Logo

प्रहरीलाई असफल बनाउने १० हत्याकाण्ड



साउन २०, काठमाण्डौ । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको एक वर्ष बित्दा समेत हत्यारा पत्ता लगाउन नसकेकै कारण प्रहरीको सर्वत्र आलोचना भइराखेको छ । प्रहरीले नै अपराधि जोगाउन खोजेको र प्रमाण नष्ट गरेको भन्दै देशैभर प्रदर्शनसमेत भयो । हत्यारा पत्ता लगाउनका लागि दबाब दिन भन्दै निर्मलाका आमा बाबु आमरण अनसनमा पनि बसे ।

तर, न प्रदर्शन न त अनसनले नै काम गर्यो । अहिलेसम्म प्रहरीले हत्यारा पत्ता लगाउन त परको कुरा हत्या अनुसन्धान नै करिब शून्य अवस्थामा देखिएको छ ।

निर्मलाका हत्यारा मात्रै धेरै हत्याकाण्डका अपराधीलाई कानुनी कठघरामा ल्याइएको छैन ।

अपराधी पत्ता लाग्न नसकेका चर्चित १० हत्याकाण्ड :

१. निर्मला हत्याकाण्ड
गत वर्षको साउन १० मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लागेको छ । यो घटना वर्ष २०७५ मा जति चर्चामा रह्यो सरकारका लागि उति नै टाउको दुखाइको विषय बन्यो । हत्यारा पत्ता लगाउन भन्दै सात अनुसन्धान टोली गठन भयो । ८० जनाको डिएनए परीक्षण भयो । पाँच सयभन्दा बढीलाई सोधपुछ र १० हजारभन्दा बढीको कल डिटेल अध्ययन भए पनि दोषी भने पत्ता लाग्न सकेको छैन । अनुसन्धानमा प्रहरीले नै लापरबाही गरेका कारण हत्यारा पत्ता नलागेको पीडितको आरोप छ ।

२. नमिता–सुनिता हत्याकाण्ड
२०३८ जेठमा पोखरामा तीन युवतीको हत्या घटना अहिलेसम्म रहस्यमय छ । ‘नमिता–सुनिता हत्याकाण्ड’ नामले चर्चित सो घटनामा दिदीबहिनी नमिता भण्डारी र सुनिता भण्डारी तथा उनीहरूकी साथी नीरा पराजुलीको बलात्कारपछि हत्या भएको बताइए पनि अनुसन्धान कुनै निष्कर्षमा पुग्न सकेन ।

१८ जेठमा काठमाडौंबाट पोखरा घुम्न हिँडेका उनीहरू २४ जेठपछि बेपत्ता भएका थिए । त्यसको ५ दिनपछि २९ जेठमा नमिता सेती नदीको खोँचमा मृत भेटिइन् । त्यसको ९ दिनपछि दिदी सुनिताको शव पनि भेटियो । पाँच महिनापछि नजिकै सेती खोँचमै अर्की युवतीको पनि शव भेटियो । तर, त्यतिवेला डिएनए परीक्षण प्रविधि नभएकाले शव निराको हो होइन पुष्टि नै हुन सकेन ।

३. पथरी हत्या काण्ड
गत बैशाख ७ मोरङको पथरी शनिश्चरे नगरपालिकामा २९ बर्षीय रिना बस्नेत आफ्नौ डेरा अगाडी सडकमा नग्न अवस्थामा मृत फेला परेकी थिइन । उनको मृत्यु शकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । स्थानीयले हत्यारा पत्ता लगाउन माग गर्दै केहि दिन पुरै सडक ठप्प पारे । तर, प्रहरीले अझै हत्यारा पत्ता लगाउन सकेको छैन् ।

४. तीन बालबालिकाको हत्या प्रकरण
२०७४ असारमा भोजपुरको अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा र ८ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लागेको छैन ।

५.छोरीमैया महर्जन काण्ड
२०६६ मा हराएकी काठमाडौं जैसीदेवलकी छोरीमैया महर्जनको अवस्था पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । केही शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि तथ्य जुटाउन सकेन, जसकारण छोरीमैयाको घटना रहस्यमै छ ।

६ . पूर्वराजदूत केशवराज झा हत्या काण्ड
गत ४ भदौमा बबरमहलस्थित घरमै हत्या गरिएका पूर्वराजदूत केशवराज झाका हत्यारालाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। प्रहरी अनुसन्धान घटनाको गहिराईमा पुग्नै सकेको छैन। आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले हानेर झाको हत्या भएको थियो । परिस्थितिजन्य अवस्था हेर्दा उनकै घरका पाले कान्छा तामाङको संलग्नता देखिए पनि प्रमाण नभेटिएकाले उनी छुटिसकेका छन् । छोरा–बुहारी विदेश गएको भोलिपल्टै झाको हत्या भएको थियो ।

७. अमर लामाको हत्या
दुर्घटनामा मृत्यु भएका नेता मदन भण्डारीका चालक अमर लामाको १ साउन ०६० मा कीर्तिपुरमा हत्या भएको थियो । लामाका हत्यारा पक्राउ नपर्नुलाई मदन भण्डारीको ज्यान गएको दुर्घटनासँग जोडेरसमेत विश्लेषण हुने गरेको छ ।

८. पूर्वगृहमन्त्रीका पिएसओ हत्या काण्ड
पूर्वगृहमन्त्री खुमबहादुर खड्काका पिएसओ सई कुबेर कार्कीको हत्याका अभियुक्त हालसम्म पत्ता लागेका छैनन् । २० मंसिर ०६३ मा गोठाटारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएर खुकुरी प्रहार गरी उनको हत्या भएको थियो । दबाबकै कारण यो अनुसन्धानले मूर्तरूप पाउन नसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।

९. सञ्चार उद्यमी हेमराज धिताल हत्या
रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष हेमराज धितालको ६ साउन ०६७ मा तुलसीपुर–१२ जसपुरमा गोली हानी हत्या भएको थियो । दाङमा पुग्ने हरेक प्रहरी प्रमुखले सो घटना पत्ता लगाउने घोषणा गरे पनि सफल भएका छैनन् । परिवार अहिले पनि न्याय माग्दै हिडिराखेका छन् ।

१०. व्यवसायी दिवाकरको हत्या
२०६९ असोज १७ मा ललितपुरको धोबीघाटमा घरभित्रै व्यवसायी दिवाकर चन्दको घाँटी थिचेर हत्या भएको थियो । हत्या भएको दिन दिवाकर केही युवतीसहित आफ्नो निवासमा गएका थिए। ती युवतीहरूमाथि विभिन्न कोणबाट प्रहरीले केरकार गरे पनि अनुसन्धानले बाटो समाउन सकेन । जसका कारण अहिलेसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन् ।

यसरी वर्षौ बित्दा पनि प्रहरीले यी १० हत्या काण्डका अभियुक्तलाई पक्राउ गर्न सकेको छैन् । कतिपय घटनाको त गहिरोसँग अनुसन्धान समेत भएको पाइदैन । जसले गर्दा सरकार र प्रहरी प्रशासनको कमजोरी छरपष्ट भइरहेको छ ।

तस्विर : निर्मला पन्त, छोरीमैया महर्जन, अमर लामा, केशवराज झा र हेमराज धिताल



प्रतिक्रिया दिनुहोस्