Logo

मंसिर १४ मा उपनिर्वाचन पक्का, विद्युतीय भोटिङ मेसिनको प्रयोग असम्भव



२८, काठमाण्डौ । समयमा हुनुपर्ने कुनै पनि काम नहुन नेपालको विशेषता नै हो । उपनिर्वाचन गरेर रिक्त ठाउँमा जनप्रतिनिधि चयन गर्नुपर्ने समय ढिला भइसक्यो । अब भने ५० जना जनप्रतिनिधिका लागि उपनिर्वाचन हुने पक्का भएको छ । मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले तयारी तिब्र बनाएको हो ।

गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ । यस्तै, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो ।

आयोगका अनुसार उपमहानगर पालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगर वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुनेछ । निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्यविधी सम्बन्धी काम भैईरहेको छ ।

नेपालमा विद्युतीय भोटिङ मेसिनको प्रयोगको चर्चा पहिलो संविधानसभापछि चुलिएको थियो । त्यसपछिका हरेक निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गर्न सकिने वा नसकिनेबारे चर्चा भइरह्यो । तर आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले अझै पनि विद्युतीय मेसिनको प्रयोग गर्न नसक्ने स्पष्ट पारेका छन् ।

नेपालमा निर्वाचन भन्नासाथ पूर्वनिर्धारित मितिमा नहुने हो कि भन्ने आशंका उब्जिहाल्छ । तर यसपटक मंसिर १४ मा उपनिर्वाचन गर्नबाट कसैले रोक्न नसक्ने आयोगका प्रवक्ता खरेलको दावी छ ।

आयोगल उपनिर्वाचनको तयारी थालेसँगै दलहरु सम्बन्धित क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने आन्तरिक छलफलमा जुटिसकेका छन् । सबैभन्दा बढि चासो प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २ मा रहेको छ । उपनिर्वाचन हुनेमध्ये यो निर्वाचन क्षेत्र मात्रै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने ठाउँ हो ।



प्रतिक्रिया दिनुहोस्