Logo

सबै दलको संरचना संघीयताविपरित



साउन २४, काठमाण्डौ । मुलुक संघीयताको राजमार्गमा हिडिरहेको छ । संघीयताको तीन वर्षयात्रा लामो नभए पनि संरचनाका हिसावले कम होइन । मुलुकलाई संघीयतामा लाने दलहरु नै अहिले संसदमा हावी छन् ।

तर तीमध्ये अधिकांशले आफ्नै पार्टी संरचनालाई संघीय स्वरुपमा ढाल्न सकेका छैनन् ।

प्रमुख राजनीतिक दलहरु संघीय शासनको अभ्यासबाट चुकिरहेका छन् । प्रमुख पार्टीहरु नै तीन तहको संरचना अनुसार सञ्चालन हुन नसक्दा मुलुकको शासन पद्धति कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ ।

अहिले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा कै कुरा गर्ने हो भने पनि ३ वर्षको लामो कसरतपछि संघीयता अनुसारको पार्टी संरचना निर्माण भएको छ । तर ति संरचना व्यवस्थित भैसकेका छैनन् ।

जसका कारण पार्टीका तल्ला संरचना कसरी परिचालन गर्ने र कुन राजनीतिक कार्यदिशाअनुसार कस्ता कार्यक्रम बोकेर हिँड्ने भन्ने केन्द्रीय निर्देशन अझैसम्म नभएकाले काममा असहज भैरहेको छ ।

यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले त झन् संघीय संरचना अनुसारका संगठन तयार गर्नै सकेको छैन ।

कांग्रेसले प्रदेश संरचना अहिलेसम्म बनाउन सकेको छैन । संस्थापन र संस्थापन इतरपक्षबीच आ–आफ्नो वर्चस्व स्थापित गर्न ठूलै दाउपेच भैरहेको छ । विवादकै कारण कांग्रेसको संघीय संरचना अझै तयार नभएको हो । तर संघीयता अनुसारका संरचना तयारका लागि छलफल जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण भएर बनेको समाजवादी पार्टीको संघीय संरचनाअनुसार तल्ला तहसम्म कमिटी छन् । त्यसलाई समायोजन गर्न व्यस्त छ । राजपा पनि पुरानै संरचनामा चलिरहेको छ ।

राजपाको ४८ जिल्लामा पार्टी संगठन छ । तर नयाँ प्रादेशिक संरचना अनुसारको संगठन छैन । मधेस केन्द्रित दलबीच एकीकरण भएपछि बनेको राजपाले तत्कालीन दलका संरचना समायोजन समेत गरेको छैन ।

प्रदेश कार्यसमिति बनाएकै छैन । यि मात्र होइन अन्य राजनीतिक दल पनि संघीयताको अभ्यासमा कमजोर छन् । प्रमुख राजनीतिक दल नै संघीयताको अभ्यासमा कमजोर हँुदा मुलुकको समग्र शासन नै कमजोर भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको तर्क छ ।

खर्चिलो व्यवस्थाका रुपमा चिनिने संघीय शासन राजनीतिक दलहरुका लागि नै झन्झटिलो बन्दै गएको छ । गुटगत स्वार्थका कारण पार्टीहरु ३ वर्षसम्म पनि संरचनागत झमेलामा फस्दा राष्ट्रिय मुद्धाहरु भने ओझेलमा पर्दै गएका छन् ।



प्रतिक्रिया दिनुहोस्