Logo

नेकपामा रुचि सोधेर सूची



काठमाडौं २३ साउन । ‘तपाईंलाई के काम दिऊँ ? रुचि केमा छ ? ’ झन्डै १५ महिनादेखि भूमिकाविहीन केन्द्रीय नेतालाई अचेल नेकपा महासचिव विष्णु पौडेलले सोध्ने गरेका प्रश्न हुन् यी। विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि बुझ्ने जिम्मा नेकपा सचिवालयले महासचिव विष्णु पौडेललाई दिएको थियो।

त्यही जिम्मेवारीअनुसार पौडेल नेताहरूको रुचि बुझेर सूची बनाउन व्यस्त छन्। १३ साउनको सचिवालय बैठकले ३२ केन्द्रीय विभाग र एउटा प्रतिष्ठानमा जिम्मेवारी दिएर परिचालन गर्न खोजेका नेताहरूको रुचि बुझ्ने र त्यही आधारमा कार्यविभाजन प्रस्ताव परिमार्जन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय सदस्यलाई पहिलो, दोस्रो र तेस्रो रुचिका आधारमा धारणा बुझ्ने अनि प्रस्ताव परिमार्जन र व्यवस्थित बनाएर आगामी बैठकमा ल्याउन सचिवालय बैठकले निर्देश गरेको थियो।

नेकपा विधानमा केन्द्रीय कमिटीका ६० प्रतिशत नेतालाई भूगोल र ४० प्रतिशत नेतालाई विभागीय जिम्मेवारी दिने व्यवस्था छ। त्यही आधारमा ४४१ सदस्यीय केन्द्रीय समिति सदस्यमध्ये प्रदेश पदाधिकारीमा २८, जिल्ला इन्चार्जमा ८३, जिल्ला सहइन्चार्जमा १५२, जिल्ला अध्यक्षमा ४ (कृष्ण राई– काठमाडौं, रामकुमार यादव–सिरहा, अशोक मण्डल–सप्तरी र राजन दाहाल–सिन्धुली) र जिल्ला सचिवमा २ (हिमाल शर्मा–काठमाडौं, प्रमोदनारायण यादव–सिरहा) गरी २७२ जना नेतालाई भौगोलिक जिम्मेवारी दिइसकेको छ।

नेकपामा दुई अध्यक्ष र महासचिवबाहेक बाँकी १६६ नेताहरूको कार्यविभाजन हुन बाँकी छ। उनीहरूलाई पार्टीले केन्द्रीय विभाग, प्रतिष्ठान, विशेष प्रदेश किमिटी, सम्पर्क विशेष किमिटी, २२ वटा जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज लगायतको जिम्मेवारीमा खटाउन खोजेको छ। ‘करिब–करिब धेरै नेतासँग उहाँहरूको रुचि बुझ्ने काम भइसकेको छ। बाँकी केहीमात्र हुनुहुन्छ होला, उहाँहरूसँग पनि छिट्टै धारणा बुझ्ने काम हुन्छ,’ महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘जिल्ला इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी पाएका कमरेडबाहेकसँग धारणा बुझ्ने, सुझाव लिने काम अब सकिएको छ।’

पौडेलले कार्यविभाजन बाँकी रहेका नेतामध्ये केहीलाई प्रत्यक्ष भेटेरै र केही नेतासँग टेलिफोनमा कुराकानी गरेर रुचि बुझेका थिए। ‘तीन दिनअगाडि महासचिवले फोन गर्नुभएको थियो, तपाईंको रुचि के छ ? पार्टीले के काम देओस् भन्ने चाहनुहुन्छ भनेर सोध्नुभयो,’ तत्कालीन एमाले–माओवादी केन्द्रको एकतापछि कामविहीन बनेका नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले अन्नपूर्णसँग भने, ‘तपार्इंहरूले चिन्नुभएकै छ, मेरो अनुभवका आधारमा जिम्मा दिनुहोस्, पार्टीले दिएको काम गर्छु भनें।’

उनले आफूले विगतमा स्कुलदेखि संगठन विभागसम्मको नेतृत्वमा रहेर काम गरेको अनुभव रहेको र आफ्नो रुचि÷स्वभाव संगठक, परिचालन र प्रशिक्षक बन्न सक्ने खालको भएकाले यसैलाई ध्यानमा राखेर जिम्मेवारी दिन माग गरेको बताए।

उनी मात्रै होइन, अन्य भूमिकाविहीन नेताहरूले पनि सोहीअनुसारको जिम्मेवारी माग गरेको बताए। स्थायी समिति सदस्य गणेश शाहले आफ्नो रुचि र दख्खल पनि विज्ञान÷प्रविधिका क्षेत्रमा भएकाले सोहीअनुसारको जिम्मा दिन नेतृत्वसँग आग्रह गरिएको बताए। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्