Logo

स्वर्गद्वारी पुग्ने दुई लाखभन्दा बढी भारतीयबाट वार्षिक ५० लाख भेटी



काठमाडौं । स्वर्गद्वारी आश्रममा वार्षिक दुई लाखभन्दा बढी भारतीय भक्तजनहरु आउँछन् । उनीहरुबाट वार्षिक ५० लाख नेपाली रुपैयाँसम्म दानवापत्को रकम संकलन हुने गरेको छ । प्रत्येक तीर्थयात्रीले थोरै भेटी चढाउँदा पनि ५० लाख नेपाली रुपैयाँभन्दा बढी संकलन हुने गरेको आश्रमले जनाएको छ ।

स्वर्गद्वारी आश्रमका अनुसार प्रतिवर्ष दुई लाखभन्दा बढी भारतीय भक्तजनहरु आउँछन् । गोरखपुर, सिद्धार्थनगर, बस्ती, गोण्डा, बलरामपुर लगायतका स्थानबाट बैशाख, भाद्र र पुषमा यात्रीहरुको भीड रहने गर्छ । बार्षिक रुपमा नेपाली दर्शनार्थीहरु करीब ५० देखि ८० हजारको बिचमा आउँदछन् । आश्रमका सचिव ध्रवश्रीले भने,‘ स्वर्गद्धारी आश्रमको वर्तमान सञ्चालन कार्य आश्रमको दर्शनार्थ आएका भक्तहरुले चढाएको दान, दातव्य, भेटीबाट भईरहेको छ ।’

स्वर्गद्धारीको भौगोलिक अवस्था अलि विकट भएकोले कतिपय व्यक्तिहरु चाहेर पनि आउन सकेका छैनन् । विशेष गरी भारतीय तीर्थयात्रीहरुको आस्था र श्रद्धा बढी भएकोले नेपाली यात्रीहरुको तुलनामा भारतीय यात्रीहरु धेरै आउने गरेको सचिव ध्रुवश्रीले बताए । उनले भने,‘ सीमा क्षेत्र र त्यहाँबाट नजिकका गाउँःबस्तीका सर्वसाधारण किसान–मजदुर र सानोतिनो व्यवसाय गर्ने वर्ग नै अधिक रुपमा आउने गर्दछन् ।’

स्वर्गद्धारीमा भक्तजनहरुबाट प्राप्त मानो मुठी नै स्वर्गद्धारी आश्रमको मुख्य आयश्रोत रहेको ध्रुवश्रीले जानकारी दिए । उनले भने,‘आश्रमले कतिपय आफ्नो नियन्त्रणमा रहेको जमिन व्यवसायिक प्रयोजनको लागि लिजमा दिएको छ र त्यसबाट पनि केही आय आश्रमलाई भएको छ ।’

खर्च प्रक्रिया
यसरी भक्तजनहरुबाट दिइन् दान, भेटी दाताको इच्छा अनुसार रसिदबाट वादाता स्वयबाट दानपत्रमा राख्न लगाइन्छ । दानपत्रमा तीन प्रकारका तालाचाबी हुन्छन् । एउटा आश्रमसँग, अर्को पुलिस प्रशासनसँग र तेस्रो स्थानीय गाउँप्रतिनिधिसँग हुन्छ ।

दानपत्र भरिएपछि उक्त तीनै व्यक्तिको उपस्थितिमा गन्ती गरी मुचुल्का बनाई चौबीस घण्टाभित्र बैक दाखिला गर्नुपर्ने नियम छ । प्रत्येक बर्ष आश्रम सञ्चालक समितिले आश्रमको वार्षिक कार्यक्रम र बजेट प्रचलित आर्थिक कानुनअनुसार आश्रमको नियमित कार्यमा खर्च गर्ने व्यवस्था गर्दछ । अधिकार प्राप्त लेखापरीक्षकबाट प्रत्येक बर्ष लेखापरीक्षण पनि गराइने सचिव ध्रुवश्रीले बताए । प्रत्येक बर्ष आयव्ययको विवरण सहित यर्थाथ जानकारी सम्बन्धित प्रशासन कार्यालय, कर कार्यालय, स्थानीय निकायमा बुझाउनु पर्ने हुन्छ । यसरी संस्थागत रुपमा पारदर्शी ढंगले यी कार्यहरु हुँदै आएको स्वर्गद्वारी आश्रमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्