Logo

विप्लवलाई वार्ताको ढोका खुला, वाइडबडी प्रकरण अख्तियारको जिम्मा (निर्णयसहित)



साउन १९, काठमाण्डौ । पछिल्लो मन्त्रीपरिषद बैठकले गरेका डेढ दर्जन निर्णय आज सार्वजनिक भएको छ । सरकारका निर्णय सार्वजनिक गर्ने क्रममा अन्य विविध विषयमा पनि जानकारी गराइएको छ । प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमण, वाइडबडी प्रकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रतिबन्धित नेकपालगायतका विषयमा पनि सरकारको धारणा सार्वजनिक भएको छ ।

सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च आफैले बेहोर्ने पनि प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । प्रधानमन्त्री सहितको परिवारका सदस्यका लागि आउने जाने प्लेन टिकेट मात्र सरकारी खर्चमा हुने बास्कोटाले जानकारी दिए ।

प्रवक्ता बास्कोटाले प्रतिबन्धित नेकपा आफैं संकटमा पर्न थालेको पनि दावी गरेका छन् । सरकारले भने वार्ताको ढोका सँधै खुला राखेको उनको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगारलाई कम्तीमा १०० दिनको लागि रोजगारी दिने गरी कार्यान्वयन भएको पनि बास्कोटाले दावी गरे ।

 बास्कोटाले वाइडबडी खरिद् प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनि गरिरहेकाले सरकारले बेवास्ता गरेको पनि बताए ।  प्रवक्ता बास्कोटाले सरकारले गरेको १९ वटा निर्णय सार्वजनिक गरेका थिए ।

साउन १६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय यसप्रकार छन् : 

१. सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

२. निवृत्तभरण कोष स्थापना नभएसम्मका लागि निवृत्तभरण कोष सञ्चालन गर्न कर्मचारी सञ्चयकोषलाई तोक्ने निर्णय गरिएको छ ।

३. एशियाली विकास बैंकबाट नेपालको सडक राजमार्ग सुधारका लागि करिब रु. २१ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने सम्बन्धमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरिएको छ ।

४. प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५–७६ को तलबमान निर्धारण गर्ने निर्णय गरिएको छ ।

५. आर्थिक वर्ष २०७६–७७ का लागि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान तोक्ने निर्णय गरिएको छ ।

६. नेपाल नोटरी पब्लिक परिषद्लाई रु. १० लाख अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ ।

७. खोरेत तथा रेबिज रोगलाई पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को सूचित गर्नुपर्ने रोगको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ ।

८. खुला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरिएको छ ।

९. कम्पनीमा रूपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

१०. कञ्चनपुर घटनामा घाइते अर्जुन भण्डारीलाई राहत रकम मासिक रु. २५,००० उपलब्ध गराउने निर्णय गरिएको छ ।

११. झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका निम्न आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ ।

अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो ।

१२. सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षकहरूको सरुवा गर्ने निर्णय गरिएको छ ।

१३. स्थानीय तहको उपनिर्वाचनको मिति २०७६ साल मंसिर १४ गते तोक्ने निर्णय गरिएको छ ।

१४. सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको लागि सिंगापुर भ्रमण स्वीकृत गरिएको छ ।

१५. काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिकाभित्रका स्ववासी घरजग्गा दर्तासम्बन्धी समिति गठन आदेश, २०७६ स्वीकृत गरिएको छ ।

१६. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १६ ख. बमोजिम मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी २०७५ पुस १३ देखि लागू हुने गरी एक वर्ष ६ महिना अवधिको लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरिएको छ । निर्णय भएको मितिबाट ६ महिनाभित्र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापन कार्ययोजना तयार गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

१७. मातातिर्थ–नौविसे ३३ के.भी. प्रसारणलाईन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

१८. भीमसेन थापा गाउँपालिका, गोरखाको केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको छ ।

१९. संयुक्त राष्ट्रसंघको महासभामा अल्पविकसित राष्ट्रहरूमा स्वास्थ्यको सर्वव्यापी पहुँचसम्बन्धी अतिरिक्त कार्यक्रमको नेपालले नेतृत्व गर्ने निर्णय गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्