Logo

सुनको सिक्री लुट्ने भारतीय नागरिकसहितको गिरोह



काठमाडौं । सुनको सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टमबहादुर सुनुवार, टलकबहादुर रायमाझी र देवासिक दोलही छन् ।

उनीहरुमध्ये भारतीय नागरिक दोलही ललितपुर बालकुमारीस्थित सुन पसलमा काम गर्दै आएका थिए । उनीहरुलाई काठमाडौं बसुन्धरा तथा ललितपुरबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

लुटेरा समूहले दश जना भन्दा बढी महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री लुटी विक्री गरेको अनुसन्धानबाट पत्ता लागेको छ । पक्राउ परेकामध्ये टमबहादुर र टलकबहादुर विगतमा चोरीकै अभियोगमा परी तीन वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले वताएको छ ।

लुटिएका सिक्रीको बिक्रीबाट आएको २ लाख ५० हजार ५ सय रुपैयाँ, लुटपाटमा प्रयोग भएको बा.२९ प ७२७६ नम्बरको मोटरसाइकल, सुन जस्तो देखिने सिक्री एक थान, सुन जोख्न प्रयोग गरिने तौल मेशिन एक थान, मोवाईल पाँच थान र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेटहरू समेत अभियुक्त टमबहादुरको कोठाबाट प्रहरीले बरामद गरेको जनाएको छ ।

लुटपाट घटनामा संलग्न हुनसक्ने अन्य व्यक्ति तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्