Logo

वन समूहबाटै चारकोसे सखाप



काठमाडौं । संरक्षणको जिम्मा लिएका सामुदायिक र साझेदारी वन समूहकै संलग्नतामा पूर्वी तराईको चारकोसे जंगल सखाप हुने गरेको पाइएको छ । सरकारले जंगल जोगाउन २०५५ सालयता १३४ सामुदायिक र ४ साझेदारी समूहलाई २७ हजार ७९० हेक्टर चारकोसे वन हस्तान्तरण गरिसकेको छ ।

यो समाचार आजको कान्तिपुरमा छापिएको छ । ‘सामुदायिक र साझेदारी वन उपभोक्ता समितिले अनधिकृत रूपमा रूख काटेर जंगल उजाड बनाएको, काटिएका रूखको काठ र दाउरा वितरण प्रणाली पारदर्शी नभएको तथा आर्थिक कारोबार पत्यारिलो नभएको भन्दै ४६ सामुदायिक वनविरुद्ध उजुरी परेका छन्,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीका निमित्त प्रमुख ज्ञानेन्द्र ढकालले भने, ‘ती उजुरीमा अनुसन्धान भइरहेको छ ।’

चारकोसेको घटेकै भूभागमध्ये पनि सरकारले सामुदायिक वनलाई २० हजार ५२८ हेक्टर र साझेदारी वनलाई ७ हजार २६२ हेक्टर रेखदेख र संरक्षणको जिम्मा लगाएको छ । डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेका अनुसार यीबाहेक १२ धार्मिक समूहले ४४ हेक्टर र कबुलियत वनका नाममा ७८ हेक्टर वन क्षेत्र उपभोग गर्दै आएका छन् । ‘चुरेको फेदीदेखि माथिल्लो भागमा रहेको १६ हजार ६७८ हेक्टर क्षेत्रफल मात्र अब पूर्वी तराईमा राष्ट्रिय वनका रूपमा संरक्षित छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्