Logo

यसरी स्थापना भयो स्वर्गद्धारी आश्रम



स्वर्गद्धारी आश्रम नेपालका संन्यास आश्रमहरुमध्ये लामो परम्परा बोकेको सिद्ध तपस्वी आश्रम हो । यसको इतिहास एक सय वर्षभन्दा बढी भइसकेको छ । आश्रमले आध्यात्मिक, धार्मिक र शैक्षिक क्षेत्रबाट योगदान पुर्याउँदै आएको छ ।

दशनामी संन्यासीहरुमा गिरिनामा सन्यासीहरुको परम्परामा संरक्षित एवं सञ्चालन गर्दछ । स्वर्गद्धारी पौराणिक कालमापनि यज्ञभूमि नै रहेको विश्वास छ । महर्षी वेदव्यासले स्वर्गद्वारीमा यज्ञ गरेको थिए । महाभारतका प्रसिद्ध पाँच पाण्डवले यही ठाउँमा तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति प्राचिनकाल देखि नै चल्दै आएको छ ।

लोपोन्मुख पौरस्त्य यज्ञीय परम्परालाई पुन ः स्थापना एवं वैदिक सनातन धर्मको मर्यादालाई कायम राख्दै यस यज्ञभूमिमा गुरुकुल प्रणलीमा आधारीत वैदिक पाठशाला, गाईहरुको संरक्षणका लागि गौशाला, यात्रुहरुका लागि धर्मशाला, साधु सन्त र तपस्वीहरुका लागि सन्तनिवास, पूजा एवं आरधनाका लागि शिवालयतथा यज्ञ सञ्चालनका लागि यज्ञशाला संस्थापित एवं सञ्चालित छन् । अखण्ड महायज्ञ तथा यस वैदिक सनातनधर्म सस्कृतिको उन्नय र वैदिकशिक्षाको प्रचारका लागि तत्कालिन अवस्थादेखि आजसम्म स्वर्गद्धारी आश्रम निरन्तर रुपमा लागिरहेको छ ।

संस्थापक महाप्रभु
स्वर्गद्धारी आश्रमका संस्थापक श्रीमहाप्रभु हालको रोल्पाको रुम्टी गाउँमा वि.सं. १९१६ श्रावण शुक्ल एकादशीका दिन जन्मिएका हुन् । ४ बर्षको उमेरदेखि नै एकान्त ठाउँमा बसी उहाँ एक्लै माटाढुंगाका देवप्रतिमा बनाएर तिनैको पूजामा घण्टौ व्यस्त गर्थे । महाप्रभु आफ्ना ५ बर्षको उमेरदेखि नै तपस्वी भएकाले वालतपस्वी पनि भनिन्छ ।

१३ देखि २५ बर्षको उमरसम्म जनसम्पर्कबाट अलग भई पूरा १२ बर्ष तपस्या गरे । सन्यास लिने इच्छा भयो र सखीको लेकमा योग साधना गरी बस्ने स्वामी सच्चिदानन्द गिरिबाट संन्यास शिक्षा लिए । गुरुबाट हंसानन्दगिरि नाम राखियो । ज्ञानयोग, कर्मयोग र अष्टाङ्ग योगको समेत ज्ञान बढाए । जन्म स्थानमा विभिन्न ज्ञान यज्ञहरु गर्दै विश्वकल्याणार्थ अखण्ड महायज्ञ गर्ने पावन उद्धेश्यले वि.सं. १९५१ मा स्वर्गद्धारीको शैलशिखरमा पुगे । यज्ञभूमिको रुपमा परिणत गरे । वि. सं. १९९७ को मार्ग शुब्लपक्षको चौथी तिथिमा देह त्यागे ।

स्थापनाको उद्धेश्य
बालतपस्वी महाप्रभुबाट वि.सं. १९५१ सालमा स्वर्गद्धारीको शैलशिखरमा प्रवेश गरी वि.सं. १९५२ साल वैशाख पूर्णिमाको दिन अखण्ड हवनद्धारा विश्वकल्याणको उद्देश्यलाई मूलमार्ग मान्दै वैदिक सनातन धर्म संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्य राखी वैदिकमन्त्र उच्चारणद्धारा अग्निप्रज्ववलन गरी अखण्ड यज्ञ प्रारम्भ गरिएको हो । सनातन सभ्यता र नेपाली मौलिक सस्कृतिको संरक्षण गर्दै यज्ञीय संस्कृतिको पुनजागरण गराउने पवित्र भावनाले स्वर्गद्धारी आश्रमको विभिन्न कार्यहरु प्रारम्भ भएका छन् ।

स्थापनाकालदेखिको काम
वि.सं.१९५२ वैशाख पूर्णिमाबाट सञ्चालन भएको अखण्ड महायज्ञमा २४ जना विप्रवटुहरुले नित्यपूजा, अभिषेक, हवनादि कार्य गर्दछन् । सो क्रम स्थापनाकालदेखि आजसम्म निरन्तर रुपमा चलिआएको छ ।

आश्रमको बर्तमान अवस्थामा ५०० भन्दा बढी स्थानीय गाईहरुको निरन्तर सेवातथा संरक्षण गर्दै आईरहेको छ । आश्रमको दाङ् तथा देउखुरीमा रहेका अन्य शाखाहरुमा पनि करिब ३०० भन्दा बढी स्थानीय गाईहरुको निरन्तर सेवा भईरहेको छ । सो गाईहरुबाट उत्पादित गव्यपर्दाथहरु अखण्ड महायज्ञमा उपयोग गरिन्छ ।

स्वर्गद्धारी आश्रमको स्थापनासँगै वि.सं.१९५२ सालमा नै वैदिकवाङमयको अध्ययन अध्यापन र सनातन सस्कृतिको संरक्षण संवर्धन तथा प्रचार प्रसार गर्ने उद्धेश्यले महाप्रभुले गुरुकुलको स्थापना गरेका थिए । गरेका थिए । यस गुरुकुलमा विद्यार्थीहरुले संस्कृतिवाङमयका साथै आधुनिक विषयको पनि अध्ययन गरिरहेको हुन्छन् । अहिले आएर गुरुकुलीय परीक्षा प्रणलीमा आधारीत प्रवेशिका (कक्षा १०) सम्म अध्ययन हुने गुरुकुलमा १३५ जनाविद्यार्थीहरुले वेद, वेदाङ्गसहित आधुनिकशिक्षा नि ःशुल्क रुपमा हासिल गरिरहेका छन् । गुरुकुलको सम्पूर्ण भार स्वर्गद्धारी आश्रमले व्यहोर्छ ।

आश्रममा सेवा गर्ने सेवकहरुको बालबालिकाहरु शिक्षकबाट टाढा रहननपरोस् भनेर बालकक्षा सञ्चालित छ । सो बालकक्षामा करिब १०० जना बालबालिकाहरु लाभान्वित हुँदै आएका छन् ।

सञ्चालित प्रक्रिया
स्वर्गद्धारी आश्रम संन्यासी महात्माहरुको परम्परा रहेको मठ(निजी गुठी) भएको र महाप्रभुले वि.सं. १९९६ सालको ताम्रपत्रमा उल्लेख गरेको निर्देशनअनुसार गिरिनामा संन्यासी शिष्य परम्परामा चलेको छ । आन्तरीक व्यवस्था शिष्य प्रशिष्य परम्परामा दीक्षित सन्यासी व्यक्ति आश्रम प्रमुख हुने र आश्र प्रमुखको अध्यक्षतामा दाङ,प्युठान र रोल्पाका प्र.जि.अ. हरु सहित गठित आश्रम व्यवस्थापन समितिद्धारा सञ्चालित छ ।


वर्तमान अवस्था
स्वर्गद्धारी पूर्व मेचीदेखि पश्चिममहाकाली सम्मका आध्यात्मिक जिज्ञासुहरुको मात्र जमघट होइन । भारतका सिक्किम, आसाम, मणिपुर सम्मका जिज्ञासुहरु शिक्षादीक्षा र तपस्वीहरु जमघट हुने गर्दछन् । धार्मिक क्रियाकलाप र साधनाको प्रशिक्षणले तत्तत् क्षेत्रका आध्यात्मिक जिज्ञासुहरुमा ठूलो प्रभाव गरेको छ । धार्मिक आकर्षणले गर्दा यो विकटता पनि तीर्थयात्रीहरुका लागि सहज बन्दै आएको छ । नेपालका विभिन्न ठाउँका साथै विशेषतः भारतको उत्तर प्रदेशका सीमावर्ती क्षेत्रबाट तीर्थयात्रीहरुको ठूलो संख्या आश्रममा आउँछन् । स्वर्गद्धारी आश्रमले आफ्ना विविध प्राकृतिक तथा धार्मिक क्रियाकलापहरुद्धारा यस शैलशिखरमा पुग्ने जो कोहीलाई पनि प्रभावित बनाएर फर्काउन सफल भएको छ ।

श्री स्वर्गद्धारी आश्रम परिसरमा यज्ञशाला, शिवालय, मन्दिरहरु, पाठशाला, गौशााला पाकशाला, अतिथिशाला, सन्तनिवास, धर्मशालालगायतका विभिन्न भवनहरु रहेका छन् । भौतिक संरचनाहरुको पुननिर्माण, जीर्णेद्धार, खानेपानीको व्यवस्था, बाटो निर्माण जस्ता कार्यमा आश्रम स्वयं उदार दाताहरु र नेपाल सरकारले पनि सहयोग गर्दै आएको छ ।

महाप्रभुले आफूले स्थापना गरेको अखण्ड यज्ञ, गौशाला र पाठशाला कालान्तरसम्म निरन्तर सञ्चालन भई रहोस् भन्ने उद्धेश्यले दाङ जिल्लाका विभिन्न स्थानमा करिब ११ सय विगाहा खेतीयोग्य जमिन आफनो झोलीको पैसाबाट खरिद गरेका थिए । आश्रमको नाममा रहेको सो जग्गाको आम्दानीबाट स्वर्गद्धारीका विभिन्न गतिविधिहरु सञ्चालित छन् । वि.सं. २०४८ पछि देशको बदलिदो परिस्थिति अनुसार जग्गाहरु विभिन्न व्यक्तिले विभिन्न वाहानामा ओगट्ने र आश्रमलाई तिर्नुपर्ने कुतबाली नदिने क्रम बढ्यो । द्धन्द्धकालमा जग्गाबाट आउने कुनै पनि आयस्ता नआएपछि आश्रम सञ्चालनमा कठिन पर्दै गयो र हालसम्म पनि सो अवस्था कायमै छ । श्रीस्वर्गद्धारी आश्रममा दर्शनार्थ आएका भक्तजनहरुबाट चढाइएका दानदातव्यबाट स्वर्गद्धारीका गतिविधि सञ्चालन भईरहेका छन् । आश्रमा हाल वैतनिक रुपमा ३०० भन्दा बढी सेवकहरु सेवारत छन् ।

दर्शनार्थीहरुको अवस्था
स्वर्गद्धारी आश्रमको वर्तमान सञ्चालन कार्य आश्रमको दर्शनार्थ आएका भक्तहरुले चढाएको दान, दातव्य, भेटीबाट भईरहेको छ । स्वर्गद्धारीको भौगोलिक अवस्था अलि विकट भएकोले कतिपय व्यक्तिहरु चाहेर पनि आउन सकेका छैनन् । विशेष गरी भारतीय तीर्थयात्रीहरुको आस्था र श्रद्धा बढी भएकोले नेपाली यात्रीहरुको तुलनामा भारतीय यात्रीहरु धेरै आउने गर्दछन् । बोडर र त्यहाँबाट नजिकका गाउँःबस्तीका सर्वसाधारण किसान–मजदुर र सानोतिनो व्यवसाय गर्ने वर्ग नै अधिक रुपमा आउने गर्दछन् । गोरखपुर, सिद्धार्थनगर, बस्ती, गोण्डा, बलरामपुर लगायतका स्थानबाट बैशाख, भाद्र र पुषमा यात्रीहरुको भीड रहन्छ । संख्याको हिसाबले एक वर्षमा २ लाखभन्दा बढी नै यिनीहरु आउँछन् भने बार्षिक रुपमा नेपाली दर्शनार्थीहरु करीब ५० देखि ८० हजारको बिचमा आउँदछन् । यसरी वर्तमान अवस्थामा स्वर्गद्धारीमा भक्तजनहरुबाट प्राप्त मानो मुठी नै स्वर्गद्धारी आश्रमको मुख्य आयश्रोत रहेको छ । यस बाहेक आश्रमले कतिपय आफ्नो नियन्त्रणमा रहेको जमिन व्यवसायिक प्रयोजनको लागि लिजमा दिएको छ र त्यसबाट पनि केही आयआश्रमलाई भएको छ ।

खर्च गर्ने प्रक्रिया
यसरी भक्तजनहरुबाट दिइन् दान, भेटी दाताको इच्छा अनुसार रसिदबाट वादाता स्वयबाट दानपत्रमा राख्न लगाइन्छ । दानपत्रमा तीन प्रकारका तालाचाबी हुन्छन् । एउटा आश्रमसँग, अर्को पुलिस प्रशासनसँग र तेस्रो स्थानीय गाउँप्रतिनिधिसँग हुन्छ । दानपत्र भरिएपछि उक्त तीनै व्यक्तिको उपस्थितिमा गन्ती गरी मुचुल्का बनाई चौबीस घण्टाभित्र बैक दाखिला गर्नुपर्ने नियम छ । प्रत्येक बर्ष आश्रम सञ्चालक समितिले आश्रमको वार्षिक कार्यक्रम र बजेट प्रचलित आर्थिक कानुनअनुसार आश्रमको नियमित कार्यमा खर्च गर्ने व्यवस्था गर्दछ । अधिकार प्राप्त लेखापरीक्षकबाट प्रत्येक बर्ष लेखापरीक्षण पनि गराउँदछ । प्रत्येक बर्ष आयव्ययको विवरण सहित यर्थाथ जानकारी सम्बन्धित प्रशासन कार्यालय, कर कार्यालय, स्थानीय निकायमा बुझाउनु पर्ने हुन्छ । यसरी संस्थागत रुपमा पारदर्शी ढंगले यी कार्यहरु हुँदै आएको छ ।


दाङ देउखुरीकाजग्गाप्राप्तिको स्रोत
स्थापनाकालदेखि हालसम्म स्वगैद्धारी आश्रमका स्वामित्वमा रहेका जग्गाजमिनको श्रोत भनेको बालातपस्वीका झोलीको पैसा खर्च गरी खरिद भएका मौजा जिमिदारी जग्गाकै निरन्तरता हो । यसमा कोही कसैले कुनै प्रकारबाट दानदातव्यवा बकस नदिएको र अभिलेख पनि देखिएको छैन ।

वि. सं. १९८३ सालमा देउखुरीका ४ मौजा खरिद भएर चेलाका नाममा िजमिदारी बहाली भएपछि १९९३ सम्ममा दाङ, झिँगौरा, रामपर, साहिपुर, नैनवार, पडं्डाहा समेतका जग्गा जिमिदारी खरिद भएर शिष्य प्रशिष्यका नाममा नामसारी बहाली हुँदै आएको हो । भूमि सुधार लागु भएपछि वि.सं. २०३० सालमा भूमिप्रशासनको निर्णय अनुसार स्वर्गद्धारी आश्रम जग्गाधनी कायम भएको हो । सो भन्दा अगाडीसम्म शिष्य प्रशिष्यका नाममा जिमिदारी पटवारी श्रेस्तामादर्ता दा.खा. हुदै आएपनि भोगचलन आश्रमको रहेको थियो ।

तिरो भारोको अवस्था
आश्रमको जग्गाजमिन तीन प्रकारको छ । पहिलो मोहीकिसानले जोत भोग गदै आएको जमिन । दास्रो आश्रमले आफ्नै नियन्त्रणमा आफैले खेतीपातीगर्दै आएको जमिन र तस्रो अनधिकृत व्यक्तिहरुले अतिक्रमण गरी बसोबास गरेको जमिन । कतिपय मोहीकिसानले पनि आश्रमलाई कुनै पनि जानकारी नै नदिई घरायसी कागजमा जग्गा वेचविखन गरी विचौलियाको हातमापुग्ने क्रम बढ्दै गएको छ भने कारोबार व्यवसाय गरेर बस्ने व्यक्ति पनि आश्रमको जग्गाकब्जा गरी घरबास बनाउने व्यवसाय गर्न ठूला ठूला संलग्न छन् र अझ त्यस्ता व्यक्ति नै आश्रमलाई बदनाम बनाउन नेताहरुको दैलोमा पुग्ने गरेका छन् । स्वर्गद्धारी आश्रमलाई मोहीले कुत तिर्ने चलनको सुरुवात २०४५ सालदेखि सुरु भएको हो । सो भन्दा पहिले पोतायत, त्रिकुर, चौकुर, पचकुर आदि इत्यादि प्रचलनमा उब्जाबाली असुल हुने गर्दथ्यो ।

तत्कालीन समयमा नेपाल सरकार भूमिसुधार कार्यालयले आश्रम र किसानको सहमतिमा जग्गामा हुने उब्जनीलाई आधार मानी कुतको व्यवस्था गरेको थियो । सो व्यवस्था अहिलेसम्म यथावत् छ । किसानले आाश्रमलाई खेतको हकमा बर्षमा केवल धानखेतीबाट मात्र तोकिएको धानकुतको रुपमा तिर्ने हो भने बारीबाट तोकिएको तोरी मात्र तिर्ने हो । गहुँ, मुसुरो, रहर लगायत वाली पनि किसानले लगाउँछन् तर ती उब्जनी केही दिनु नपर्ने उल्लेख छ । तोकिएको कुत बुझाउँदा पनि नियमानुसारको रसिद अनिवार्य दिइन्छ । आश्रमले भनेको छ, ‘तर केही व्यक्ति आश्रमको स्वीकृति विना जग्गा हडपेर बसेका छन् र असम्बन्धितव् यक्तिसँग घरायसी कागज गरी किनेर बसेका छन् भने त्यस्ता व्यक्तिसँग कुनै प्रकारको लेनदेन गरेको छैन र गदैन पनि ।’

सम्पूर्ण मौजामा जम्मा माही संख्या २८९ जना ।
आश्रममा प्रात्त हुनुपर्ने धान प्रतिवर्ष १८१५ क्विन्टल ।
अमाश्रममा प्राप्त तोरी प्रतिवर्ष ४१८ क्विन्टल ।
सबै मौजाको आश्रमले पाउनु पर्ने धानको बक्यौता १६३३५ क्विन्टल । २०६५ सालदेखि हालसम्म ।
सबै मौजामा आश्रमले पाउनु पर्ने तोरीको बक्यौता ३७६२ क्विन्टल । २०६५ सालदेखि हालसम्म ।

२०६४ सालमा १२५५१।८६।६०४ धान र ५१५६।४० तोरी द्धन्द्धको अवस्थाले गर्दा तिर्न नसक्ने भन्ने व्यापक गुनासाहरु किसानबाट आएकोले आश्रम वयवस्थापन समितिको सुझावमा आश्रम प्रमुखले २०६४ सालसम्मको बाँकी बक्यौता मिनाह गरी २०६५ सालबाट निरन्तर बुझाउने सहमति भयो । त्यसपछि कतिपयले बुझाउदै आएका छन् भने कतिपयले बुझाएका छैनन् । कतिपय मोहीहरुले आफूले तिर्न पर्ने कुत सधै तिरी रहेको अवस्था पनि छ । स्वर्गद्धारी आश्रमले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी

प्रतिक्रिया दिनुहोस्