Logo

नेपालबाट विदेशीले किन्न थाले नक्कली प्रमाणपत्र



रिपोर्टर्स नेपाल खोज । नेपालीहरुले भारतलगायत विदेशका विभिन्न विश्वविद्यालयबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर जागिर खाएको घटना भइरहेकै हो । तर, विदेशीले नेपालबाट नक्कली प्रमाणपत्र लगेर जागिर खान थालेको तथ्य खुलेपछि नक्कली शैक्षिक प्रमाणपत्रको धन्दाको नयाँ शैली देखापरेको छ ।

विदेशी नागरिकहरुले जागिरका लागि नेपालबाट नक्कली शैक्षिक प्रमाणपत्र किनेर लाने गरेको पाइएको छ । एक दक्षिण अफ्रिकी नागरिकले नेपालको विश्वविद्यालयबाट उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेर जागिरका लागि आवेदन दिएपछि सो तथ्य खुल्न आएको हो । दक्षिण अफ्रिकी नागरिक तिलहुन अगुने मुलुसेवाले त्यहाँको एउटा कम्पनीमा नोकरीका लागि आवेदन दिँदा पेश गरेको प्रमाणपत्रको आधिकारिकता जाँच गर्ने क्रममा नेपालमा नक्कली सर्टिफिकेटको धन्दा चलिरहेको तथ्य खुलेको हो । रिपोर्टस नेपाल डटकमलाई प्राप्त कागजात अनुसार मुलुसेवाले पूर्वाञ्चाल विश्वविद्यालले जारी गरेको इन्जिनियरिङको नक्कली प्रमाणपत्र पेश गरेको देखिन्छ ।

मुलुसेवाले पेश गरेको ट्रान्सक्रिप्टमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त एक्मी इन्जिनियरिङ कलेज, काठमाडौंबाट इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक तह पूरा गरेको उल्लेख छ । रजिस्ट्रेसन नम्बर ०१८–३–२–०११०१–२००४ भएको उनको ट्रान्सक्रिप्टमा उल्लेखित विवरण अनुसार उनी सन् २००४ मा भर्ना भएर सन् २००८ मा पास आउट भएको देखिन्छ । तर पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले भने सो रजिस्ट्रेसन नम्बर र नाम भएको विद्यार्थी विश्वविद्यालयको कुनै पनि रेकर्डमा नरहेको स्पष्ट पारेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार सन् २००८ मा एक्मी इन्जिनियरिङ कलेजबाट तिलहुन अगुने मुलुसेवा नाम गरेको विद्यार्थी विश्वविद्यालयले सञ्चालन गरेकोे कुनैपनि परीक्षामा सहभागी नै नभएको तथ्य विश्वविद्यालयको रेकर्डबाट देखिन आएको छ ।

एक्मी इन्जिजियरिङ कलेज, काठमाडौंबाट इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेको प्रमाणपत्रको आधिकारिता प्रमाणित गर्न आधिकारिता जाँच्ने निकाय एएमएस इन्फर्मबाट पूर्वाञ्चल विश्वविद्यालयलाई इ–मेल पठाइएको उनले जनाए ।

प्रा. डा. संग्रौलाले भेरिफिकेसनका लागि आएको सर्टिफिेकेटमा उल्लेखित रजिस्ट्रेसन नम्बर ०१८–३–२–०११०१–२००४ रहेको तिलहुन अगुने मुलुसेवा नाम गरेका विद्यार्थी विश्वविद्यालयको कुनै पनि रेकर्डमा नरेहको हुनाले त्यो सर्टिफिेकेट फेक भएको प्रस्ट पारे । विश्वविद्यालयले जारी गर्दै आएको ट्रान्सक्रिप्टलगायतका प्रमाणपत्रसँग दुरुस्त मेल खानेगरी नक्कली प्रमाणपत्र बनाएको पाइएको बताउँदै नेपालको विश्वविद्यालयका नक्कली प्रमाणपत्र बनाएर विभिन्न प्रयोजनका लागि विदेशीलाई बेच्ने गिरोह सक्रिय रहेको हुनसक्ने आशंका उनले व्यक्त गरे । मुलुकको शैक्षिक गुणस्तर र विश्वविद्यालयको प्रतिष्ठा दुबैमा आँच आउने काम भएकाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहबारे अनुसन्धान गरेर कानुनको दायरामा ल्याउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने संग्रौलाको तर्क छ ।

एक्मी इन्जिनियरिङ कलेजका प्रमुख प्रदीप पौड्यालले कलेज र विश्वविद्यालयबाट जारी भएको ट्रान्सक्रिप्टको भेरिफिकेसनका लागि एएमएस इन्फर्मबाट कलेजलाई इमेल आएकोे बताए । प्रमाणपत्रमा उल्लेख गरिएको तिलहुन अगुने मुलुसेवा नाम गरेको कुनैपनि विद्यार्थी सन् २००४ देखि २००८ सम्मको कलेजको रेकर्डमा नरहेको स्पष्ट पार्दै एएमएस इन्फर्मलाई पनि सोही व्यहोराको जवाफ पठाएको पौड्यालको भनाइ छ । पौड्यालले एक्मी इन्जिनियरिङ कलेजबाट उक्त विद्यार्थीको नाममा क्यारेक्टर सर्टिफिकेट समेत जारी नगरिएको स्पष्ट पारे ।

भारतको उत्तर प्रदेशस्थित गाजियावादमा रहेको प्रमाणपत्र भेरिफिकेसन गर्ने कम्पनी एएमएस इन्फर्म प्राइभेट लिमिटेडले तिलहुन अगुने मुलुसेवाको प्रमाणपत्र सक्कली हो कि होइन भेरिफिकेसन गरि पाउँ भनेर पूर्वाञ्चल विश्वविद्यालय र एक्मी इन्जिनियरिङ कलेजलाई उक्त विद्यार्थीको प्रमाणपत्र समेत संलग्न गरी इ–मेल गरेको थियो। नागरिकलाई प्राप्त उक्त कागजातहरुको विवरणबाट कम्पनीको सिनियर एनालिष्ट संगिता राउतको इमेल आइडीबाट भेरिफिकेसनका लागि इमेल आएको देखिन्छ । भेरिफिकेसन गर्ने उक्त कम्पनीको आइएसओ २७००१ः२००५ आइएसएमएस सर्टिफाइड भएको उक्त कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

रजिस्ट्रार विवादमा
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय र एक्मी इन्जिनियरिङ कलेज प्रशासन दुवैले एएमएस इन्फर्मलाई सो रजिस्ट्रेसन नम्बर र नाम भएको विद्यार्थी विश्वविद्यालयको रेकर्डमा नरहेको र प्रमाणपत्र फेक रहेको स्पष्ट व्यहोरासहितको मेल पठाएको भएपनि पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रमिला थापाको इ–मेल आइडीबाट त्यस लगत्तै एएमएस इन्फर्मलाई पठाइएको अर्को इ–मेलमा भने तिलहुन अगुने मुलुसेवाले सफलतापूर्वक इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेको र उनले पेश गरेको प्रमाणपत्र आधिकारिक रहेको व्यहोरा उल्लेख छ ।

उक्त इ–मेलको व्यहोरा अनुसार सन् २००८ मा एक्मी इन्जिनियरिङ कलेजमा तत्कालीन माओवादी बिद्रोहीले आगजनी गरेका कारण केही रेकर्डहरु जलेर नष्ट भएकाले केही विद्यार्थीको रेकर्ड नष्ट भएको कुरा उल्लेख गरिएको छ । तर उक्त कलेजका प्रमुख पौड्यालका अनुसार कलेजमा कुनैपनि समूहले अहिलेसम्म आगजनी गरेका छैन । साथै एक्मी इन्जिनियरिङ कलेजमा मुलुसेवाकोे कुनै रेकर्ड नरहेको भनेर जवाफ पठाउने सहायक प्राध्यापक सरद पौडेलको गैर जिम्मेवार चरित्र विरुद्ध अनुशासनको कारबाही गर्ने प्रक्रिया अघि बढाइएको हुनाले आफूले दिएको विवरणलाई नै आधिकारिक र अन्तिम मान्न एएमएस इन्फर्मलाइ उक्त इमेलमा आग्रह गरिएको छ । सहायक प्राध्यापक पौडेल सन् २०११ अक्टोबरबाट मात्र एक्मी इन्जिनियरिङ कलेजमा आवद्ध रहेको र प्रमाणपत्रको आधिकारिकताको प्रमाणिकरण उनको क्षेत्राधिकारभित्र नरहेको कुरा उक्त इमेलमा उल्लेख छ ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय र एक्मी इन्जिनियरिङ कलेजले आधिकारिक रुपमै नक्कली भनेर पुष्टि गरिसकेको प्रमाणपत्रलाई प्रमिला थापाको इ–मेल आइडीबाट पठाइएको इमेलले सक्कली भनेर दाबी गर्ने प्रयास गरिएपछि रजिस्ट्रार थापा विवादमा तानिएकी छिन् । सो इ–मेल आइडी रजिस्ट्रार थापाकै भए नभएको र उनले नै इमेल पठाएको हो या होइन भनेर स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।
विश्वविद्यालय स्रोतको भनाइ अनुसार उक्त इ–मेल आइडी रजिस्ट्रार थापा कै हो वा नक्कली प्रमाणपत्र बनाउने अरु कुनै गिरोहले नै उनको नाममा नक्कली इमेल आइडी खोलेर मेल पठाएको हो भन्ने विषय अनुसन्धानपछि मात्र यकिन गर्न सकिन्छ । उक्त इ–मेलको विषयमा विवाद भएपछि विश्वविद्यालयले आइटीका सह–प्राध्यापक तीर्थराज सापकोटाको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो । सापकोटा नेतृत्वको छानबिन समितिले प्रमिला थापाको नाममा रहेको त्यो इ–मेल आइडी र त्यसबाट पठाइएको इ–मेलको विषयमा सत्य तथ्य पत्ता लगाउन नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखा अन्तर्गतको साइबर क्राइम सेललाई अनुसन्धान गर्न जिम्मा दिनुपर्ने सिफारिससहितको प्रतिवेदन बुझाएको छ ।

यो बदमासी जसले गरेको भएपनि यसले कलेज, विश्वविद्यालय र नेपालको सम्पूर्ण शिक्षा क्षेत्रको गुणस्तर र विश्वसनियतामा भने ठूलो प्रश्न चिन्ह खडा भएको विश्वविद्यालयका पदाधिकारीहरु बताउँछन्् ।



प्रतिक्रिया दिनुहोस्