Logo

हुवाजिन सिमेन्ट उद्योग विवादमा तानियो, लेखा समितिमा भागाभाग



काठमाडौं । धादिङको रोराङ गाउँपालिकामा चिनियाँ लगानीमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योग विवादमा तानिएको छ । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्यहरुले उक्त कम्पनीले नियम, कानुन मिचेर जग्गा कब्जा गर्न खोजेको विषय उठाउँदै आएका छन् ।  सत्तारुढ दल नेकपाका सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा सो उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ ।

त्यस सम्बन्धमा सरोकारवाला निकायसँग विस्तृत छलफल गरेपछि सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी थियो । तर, उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि सिमेन्टबारे छलफल गर्न मंगलबार बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । चिनियाँ लगानीमा निर्माणाधीन सो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी दुवैजना अनुपस्थित भएका कारण स्थगित गरिएको छ ।

नेपालका प्रतिष्ठित व्यापारिक घराना बैद्यज अर्गनाइजेशन पछिल्लो समय सिमेन्ट उद्योगमा प्रवेश गरेको छ । चीनको हुवाजिन कम्पनीसँगको १६ अर्ब रुपैयाँ बराबरको संयुक्त लगानीमा धादिङमा सिमेन्ट उद्योग खोल्न लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका व्यवसायी सुरज बैद्यले चीनको ठूलो कम्पनी हुवाजिनलाई नेपाल भित्र्याएका थिए । लगानी बोर्ड र हुवाजिनबीच दैनिक ३ हजार मेट्रिकटन क्षमताको उद्योग खोल्न लगानी सम्झौता भएको थियो । हुवाजिको नेपाली पार्टनर व्यवसायी सुरज बैद्य हुन् । बैद्यकै कारण सरकारी जग्गा चाहिनेभन्दा बढि लिजमा लिने प्रयास भएको स्थानीयहरुको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्