाले हामी क्रमश हाम्रा प्राथमिकता तय गरेर काम गर्ने प्रक्रियामा छौँ । कतिपय कुरामा जनतामात्र हैन म स्वयंम पनि सन्तुष्ट छैन । तर क्रमश हामी यो स्थितिलाई अगाडि बढाउदै बढाउदै जनताले पनि आशा र वावा गर्ने र हामी आफु पनि सन्तुष्ट हुने गरी गत साल भन्दा आगामी वर्षहरूमा बढि र राम्रा काम गछौँ र ३ देखि ४ वर्ष भित्रमा नेपाली जनताले १ २ ३ ४…….गरेर क्रमश उल्लेख गर्ने कामको सुरक्षा स्थिति र विकासका कुराहरूलाई जनताले देख्न पाउने गरी नेपाली जनताको चाहनाको रूपमा रहेको ‘समृद्ध नेपाल र सुखी नेपालीको’ चाहनालाई तीन वर्ष भित्र पुरा गरेर जनताले उल्लेख गर्न सक्ने गरी कामहरू गछौँ ।

प्रदेश नं १ को सिमा भारत र चीन दुवै देशसँग जोडिएको छ, सिमामा अपराधिक गतिविधि भएको छ कि छैन् ?
हाम्रो सिमा झापा, मोरङ, सुनसरी, इलाम र पाँचथरका केही भागसम्म मित्र राष्ट्र भारतको सिमा जोडिएको छ र ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु र पाँचथरका केही भाग मित्र राष्ट चीनसँग जोडिएको छ । हिमाली श्रृङ्खला भएकाले उत्तर तिरको सिमा अप्रत्यासित अपराधिक गतिविधिहरू तस्करीहरू अलि कम हुन्छ । खुल्ला सिमा र समथल भुभाग भएकाले दक्षिणका क्षेत्रहरूमा पूर्व भागमा बढि हुन्छ । ती कुरालाई नियन्त्रण गर्न हामीले संघिय सरकारसँग आवश्यक समन्वय गरेर सशस्त्र प्रहरी बललाई बोडर आउटपोष्ट निर्माण गर्ने कुरामा उल्लेख्खीय सहयोग गरेका छौँ । प्रदेश सरकारको नेतृत्वमा गत आर्थिक वर्षमा जे जति बीओपी स्थापना गर्दै अपराधी घटना क्रम र तस्करीलाई नियन्त्रण गर्ने काममा नेपाली जनता, सुरक्षा निकायले र हामी आफैँले पनि अहिले सम्म नभएको उल्लेख्खिय काम भयो भन्ने खालको हामीले काम गरेका छौँ । सिमा सुरक्षाको कुरामा दश वर्षको अवधिमा हुन नसकेको काम उल्लेखनिय ढङ्गले भयो भनेर मिडिया र यहाँका जनताले प्रसंशा गरेका छन् । तर, यो प्रसंशाले हामी फुर्किएका छैनौँ । हामीलाई अझ प्रोत्साहन मिलेको छ । अबको समयमा अझ बढी सुरक्षा निकायलाई चुस्त र दुरुस्त बनाएर हामी सुरक्षा र सिमामा हुने खतराहरूलाई नियन्त्रण गरेर १. नंम्बर प्रदेशलाई पूर्ण सुरक्षित बनाउने र जनतालाई सुरक्षाको अनुभुती हुने गरी र मित्र राष्ट्रहरूले समेत प्रसंशा गर्ने हामीले कामहरू अघि बढाएका छौँ । यस प्रदेशको सिमाना अनुगमन, त्यहाँका जनतासँग अन्तरक्रिया सुरक्षा निकायमा सोधपुछ गर्नु भयो भने पनि यस कुरालाई प्रत्यक्ष रूपमा पाउन सक्नु हुन्छ ।

प्रदेश नं १ मा भ्रष्टचारको स्थिति कस्तो छ ? साच्चै पछिल्लो समयमा आएर नेताहरू सुविधामुखि र विलासी भएका हुन् ? जनताले चाहेको सुशासन पाएका छन् त ?
भ्रष्टचार नियन्त्रणको सन्दर्भमा नेपाल सरकारले, सम्बन्धित निकायहरूले जुन किसिमको कामहरू पछिल्ला दिनमा गरेका छन् । नेपाली जनताले देखिने गरी त्यस्ता गतिविधिहरू आउन थालेका छन् । हाम्रो प्रदेशमा पनि छिटफुट भ्रष्टचारका घटना माथि जनताले आशंका गरेका र कतिपय अख्तियारले गिरफ्तार गरेका घटनाहरू आइरहेका छन् । यो कुरा सरकारको पूर्ण सहयोग र प्रतिबद्धताका कारणले सम्भव भएको हो । त्यसैले गर्दा यसलाई अझ अघि बढाउन निजामति कर्मचारीहरू प्राविधिक कर्मचारीहरू सबै जनशक्तिलाई राज्यका तर्फबाट पर्याप्त सेवासुविधा क्रमशः दिदै जाने उनीहरूको मनोबल उच्च गरेर काममा भइरहेको भ्रष्टचार, ढिलासुस्ती र कमिसन जस्ता कुराहरू हामी क्रमश नियन्त्रण गर्दै जाने पक्षमा छौँ । यो कुरा हामी शून्य छ भनेर भन्न सक्दैनौँ । तर हामी क्रमश यी कुराहरूलाई अघि बढाउदै जनताले अनुभूती गर्ने गरी विकास निर्माणका कामसँगै भ्रष्टचार नियन्त्रण भएको कुरा पनि हामी जनतालाई बताउन सक्छौँ ।



प्रतिक्रिया दिनुहोस्