Logo

जोखिम मोल्ने साहसी मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी अहिले विश्वमै चर्चाको शिखरमा छन् । जोखिम मोल्ने र साहसिक निर्णय गर्ने नेताको परिचय बनाएका मोदीले भारतको राष्ट्रिय स्वार्थका लागि एकपछि अर्को महŒवपूर्ण रजोखिमयुक्त निर्णय गरे । यी निर्णय जोकोही नेताका लागि सम्भव थिएन, जुन मोदीले गरेर देखाए त्यसैले भारतभित्र विपक्षी नेताले समेत उनको प्रशंसा गरे ।

दोस्रो कार्यकाल प्रधानमन्त्री भएपछि मधुमास अवधि नसकिँदै जम्मु काश्मीरलाई विशेष स्वायत्त राज्यको अधिकार दिने संविधानको धारा खारेज गर्ने निर्णय लिए । भारतभित्र रहेर पनि अलग देशजस्तै दर्जा पाएको जम्मु काश्मीर मामलामा मोदीले लिएको निर्णयको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट क्रिया–प्रतिक्रिया आए । तर, मोदी अगाडि बढेपछि नफर्कने नेता भएकाले ऐतिहासिक कदम भन्दै ८ अगस्टमा भारतवासीका नाममा सम्बोधन गरे ।

 

मोदीले पहिलो कार्यकालमा नोट बन्दीको निर्णय लिएका थिए । निकै जोखिमपूर्ण निर्णय लिएर सफलता हासिल गरिछाडे । प्रतिपक्षीको घोर विरोधको सामना गरे । पाकिस्तानको अचानक भ्रमण गरेर तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई लाहोरमा भेटे । आश्चर्यजनक कदम चाल्ने शैली देखाइरहे । यसपटक काश्मीरको मामलामा उनले लिएको निर्णयले कतिपयलाई आश्चर्यमा पा¥योे । विपक्षी कांग्रेस आईलगायत केहीले विरोध गरे । तर, कांग्रेस आईकै वरिष्ठ नेता करण सिंह र उनका छोरा विक्रमादित्य सिंहले समर्थन गरे । विरोधीको पनि समर्थन पाउने कदम चाल्न सक्ने खुबी मोदीमा देखिएको छ ।

पूर्वात्तर भारतमा उठेको पृथकतावादी गतिविधि र हिंसात्मक घटनालाई नियन्त्रणमा लिन मोदी सफल भए । त्यहाँ भारतीय जनता पार्टीको बलियो प्रभाव देखिएको छ । पूर्वात्तर भारतका जनतालाई सरकार र अन्य क्षेत्रमा महŒवपूर्ण अवसर दिएर मन जित्न सके । मोदी सबैका नेता बन्न सके । साहस र करिश्मा देखाएर आन्तरिक राजनीतिमा मजबुत बनेका उनले बाह्य दुनियाँमा उस्तै प्रभाव देखाइरहेका छन् ।

 

मोदी उदीयमान भारतको अहिलेसम्मकै बलिया नेताका रूपमा गनिएका छन् त्यसैले लोकप्रिय गायिका लता मंगेशकरले मोदीलाई लोकसभामा बहुमत ल्याएपछि बधाई दिँदै ‘विगतमा नभएको र भविष्यमा नहुने’ जित भनेकी थिइन् । संसार छाड्नुअघि विदेशमन्त्री सुष्मा स्वराजले आफूले जीवनकालमै जम्मु काश्मीरबारेको महŒवपूर्ण निर्णय देख्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । राजनेता बन्न साहस र खुबी चाहिन्छ भन्ने सन्देश मोदीले सम्प्रेषण गरे । जस्तोसुकै अप्ठ्यारा समस्या आए पनि देश र जनताको हितका लागि राजनेताले जोखिम उठाउनुपर्ने सन्देश दिए त्यसैले विश्वभर मोदी उदाहरणीय बनेका छन् । मोदीजस्तै नेताको आवश्यकता हरेक देशका जनताले महसुस गर्न थालेका छन् ।

मोदीसँग परिपक्व कूटनीतिक क्षमता छ । उनले बाह्य सम्बन्धमा चातुर्य देखाएका छन् । अमेरिका, चीन, रुस, जापानका अलावा मध्यपूर्वका देशसँग सुमधुर सम्बन्ध स्थापित गरेका छन् । महŒवपूर्ण विदेश भ्रमण गरी भारतलाई लाभ दिलाउन सके । भारतमा विश्वका प्रभावशाली नेताहरूलाई भ्रमण गरिरहने अवस्था सिर्जना गरे । छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहे । छिमेकलाई मोदीले निकै महŒव दिएको पहिलो कार्यकाल र दोस्रो कार्यकालको शपथमा निम्तो गरेर देखाइसके । पहिलो कार्यकालमा विदेश भ्रमणको पहिलो गन्तव्य भुटान र दोस्रो गन्तव्य नेपाललाई बनाए । दोस्रो कार्यकालमा मालदिभ्सको पहिलो भ्रमण गरी श्रीलंका पुगी फर्किए । मोदीले छिमेकको विषयमा निकै ध्यान दिएर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

 

पहिलो कार्यकालमा मोदी चारपटक नेपाल भ्रमणमा आए । यो न विगतमा भएको थियो न त भविष्यमा नै होला । १७ वर्षदेखि भारतीय प्रधानमन्त्रीबाट नेपालको औपचारिक भ्रमण नभएको ‘डेडलक’ अन्त्य गरिदिए । धार्मिक भ्रमण गरे । मोदीले नेपालप्रति दर्साएको प्रेमभावले नेपाली जनता उनका फ्यान भए । पछि केही समस्या आए पनि सम्बन्धलाई पुरानै अवस्थामा पु¥याए । मोदीले नेपालप्रतिको अगाध स्नेहभाव दर्साइरहे । धर्मपुत्र नेपाली राख्नेदेखि नेपालको कुनाकाप्चाबारे जानकारी राख्न छाडेनन् । नेपालले आफूलाई माया गर्ने छिमेकको प्रधानमन्त्री पाएको छ । योभन्दा सकारात्मक र रचनात्मक अवसर सायदै आउँछ ।

मोदी कार्यकालमा नेपालले भारतसँगको सम्बन्धमा महŒवपूर्ण प्रगति हासिल गरेको छ । वर्षौंदेखि अन्योलमा रहेको भारतीय सहयोगका विकास निर्माणका परियोजना अगाडि बढेका छन् । भारतीय क्षेत्रसँग जोडिने रेलसेवा पुनर्संञ्चालनमा आएको छ । रेलसेवाको स्तरोन्नति र विकास भइरहेको छ । भारतीय सहयोग वृद्धि भएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनाको काम अगाडि बढेको छ । परियोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए । दशकौंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढाउन पहल भइरहेको छ ।

नेपालको समृद्धि र विकासमा भारतीय पक्षबाट मोदी युगमा निकै सहयोग प्राप्त भइरहेको छ । यसलाई सदुपयोग गर्नु नेपाली पक्षको दायित्व हो । यसका लागि प्रधानमन्त्री ओलीले कूटनीतिक क्षमता देखाउँदै यो मौकाको सदुपयोग गर्न सक्नुपर्छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि दुई देशबीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै भारतबाट लाभ लिने अवस्था सिर्जना गर्ने तत्परता देखाइरहेका छन् । ज्ञवाली पनि कूटनीतिमा खारिएका र परिपक्व मानिन्छन् । उनले दुई देशबीचको सम्बन्ध सुमधुर र प्रगाढ बनाउन पछिल्लो समय जुन कदम चालिरहेका छन्, त्यो प्रशंसनीय छ ।

दुई देशको सम्बन्धलाई अझ प्रभावकारी बनाउने क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदै छन् । ३० देखि ३१ अगस्टमा हुने उनको नेपाल भ्रमणलाई निकै महŒवका साथ हेरिएको छ ।

सफल कूटनीतिज्ञ हुँदै भारतको विदेश सचिव अनि विदेश मन्त्री बनेका जयशंकर विदेश मामलामा खारिएका अधिकारी हुन् । उनले नेपाल भ्रमण तय गर्नुअघि दिल्लीमा नेपाली राजदूत निलाम्बर आचार्यसँग भेट गरिसकेका छन् । जयशंकरले पूर्ण तयारीका लागि नेपालसँग विकास निर्माणसम्बन्धी प्रस्ताव लिएर आउने र नेपालको प्रस्तावबारे जानकारी लिने बुझिएको छ । नेपाली पक्षले पनि भ्रमण अघि आवश्यक तयारी गरिरहेको बुझिएको छ । जयशंकरको भ्रमणपछि उच्च तहको भ्रमण हुने अपेक्षा गरिएको छ ।

दुई देशबीचको सम्बन्धलाई उचाइमा पु¥याउन विभिन्न तह, तप्का र समयमा भूमिका खेलिँदै छ । पूर्वविदेशमन्त्री सुष्मा स्वराजले नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्न विशेष योगदान पु¥याएकी थिइन् । हालै मात्र उनको निधन भयो । विदेशमन्त्रीका रूपमा रहँदा उनले नेपाल–भारत सम्बन्ध इतिहासकै उचाइमा पुगेको बताएकी थिइन् । नेपाललाई निकै माया गर्ने नेता थिइन् उनी । स्वराजको स्थानमा आएका जयशंकरले सम्बन्धलाई अझ उचाइमा पु¥याउने अपेक्षा गर्न सकिन्छ । नेपालबारे जानकार र नेपालका प्राज्ञिक व्यक्तिसँग व्यक्तिगत सम्बन्धसमेत रहेकाले जयशंकरको कार्यकालमा नेपालले अधिकतम लाभ लिन सक्ने विषय धेरै छन् ।

 

भारतीय राजदूत मञ्जिभसिंह पुरीको भूमिका प्रशंसनीय छ । उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन निकै मेहनत गरेका छन् । सरल र बौद्धिक कूटनीतिज्ञ पुरीले नेपालको समृद्धि र विकासका लागि सक्दो योगदान पु¥याउँदै आएका छन् । उनी नेपालीमाझ लोकप्रिय छन् त्यसैले नेपालमा भारतप्रति सकारात्मक धारणा अझ विकास भएको छ ।

मोदी प्रधानमन्त्री हुनु, जयशंकर विदेशमन्त्री हुनु र मञ्जिभसिंह पुरी राजदूत हुनुले नेपालका लागि लाभदायक अवसर बनेको छ । यसलाई नेपालको हितमा सदुपयोग गर्नुपर्ने बेला आएको छ । मोदीले काश्मीरमा चालेका कदम भारतको आन्तरिक मामला भएकाले नेपालले यसलाई सकारात्मक रूपले स्वागत गर्नुपर्छ । यसले दुई देशबीचको सम्बन्धमा अझ विश्वास बढ्छ ।

अहिले प्रधानमन्त्री ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने अभियानमा सक्रिय छन् । यो अभियानमा देशभित्रबाट हुने काम र योगदानका अलावा देशबाहिरको सहयोग उत्तिकै महŒवपूर्ण छ । विशेषगरी, तीनतर्फ सीमा जोडिएको र धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्ध रहेको भारतको सहयोग र साथ अनिवार्य छ । त्यसका लागि ओलीले दूरदर्शिता देखाउनुपर्छ । पार्टीको मात्र नभएर देशको साझा राजनेता बन्न सक्नुपर्छ । अहिले देशको सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मोदीसँग रहेको सुमधुर सम्बन्धबाट नेपालले लाभ लिन सक्नुपर्छ त्यसैले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड भारतसँग राष्ट्रिय स्वार्थ र मुलुकको लाभका आधारमा मिलेर जानुको विकल्प छैन ।

भारत विश्वमा उदीयमान आर्थिक शक्तिका रूपमा स्थापित भइरहँदा नेपालले लाभ लिन सक्ने ठाउँ प्रशस्तै छन् । त्यसको पहिचान गरी मिलेर अगाडि बढ्ने बिन्दु निर्माण गर्नुपर्छ । मोदी छन् र नेपाललाई माया गर्छन् । मोदी छन् र भारतले द्रुत आर्थिक वृद्धि र प्रगति गरिरहेको छ । यो अवसरलाई साँचेर भारतसँगको सम्बन्ध र समन्वयलाई सुदृढ गर्न सके नेपालको समृद्धि टाढा छैन ।-राजधानी दैनिकमा प्रकाशित धमलाको लेख



प्रतिक्रिया दिनुहोस्