Logo

वामदेवलाई प्रधानमन्त्रीको ललिपप देखाउँदै ओलीले चाले यस्तो रणनीति



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतममा प्रधानमन्त्री हुने महत्वाकांक्षा जागेको छ । बर्दियाबाट गत चुनावमा पराजित भएपछि उनको प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको थियो । तर, कास्की २ मा हुन गइरहेको उपचुनावमा उनी उम्मेदवार बन्ने इच्छा देखाइरहका छन् । यसमा उनको प्रधानमन्त्री बन्ने महत्वाकांक्षा जोडिएको छ ।

रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि वामदेवले खाली रहेको सिटमा उम्मेदवार बन्ने चाहना देखाएका हुन् । गौतमले टिकट पाएर चुनाव जितेमा प्रधानमन्त्रीका दाबेदार हुनेछन् । उनलाई चुनावमा उम्मेदवार बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रस्ताव गरिसकेका छन् ।

ओलीले वामदेवलाई उम्मेदवार बन्न प्रस्ताव गर्नुमा रणनीति पनि जोडिएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डले ओलीले साँढे दुई वर्ष प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेपछि आफू बन्ने सहमतिको खुलासा गरिसकेका छन् । यो सहमति सही हो र मान्ने हो भने अबको एक वर्षभन्दा कम समयपछि ओलीको विकल्पमा प्रचण्ड प्रस्तुत हुनेछन् । तर, ओली पक्षले वामदेवलाई अगाडि सार्ने योजना अनुसार सांसद बनाउन खोजिरहेको छ ।

प्रचण्डसँग नजिक बनेका वामदेवलाई संगठन विभाग र सांसदको लोभ देखाउँदै ओलीले आफ्नो पक्षमा पारिसकेका छन् । यसको सन्देश सिंगापुरबाट १२ साउनमा फर्कंदा वामदेव एयरपोर्ट स्वागतका लागि पुगेबाट खुलिसकेको छ । ओलीले वामदेवलाई सांसद बनाउँदा भावी प्रधानमन्त्रीका लागि प्रचण्डको प्रतिष्पर्धी वामदेव बन्न सक्छन् । यस अवस्थामा ओली झन् बलिया हुनगई प्रधानमन्त्रीमा कायमै रहने अवस्था बन्न सक्छ । यही रणनीति अनुसार असन्तुष्टि वामदेवलाई महत्वपूर्ण जिम्मेवारी दिने शर्तमा आफ्नो पक्षमा ल्याउन ओली सफल भएका छन् ।

नेकपाभित्र सुरथको एक्का बनेका वामदेवलाई आफ्नो पक्षमा पारेर पूर्व माओवादीलाई कमजोर पार्न ओली सफल भएका छन् । ओली निकट नेता महेश बस्नेतले ओलीपछि वामदेव प्रधानमन्त्री बन्ने बताइसकेका छन् । यसले पनि प्रचण्डलाई नेकपामा प्रधानमन्त्री बन्न कठिन हुने देखिदैछ । यसमा रणनीतिक चार्तुयता देखाउन ओली सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्