Logo

“पत्रकारिता हुनेखाने र व्यापारका लागि गर्ने मनोविज्ञानको अन्त्य गर्नुपर्दछ”: मन्त्री बाँस्कोटा



काठमाडौं, २० साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा पत्रकारिता हुनेखानेका लागि र व्यापारका लागि गर्ने मनोविज्ञानको अन्त्य गर्नुपर्ने धारणा राखेका छन् । उनले मिडियाले अग्रगमन, सुशासन र विकासलाई साथ दिनुपर्नेपनि बताए ।

आर.के. मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित कलर्स एफएम १०२।४ मेगाहर्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । उनले मिडियाले सामाजिक उत्थान र परिवर्तनको अभियन्ताको दायित्व निर्वाह गर्नुपर्ने बताए।

गणतन्त्र आए पनि विभेदका कारण आम जनताले गणतन्त्रको अनुभूति गर्न नपाएका कारक विरुद्धको मोर्चाको नेतृत्व गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले पत्रकारितालाई शुद्धीकरण गर्दै देश, समाज, लोकतन्त्र र निमुखा जनताका हितका पक्षमा उभिनु जरुरी भएको धारणा राखे ।

मन्त्री बाँस्कोटाले भने, “पत्रकारिता हुनेखानेका लागि र व्यापारका लागि गर्ने मनोविज्ञानको अन्त्य गर्नुपर्दछ ।” उनले एफएमबाट प्रसारण हुने सामग्री कानमा गुञ्जिने र मनमा छाप पार्ने हुनुपर्नेमा जोड दिँदै मनको ढुकढुकी बन्न जनताको चेतना स्तर वृद्धि, आवश्यकता र जीवनोपयोगी सामग्री उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

सरकारले पत्रपत्रिकाको विकासका लागि लोककल्याणकारी विज्ञापनको प्रतिशतमा वृद्धि र श्रमजीवीका लागि पारिश्रमिकमा वृद्धि गरेको उल्लेख गर्दै उनले यसबाट आगामी दिनमा सकारात्मक परिवर्तनका परिणाम देखिने विश्वास व्यक्त गरे । उनले सरकारले राष्ट्र र जनताका पक्षमा दिनदिनै नयाँ नयाँ काम गरिरहेकाले आउने दिनमा समृद्धिको तीव्रताबाट राष्ट्र र जनताको मुहार हँसिलो देख्न पाइने धारणा राखे । FIle Photo, Mukunda Kalikote-ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्