Logo

सर्वदलीय बैठकको टुंगो लागेन



काठमाडौं २० साउन । प्रतिपक्षीले उठाएका मुद्दामा सर्वदलीय छलफल गर्न प्रतिनिधिसभाको बैठक स्थगित गरेको तीन दिन बित्यो । संसद् बैठक सोमबार सञ्चालन गर्ने सूचना टाँस गरे पनि सर्वदलीय बैठक कहिले बस्ने भन्ने टुंगो लगाएका छैनन् । सभामुख कृष्णबहादुर महराले सत्ता र प्रतिपक्षी दलबीच पनि अनौपचारिक छलफल गरेर बैठकमा बस्दा निकास निस्कने भन्दै बिहीबार बैठक स्थगित गरेका थिए ।

आजको बैठक चल्ने सम्भावना पनि कमजोर देखिन्छ । स्रोतका अनुसार सभामुख महराले टेलिफोन गरेर आन्तरिक तयारी गर्न सुझाए पनि दलका नेताले बैठक बस्ने तयारी गरेका छैनन् । बैठकका लागि सभामुख र सत्तापक्षबाट जानकारी नआएको प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आन्तरिक छलफल भइरहेको प्रतिक्रिया दिए । ‘अनौपचारिक छलफल भइरहेको छ,’ उनले भने ।

प्रतिपक्षी सांसदले सर्लाही घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्नेलगायत मुद्दा अघि सारेर असार २४ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । पटकपटक संसद् अवरुद्ध भएपछि सभामुख महराको पहलमा बिहीबार संघीय संसद् भवन बानेश्वरमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा दलहरूबीच सहमति हुन नसकेपछि ३ दिनको समय राखेर संसद् स्थगित गरिएको थियो । सभामुखले सर्वदलीय छलफलका लागि समय दिए पनि दलहरूबीच वार्ता सुरु भएको छैन । सत्ता पक्षले बिहीबार दलहरूबीच वार्ता गर्न सर्वदलीय समिति बनाएर संसद् सञ्चालनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव राखेको थियो । उसले सर्लाही घटनालाई राज्यव्यवस्था समितिले हेरेको र स्थानीय तहमा पनि दलहरूबीच एक प्रकारको सहमति भएकाले संसदीय समिति बनाउन आवश्यक नभएको उसको भनाइ छ ।

प्रतिपक्ष कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले भने सरकारले मानवअधिकार हनन गरेको भन्दै संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याउँदै आएका छन् । असार ५ गते प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । प्रतिपक्षीले प्रहरीले पौडेललाई समातेर गोली हानेको भन्दै गैरन्यायिक हत्या भएको दाबी गर्दै आएको छ । त्यसैगरी असार १५ गते अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीको गोली लागेर ईश्वर नगरपालिका १३ का सरोजनारायाण सिंहको मृत्यु भएको थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्