जडिबुटी बेचिखानेमाथि अख्तियारको मुद्दा


काठमाडौं । जडिबुटीको नक्कली इजाजतपत्र तयारी गरी चोरी निकासी गराउने वनका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । २१ साउनमा जिल्ला वन कार्यालय रुकुमका सहायक वन अधिकृत विनोदप्रसाद कानुमाथि अख्तियारले छ लाखभन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा मुद्दा दायर गरेको हो ।

कानुले नक्कली इजाजतपत्र तयार गरी जिल्ला भित्रका जडिबुटीहरूको चोरी निकासी गराई आफ्नो पदको दुरुपयोग गरेको र ठूलो मात्रमा राज्यलाई प्राप्त हुने राजस्व चुहावट गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ । जिल्ला वन अधिकृत नभएको मौका पारी आवादीको जग्गाबाट जडिबुटी संकलन गरेको भनेता पनि कुनै प्रमाण संलग्न नराखी जडिबुटी संकलन इजाजतलगायत कुनै पनि प्रक्रिया पूरा नभएको अवस्थामा कार्यालयबाट चलानी नभएका नक्कली चलानी नम्बरहरू राखी कुनै राजस्व दस्तुर सरकारी कोषमा दाखिला नगरी गलत ढंगले जडीबुटी निकासी इजाजतपत्र तयार गरी जडिबुटी निकासी गरेका थिए ।

यस घटनामा दुर्गादिप इन्टरप्राइजेज, काठमाडौंका प्रो।दुर्ग बहादुर खड्का, दिपक जडिबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रो। मान बहादुर वली र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट, बाँकेका प्रो।लाल बहादुर वलीले जडिबुटी संकलनको इजाजत नलिइ नक्कली चलानीको आधारमा कानूनबमोजिम राजस्व दस्तुरसमेत नतिरी आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानी पुर्‌याउने बदनियतले काम गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । उनीहरु सबैमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।