Logo

प्रचण्ड छोडेर ओली क्याम्पमा गौतम, एकता प्रक्रिया थप अन्योल



साउन २८, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विवादै विवादको अर्को नाम हो भन्दा फरक नपर्ला । पार्टीको नाम एउटै भए पनि त्यहाँ दुईवटा दलका नेताहरुको मिश्रण छ । त्यसो त अध्यक्ष नै दुइजना छन् । एकता प्रक्रिया पूरा नहुँदा पूर्व एमाले र पूर्व माओवादीको ह्याङ अझै सकिएको छैन । त्यसमा पनि पछिल्लो समय शीर्ष नेताहरुको गुट फेरबदल भइरहँदा थप अन्योल बढेको छ ।

तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्नमा केपी ओलीलाई सहयोग गरेका बामदेव गौतम अरु कुनै ठूलो पद पाउँछु भन्ने आशामा थिए । प्रतिनिधिसभा निर्वाचनमासमेत पराजित भएपछि गौतम विक्षिप्त भए । न ओलीले कुनै जिम्मेवारी नै दिए ।

गौतम लगभग राजनीतिका गतिविधिबाट छायाँमा परे । पार्टी एकतापछि उनै गौतम पुष्पकमल दाहालसँग निकट भए । तर ओलीले कुनै मलतब गरेनन् । समयक्रम यसरी अघि बढ्यो कि गौतमलाई दाहाल गुटबाट निकाल्नुपर्छ भन्ने निष्कर्षमा ओली पुगे । र अहिले पार्टीको संगठन विभागको संयोजक बनाउने आश्वासन दिएर आफू निकट बनाउन सफल भएका छन् ।

असार २८ गते गौतमको जन्मदिन ओलीले वालुवाटारमै केक काटेर मनाइदिए । ओली र गौतम संयोगबाहेक एकसाथ नदेखिएको धेरै भएको थियो । तर उपचारका लागि सिंगापुर गएका ओली सोमबार स्वदेश फर्किदा गौतम विमानस्थलमै पुगे । यसरी ओली र गौतम निकट बनिदिँदा नेकपाभित्र विभिन्न खाले शंका उपशंका उब्जिएको छ । बहस त यतिसम्म सुरु भएको छ कि अब गौतम प्रधानमन्त्रीसमेत बन्न सक्ने ओली निकट नेता महेश बस्नेत बताउँछन् ।

ओली र गौतमको निकटतालो के प्रभाव पार्छ, त्यो भविष्यले देखाउला । तर स्कुल विभागको संयोजक कसलाई बनाउने भन्ने विवादकै कारण सचिवालय बैठक असफल हुँदै आएको छ । साउनको दोस्रो साता बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि २८ गतेका लागि बोलाइयो ।

यसबीचमा अध्यक्ष दाहाल घुम्नका लागि दुवै र ओली उपचारका लागि सिंगापुर पुगे । सोमबार ओली फर्किए । सचिवालय बैठक मंगलबार बस्ने तय भएको थियो । तर बैठक बस्नै सकेन । यसले पार्टीभित्र विवाद चुलिएको छ भन्ने स्पष्ट हुन्छ ।

यसको कारण स्कुल विभागलाई नै मानिएको छ । यही विभागको दाबेदारीमा नाम आएका राम कार्की नेताहरु पदीय लालचमा फस्दा समस्या नसुल्झिएको तर्क गर्छन् । कार्कीले त नेतृत्व तहमा रहेका नेताहरुले समस्या समाधान गर्नै नसक्ने ठोकुवा गरे ।
२०७४ साल जेठ तीन गते शीर्ष तहमा नेकपा एमाले र माओवादीबीच एकता भएको थियो । त्यसपछिको १४ महिना नेकपाले एकताको सवालमा खासै उपलब्धि हासिल गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्