Logo

‘विप्लव-विद्रोह सम्बोधन गर्न सरकार सच्चिनुपर्छ’



पोर्चुगल, २८ साउन : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत गर्नु नै काङ्ग्रेसको मुख्य एजेण्डा भएको बताए ।

काङ्ग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उनको भनाइ थियो । साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्नेमा उनको जोड थियो । “सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ”, शर्माले भने । राजनीतिलाई राम्रो बनाउनुपर्ने जोड दिँदै नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताउनुभयो ।

मधेसका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिष्ट पार्टी र सरकार सच्चिनुपर्ने उनको धारणा थियो । देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न काङ्ग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उल्लेख गर्दै शर्माले कम्युनिष्ट सरकारलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रहसमेत गरे ।

देश निर्माणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले संविधानले व्यवस्था गरेबमोजिम प्रवासी नेपालीलाई नागरिकताको व्यवस्था गरिने बताए । ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने ?’ प्रश्न गर्दै शर्माले मताधिकार र सम्पत्तिको स्वामित्वसहितको नागरिकताका लागि काङ्ग्रेसले पहल गर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot