Logo

जङ्गबहादुरः जस्ले नेपालको नक्शा बदले



दीपेश केसी:
१८ औं शताब्दीको अन्ततिर फ्रान्सेली क्रान्तिपछि औद्योगिकिकरणको सम्हाल्नै कठिन वेगमा बढिरहेको थियो । उद्योगको उत्पादन विक्रीका लागि आवश्यक बजार र वस्तु उत्पादनको आवश्यक कच्चापद्धार्थको आपूर्ती सहज बनाउन साम्राज्यवादी हावी हुँदै थिए । यूरोपका शक्तिशाली देशहरू विश्वभर साम्राज्य विस्तार गरिरहेका थिए । फ्रान्सेली अफ्रिकामा, स्पेनिस दक्षिण अमेरिकामा र बेलायतीहरू एशिया र उत्तर अमेरिकामा कब्जा जमाउँदै थिए । ठिक त्यही समयमा नेपालको शासनसत्तामा जङ्गबहादुर राणाको उदय भयो ।

बेलायतको भारतवर्षमा एकछत्र कब्जा बनिसक्दा उनले कुटनीतिक र रणनीतिक चार्तुयता देखाएर देशको अस्तित्व जोगाए । बेलायतसँग निकट सम्बन्ध बनाएकैले पश्चिमा जगतमा शासकका रूपमा बलियो परिचय स्थापित गर्ने पहिलो नेपाली हुनपुगे । बेलायत सरकारको औपचारिक भ्रमणको निम्तो पाए । दक्षिण एशियाका शासकहरूमध्येबाट बेलायतको औपचारिक भ्रमण गर्ने पहिलो शासक बने । १९ औं शताब्दीका बलियो शासकका रूपमा उनको परिचय स्थापित छ ।

पश्चिमी देशहरूसम्म उनको चर्चा चल्यो । भलै कार्ल माक्र्सले जङ्गबहादुरलाई ‘बेलायतको बफादार कुकुर’ भनेका हुन् । बेलायतकी चर्चित सुन्दरी लौरा वेलसँग पनि जोडिएकाले जङ्गबहादुरको बेलायत यात्राले झनै महत्व पायो । नाम होस् या बदनाम जङ्गबहादुर विगत देखि वर्तमानसम्म गुमनाम छैनन् । एउटा क्रुर र सफल शासकको परिचय स्थापित गरेर गए ।

जङ्गबहादुर नभएको भए पक्कै पनि अर्को बहादुर नेपालको प्रधानमन्त्री बन्थ्यो । तर नेपालको नक्शा बदल्न सक्थ्यो सक्थेन ? राजनीतिक दाउपेच र धूत्र्याइबाट शक्तिमा पुगेका उनले कूटनीतिक चार्तुयद्वारा देशको अस्तित्व जोगाए । एशियाभर बेलायती साम्राज्य फैलिइरहँदा बाह्य विश्वको राजनीतिक परिस्थिति बुझेर उपयुक्त कदम चाल्दै गुमेको भू–भाग फर्काए । नयाँ मुलुकको परिचय पाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अंग्रेजबाट फिर्ता ल्याए । पहाडलाई कुहिनोले ठेलेर हल्लाउन नसकिने यथार्थलाई मनन गरेर बेलायतसँग सुमधुर सम्बन्ध बनाएर सत्तामात्र टिकाएनन् । बाह्य विश्वमा नेपालको परिचय दिलाए ।

वर्तमानको चश्माले हेर्ने हो भने जङ्गबहादुर क्रुर तानाशाही शासक हुन् । उनले सत्तामा पुग्न धेरैको निर्ममतापूर्वक हत्या गरे । सत्या बचाउन विपक्षीहरूको सफायालाई निरन्तरता दिए । विरोधीहरूलाई बाँकी राखेनन् । विगतको चश्माबाट हेर्दा जङ्गबहादुर परिस्थितिले जन्माएको शासक हुन् । देशभित्र बढ्दो अस्थिरता, दरबारभित्रको गुट उपगुटको विवादका अलावा बाह्य हस्तक्षेपको बढ्दो सम्भावनाबीच कठोर शासक बनेर उदाए ।

राष्ट्रिय अखण्डता र सार्वभौमिकता बचाउनुपर्ने चुनौती आइपर्दा उनको उदय भयो र देशको अस्तित्वलाई सफलतापूर्वक बचाए । प्रशासनिक र सामाजिक परिवर्तनमा ध्यान दिएकाले कानुनी प्रणाली बदल्ने शासक मध्येका हुन् । देशमा बेलायतको जस्तो कानुनी शासनको प्रारम्भ गर्न मुलुकी ऐन ल्याए । बाह्य विश्वसँग बलियो गरी सम्बन्ध स्थापित गरे, सामाजिक परिवर्तनमा पहल थाले र बाह्य विश्वले प्रयोग गर्दै आएको प्रविधि देशमा भित्राउनमा योगदान दिए । उनले चालेका कदमहरूलाई केलाउँदा रणनीतिक कौशल मात्र नभई दुरदृष्टि समेत भेटिन्छ । परिवर्तनका लागि काम गरेर देखाए ।

नेपालको इतिहासका अविस्मरणीय पात्र जङ्गबहादुरको जन्म १८ जून सन् १८१६ मा काठमाडौंमा भएको थियो । वास्तविक नाम वीरनरसिंह कुँवर भएपनि मामा माथवरसिंह थापाले जङ्गबहादुर नाम राखिदिएका थिए । भाञ्जा बहादुर योद्धा बनुन् भनेर नाम जुराएका थिए । मामाले जस्तो नाम राखिदिएको त्यस्तै भए । जङ्गबहादुर राजनीतिका चतुर खेलाडी बनेर निस्किए । मामाबाट राजनीतिक चार्तुयता सिके । राजनीतिक सफलताका लागि आफ्नो र अर्काको समेत नभनी काम गर्नुपर्ने अवस्था आउनसक्ने मामाले भाञ्जालाई सम्झाएका थिए । माथवरसिंह प्रधानमन्त्री बनेपछि राजनीतिक प्रतिष्पर्धी पाँडेहरूको सफायामा सक्रिय भए । त्यस क्रममा आफन्त थापाहरू समेत कारबाहीमा परे । जङ्गबहादुरले सोधे– मामा आफन्तलाई किन कारबाही गरेको ? मामा माथवरले गम्भीर उत्तर दिएका थिए– भाञ्जा राजनीतिमा आफ्नो र अर्काको नभन्ने अवस्था पनि आउँछ । भोलि गएर तिमीलाई मैंले र मैंले तिमीलाई मार्ने अवस्था आउनसक्छ । मामाको यही राजनीतिक सूत्रलाई दिमागमा घुसाएर सत्ताको सिंढी चढे । राजनीतिक षड्यन्त्रमा प्रत्यक्ष संलग्न भएर मामाको समेत हत्या गरेको दाबी एकाथरी इतिहासकारहरूको छ । राजनीतिक खिचातानीको भरपूर फाइदा उठाए ।

जङ्गबहादुरका बाबु बालनरसिंह कुँवर दरबारमा कार्यरत थिए । रणबहादुर शाहलाई उनका सौतेनी भाई शेरबहादुर शाहले हत्या गर्दा बालनरसिंह प्रत्यक्षदर्शी थिए । राजाको हत्यालगत्तै उनले शेरबहादुरलाई त्यहीं मारिदिए । कदरस्वरूप बालनरसिंहले काजीको उपाधी पाए । बाबु काजी हुनु र मामा शक्तिशाली पदमा हुनुले जङ्गबहादुरले नजिकबाट राजनीतिलाई बुझ्न र सिक्न पाए । थापा खलकसँग सम्बन्ध हुनुको फाइदा मात्र भएन बेफाइदा पनि भयो । भीमसेन थापाको पतनका कारण जागिरबाट हात धुनुप¥यो ।

पाँडेहरूले थापा पक्षलाई छानी छानी ठेगान लगाउँदा कलिलो उमेरका जङ्गबहादुरको जागिर खोसियो ै सम्पत्ति हडपियो । महत्वाकांक्षा बोकेर १६ वर्षको उमेरमै सेनामा भर्ती भएका थिए । जागिर खोसुवाले उद्देश्यमा नराम्रो धक्का लाग्यो । केही वर्ष देश छाडी भारततिर भौतारिए । मामा माथवर पनि उतै थिए । दरबारमा पाँडेहरू कमजोर बन्दै गए । चतुर र बहादुर जङ्गबहादुरलाई युवराज सुरेन्द्रको अङ्गरक्षक बनाइयो । भावी राजाको अङ्गरक्षक हुनुको भरपूर फाइदा उठाए । काजीको उपाधी पाए । मामा माथवर शक्तिमा आएपछि जङ्गबहादुरको दिन दुगुना रात चौगुना प्रगति हुनथाल्यो । भाञ्जाको महत्वाकांक्षा देखेर मामा समेत सचेत र शतर्क भए । दरबारभित्र चुलिएको शक्तिसंघर्षमा एकले अर्कालाई सिध्याउने क्रम चल्दै थियो । राजा राजेन्द्रकी प्रीय रानी राजेन्द्रलक्ष्मीको महत्वकांक्षा पूरा गर्न रोक्न भाइभारदारहरू पक्ष र विपक्षमा उभिए । एक अर्काविरूद्ध षड्यन्त्रहरू भए । जङ्गबहादुरले मौकाको फाइदा उठाउँदै प्रतिष्पर्धीहरूलाई सखाप पार्ने रणनीति बनाए । धेरैको रगत बगाएर सत्तामा पुगे । सन् १८४६ को कोतपर्वमा विरोधीलाई सखाप पारेर शक्तिमा पुगे । राणाशासनको वीजारोपण गरी राजालाई दरबारको चार किल्लामा सिमित राख्ने योजना बढाए ।

जङ्गबहादुरले खतरनाक षड्यन्त्रलाई चिर्दै राजनीतिक सफलता हात पारे । राजा राजेन्द्र र रानी राजेन्द्रलक्ष्मीलाई निर्वासनमा पठाए । युवराज सुरेन्द्रलाई राजा बनाएर आफ्नी छोरीहरूसँग युवराज त्रैलोक्यवीरविक्रम शाहको विवाह गराए । सुरेन्द्रका दुई छोरीहरूको आफ्ना दुई छोराहरूसँग विवाह गराएर पारिवारिक सम्बन्ध बलियो बनाए । राजेन्द्रलाई पक्राऊ गरी कारागारमा राखे । कारागारमै राजेन्द्रको निधन भयो । रानीको आफ्नो छोरालाई राजा बनाउने उद्देश्य असफल बनाएर नियमानुसार जेठा सुरेन्द्रलाई राजा बनाएर थितीलाई निरन्तरता दिन सफल भए । राजालाई निकै खुशी बनाएर प्रधानमन्त्री पद आफ्नै वंशमा रहने व्यवस्थालाई सदर गराउन सके । देशको सेना र प्रशासनमा राणाहरूको एकछत्र राज शुरू गरे ।

भारतभर साम्राज्य बलियो बनाउँदै लगेको ब्रिटिश कम्पनि सरकारविरूद्ध विद्रोहहरू भइरहन्थे । जङ्गबहादुरका लागि अंग्रेलाई खुशी बनाउन उपयुक्त मौका बन्यो । सन् १८५७ को सिपाही विद्रोह डरलाग्दो बन्यो । जङ्गबहादुरले विद्रोहीलाई नभई अंग्रेजलाई साथ दिए । सेना पठाए । पछि स्वयं युद्धमा सहभागी भएर सिपाही विद्रोह दबाए । भागेर लुकेका विद्रोहीलाई समेत खोजी खोजी ठेगान लगाए । लखनऊसम्म पुगेर विद्रोह दबाउन खटिएको सैन्य टोलीको नेतृत्व आफैले गरे । सन् १८१६ मा भएको सुगौली सन्धीताका गुमाइएको भू–भागमध्ये चारवटा जिल्ला फिर्ता लिन सफल भए । अंग्रेजहरूले जङ्गबहादुरलाई भ्रमणको निम्तो गरे । सन् १८५० को अप्रिलमा कलकत्ता हुँदै बेलायत पुगे । त्यहाँको विकास र प्रगतिबाट प्रभावित भए । फ्रान्स पनि पुगे । तर एशियाली देशहरूमा बेलायती प्रभावबारे जानकार भएकाले बेलायतसँगै सुमधुर सम्बन्ध बनाउने निधो गरी फर्किए । आफूसँग बेलायत गएकाहरूलाई त्यहाँको विकास, कानुन र प्रशासनबारे सिक्न लगाए । देश फर्किएर कानुनमा आमूल परिवर्तन ल्याए । उनकै योगदानका कारण सन् १८५४ मा मुलुकी ऐन बन्यो । त्यसअघि १७ औं शताब्दीको रामशाहकालिन कानुन चल्थ्यो । मुलुकी ऐनले परिवर्तित समाज अनुकूलका कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्यायो ।

जङ्गबहादुर पश्चिमाहरूको विशेष चासोमा परेको पहिलो नेपाली शासक हुन् । दक्षिण एशियाली शासकहरूमध्येबाट औपचारिक निम्तो पाएर बेलायत पुग्ने उनी पहिलो हुन् । सन् १९५०–५१ को बेलायत यात्राका क्रममा उनले बलियो प्रभाव देखाए । कार्ल माक्र्सले उनको कडा आलोचना गर्दै ‘बेलायतको वफादार कुकुर’ भनेका छन् । बेलायत यात्राका क्रममा जङ्गबहादुरको शान र ऐयासी जीवनयापनबारे धेरै उल्लेख पाइन्छ । तीन महिना बसाईंका क्रममा रानी भिक्टोरियासँग भेटे । त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेट्नुका साथै उनको स्वागतमा भव्य कार्यक्रमहरू राखिए । बेलायतमा खूबै मस्ती गरे । सुन्दरी लौरा वेलसँगको प्रेम र यौन सम्बन्ध इतिहासमा सुरक्षित छ । लौराको नाम बेलायतका शक्तिशाली व्यक्तिहरूसँग जोडिएको छ । जसमध्ये तत्कालिन बेलायती प्रधानमन्त्री ग्लाडस्टोन पनि छन् । जङ्गबहादुरले लौराको लागि साढे दुई लाख पाउण्ड खर्च गरे । महङ्गो उपहार दिए । उनीसँग नजिकिएर बसाईं लम्बाउन खोजे । तीन महिना बेलायत बसाईं नलम्बाउन साथमा गएका भाईहरू जगत शमशेर र धीर शमशेरले देशमा हुनसक्ने राजनीतिक षड्यन्त्रतर्फ ध्यानाकर्षण गराउँदै फर्कन सम्झाएका थिए ।

जङ्गबहादुर शासनमा हुँदा नेपाल भ्रमण गरेका रूसी नागरिक मिनाएभले जङ्गबहादुरको मुहारमा पाशविकताको कुनै लक्षण नदेखिने वर्णन गरेका छन् । मीठो बोल्ने र भेटेको व्यक्तिलाई प्रभाव पारिहाल्ने क्षमताका थिए । त्यतिबेला ५० वर्षका जङ्ग वास्तविक उमेरभन्दा कम र फूर्तिला देखिन्थे । मङ्गोलियन अनुहारका उनी मिलनसार र बोलक्कड रहेको उल्लेख गरेका छन् । जीवन रहेसम्म प्रधानमन्त्री बनेका जङ्गबहादुरले सन् १८४६ देखि १८७७ सम्म शासन गरे । बीचमा केही समय भाई बमबहादुरलाई प्रधानमन्त्री बनाएपनि शक्तिको साँचो उनैको हातमा थियो । भीमसेन थापापछि सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक उनै हुन् । दक्षिण एशियाका बलिया देशहरू ब्रिटिश साम्राज्यको पकडमा पर्दै गर्दा उनले देशको स्वतन्त्रतालाई जिवित राखे । चाहे उनले बलायतीको गुलामी नै किन नगरेका होऊन् । लडेर देशको भू–भाग गुमाउनुभन्दा धरातलीय यथार्थलाई बुझेर रणनीति चाले ।

नेपालको प्रशासनको आधुनिकिकरण गरेर पुरानो ऐनमा परिवर्तन ल्याए । सतीप्रथा उन्मूलनमा जङ्गबहादुरले प्रयास गरे । सतीप्रथामा केही प्रतिबन्ध लगाए । सदीऔंदेखि चलिआएको सतीप्रथा उन्मूलनको प्रयास गर्ने उनको प्रयास ऐतिहासिक बन्यो । नेपालको सामाजिक परिवर्तनमा जङ्गबहादुरको योगदान अविस्मरणीय रहेको छ । नेपालको इतिहासको कोर्स बदल्ने जङ्गबहादुरको २५ फेब्रुअरी सन् १८७७ मा पत्थर घट्टामा आकस्मिक निधन भयो । उनको मृत्युको कारणबारे रहस्य कायम छ । तर तथ्य फेला परेको छैन । सतीप्रथा उन्मूलनको प्रयास बाबजुद उनका तीनजना विधवाहरू सती गए । जुन उनको प्रयासमाथिको धक्का थियो । Photo Source: The Famous People

प्रतिक्रिया दिनुहोस्