Logo

परिवारका सातै जनालाई डेङ्गु



काठमाडौं । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ ।

केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ ।

वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ ।

योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ ।

नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए ।

ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।

नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ ।

संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो ।

जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थाल्ने उनको भनाई रहेकोे छ ।

इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्