Logo

मन्त्री भट्टराई एक्शनमा, गौतमबुद्ध विमानस्थलको निरीक्षण



काठमाडौं, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई एक्शनमा उत्रिएका छन् । मन्त्रालयको पदभार सम्हालेको एक साता नबित्दै भट्टराई द्रुत गतिमा आफ्नो काममा सक्रिय भएका छन् । उनले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे ।

भैरहवामा निर्माण भइरहेको अन्तर्रा्ष्ट्रिय गौतमबुद्ध विमानस्थलको बिहीबार निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकोले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको विश्वास दिलाए । आगामी डिसेम्बर महीनाभित्रै अन्तर्रा्ष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने पनि उनको दाबी छ ।

भट्टराईले भने “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ ।” कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए । उनले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाउने बताए ।



प्रतिक्रिया दिनुहोस्