Logo

हामी छलफलमा छौं, भोलि सदन सुचारु हुन्छ भन्ने विश्वास लिएका छौं : प्रमुख सचेतक गुरुङ



काठमाडौं, १९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले ठंडा दिमागले सोच्ने र वार्ता तथा सहमतिको माध्यमबाट समाधान खोज्ने हो भने भोलि बस्ने सदन सुचारु हुने उनको विश्वास छ । उनले भने,‘हामी अहिलेपनि अन्तरकुन्तरमा छलफल तथा वार्ता गरिरहेका छौं । भोलि सदन सुचारु हुन्छ भन्ने कुरामा हामी आशावादी छौं ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले सदन खोल्नको लागि वार्ता गर्नुपर्ने धारणा राखे । उनले भने,‘संसद अवरुद्ध गर्दा कांग्रेसलाई पनि घाटा छ । आफ्ना कुरा सदनमा राख्ने हो ।’ उनले सर्लाहीका तीन वटा घट्नालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु नै गलत भएको बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘असार ५ गते घट्नाको सवालमा भोलिपल्ट असार ६ गते राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ । अहिलेसम्म उक्त घट्नामा संलग्न ११ जना प्रहरीमध्ये दश जनाको बयान लिने काम भैसकेको छ । अब केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छ ।’

मानवअधिकार आयोगले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्न लागेको अवस्थामा फेरि अर्को छानबिन समिति बनाउन माग गर्नु गलत भएको पनि गुरुङको भनाई छ । उनले भने,‘त्यस्तो अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्छ भनेर माग गर्नु कत्तिको उपर्युक्त हुन्छ ? लोकतान्त्रिक मूल्य र मान्यताबाट हेर्दा र विधिको शासनको लेन्सबाट हेर्दा यो गलत छ ।’

संसदीय छानबिन समिति बनाउने नीतिगत कुरा भएको र मानवअधिकार आयोगले गर्ने छानबिन न्यायिक हुने पनि उनले तर्क गरे । उनले भने,‘न्यायिक छानबिन भनेको कार्यान्वयनको सवालमा पनि बाध्यकारी हुन्छ । कानूनी र न्यायिक रुपमा छानबिन चलिरहेको अवस्थामा फेरि संसदीय छानबिनको माग गर्नु भनेको त नीतिगत छानबिनको माग गर्नु हो । हो, यदि मानवअधिकार आयोगको प्रतिवेदन चित्त बुझेन भने त्यो अवस्थामा सोच्न सकिन्छ । संसद सञ्चालन नियामावलीले प्रष्ट रुपमा क्षेत्राधिकार तोकिदिएको छ ।’

त्यस्तै, उनले असार १४ र १५ गतेको घट्नाको सवालमा कांग्रेसले उठाएका माग तर्कसंगत नभएको पनि जिकिर गरे । उनले भने,‘उहाँहरुले जुन कुरा उठाउनुभएको छ, त्यो प्रक्रियागत पनि गलत छ । तर, छानबिन समिति गठन गर्ने माग सिद्धान्तः हुनसक्छ ।’ कांग्रेसले छानबिन समिति गठन गर्न माग गर्नु नै गलत भएको उनको दाबी छ । उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस गैरजिम्मेवार रुपमा प्रस्तुत भएको जिकिर गरे । उनले भने,‘जुन किसिमले कांग्रेसले संसद अवरुद्ध गरेको छ, त्यो गतल छ । आज २५, २६ दिनसम्म संसद अवरुद्ध भएको छ । चार, पाँच वटा बैठक अवरुद्ध भैसक्यो ।’

असार १४ र १५ गते सर्लाहीमै घटेका घट्नाको बारेमा पनि असार १८ गते सर्वदलीय बैठक बसि सहमति भैसकेको उनले सुनाए । उनले भने,‘चार वटै पार्टीको नेताहरु बसेर १४ बुँदे सर्वपक्षीय सहमति भैसकेको छ ।’ उनकाअनुसार उक्त १४ बुँदे सहमतिमा सरोजनारायण सिंहलाई सहिद घोषणा गर्ने, उनको श्रीमतीलाई कार्यालय सहयोगीको रुपमा जागिर दिने, छोरालाई निःशुल्क शिक्षा प्रदान गर्ने र शालिक बनाउने रहेका छन् । त्यस्तै, अमित राय यादवको सवालमा पनि ५ लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप दिने, दुवैको परिवारलाई काजकिरिया खर्च जनही २५ हजार दिने, घाईतेहरुको निःशुल्क उपचार गरिदिने, राजकुमार महरालाई ५० हजार दिने सहमति भैसकेको पनि उनले सुनाए । उक्त सहमतिमा आफूहरुको पूर्ण सहमति र समर्थन रहेको पनि गुरुङको भनाई छ ।

सहमति र पहिल्यै नै सल्टिसकेको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि किन उल्टाउन कोशिश गरिरहेको छ ? त्यो कुरा आफूहरुले नबुझेको उनको टिप्पणी छ । उनले भने,‘सहमति भैसकेको विषयमा फेरि विषय उल्टाएर के गर्न खोजेको हो ?’

संसद यति लामो समयसम्म अवरुद्ध गर्दा कतै कांग्रेसले अहिलेको व्यवस्थालाई नै समाप्त पार्न खोजेको त होईन ? भनेर पनि प्रश्नचिन्ह उब्जिएको गुरुङको भनाई छ । उनले भने,‘सभामुखज्यूले पनि संसदको क्षेत्राधिकारको कुरा गर्नुभएको छ।’ उनले बरु, ती घट्नाको सवालमा ४ दलबीच वार्ता टोली बनाएर छलफल तथा वार्ता गर्नुपर्नेपनि सुझाए । उनले भने,‘तर, सदन सुचारु राख्नुपर्छ । सदनलाई डेडलक राख्दा हामीलाई दुःख लागेको छ । अहिलेपनि संसदमा छलफल गर्नुपर्ने १२, १५ वटा एजेण्डाहरु छन् ।’

त्यस्तै, उनले राजपा नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गर्नुपनि गलत भएको टिप्पणी गरे । उनले भने,‘हामी पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर भनिरहेका छौं । सरकारले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनिरहेको छ । अब फर्मल्ली प्रतिवेदन सार्वजनिक गर्ने कुरा हो । सरकारले ढिलो, चाँडो प्रतिवेदन सार्वजनिक गर्छ । समयक्रममा प्रतिवेदन सार्वजनिक हुन्छ ।’

कांग्रेस र राजपाले ढंडा दिमागले सोच्ने हो भने र सम्वादमाफर्त समस्याको हल खोज्ने हो भने भोलि संसद सुचारु हुने उनको विश्वास छ । उनले भने,‘उहाँहरुले उठाएका माग पूरा गर्ने सवालमा राज्य, सरकार र हामी सत्तापक्ष गम्भिर छौं । अहिलेका सबै समस्याहरु हामीले सम्वाद, वार्ता तथा सहमतिको माध्यमबाट हल गर्नुपर्छ । त्यही अनुसार समाधान खोजिनुपर्छ भन्ने हाम्रो भनाई हो ।’



प्रतिक्रिया दिनुहोस्