Logo

छोरी जन्मेपछि पतिले अस्पतालमा छाडेपछि पत्नी घर फर्किइन्



जुम्ला। छोरी जन्मेको भन्दै श्रीमती र नवजात शिशुलाई पतिले छाडेर गएपछि पत्नी घर फर्किएकी छिन् । उनी बच्चालाई श्रीमानको जिम्मा लगाइएको छ । जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ ।

अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त नबुझेपछि सुत्केरीलाई अस्पतालमै छाडेर उनी घरतिर लागेपछि सुत्केरी पुतली साहारा खोज्दै रेडियो नारी आवाजमा पुगेकी थिइन । श्रीमानले छाडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जानसमेत कठिन भएपछि सो दिन पत्रकार र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा अस्पतालमा आश्रयका लागि राखिएको थियो ।

आपत्कालीन रुपमा उहाँलाई प्रतिष्ठानको इमर्जेन्सी विभागको अवजरवेसन कोठामा राखिएको थियो । पुतलीको आश्रयनै नभएपछि विशेष हेरचाहसहित निःशुल्करुपमा राखिएको थियो । श्रीमानले छाडेर गएको खबर सरोकारवाला निकायले थाहा पाएपछि प्रहरीले बीरबहादुरलाई सदरमुकाम पु¥याएको थियो । गाउँपालिकाको सहयोगमा एम्बुलेन्समा सुत्केरीलाई घर फर्काइएको छ ।
बच्चा जन्माउनका साउन ७ गते अस्पताल भर्ना भएकी पुतलीले १३ गते बच्चा छोरीलाई जन्म दिएकी थिइन । श्रीमान्ले अब राम्ररी मिलेर बस्ने र स्याहारसुसार गर्नेसमेत बताएका गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकार गराएका छन । उनका तीन छोरा र तीन छोरी छन् ।



प्रतिक्रिया दिनुहोस्