Logo

पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा



गोरखा, २९ साउन । सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आईपुगेका छन् ।

सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्कनुभएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आईपुगेका हुन् ।

साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान गरेको छ । पर्यटन वर्ष २०२० को प्रचार–प्रसार एवं ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नारा लिएर आफू साइकलयात्रामा निस्किएको श्रेष्ठले बताए । गएको चैत ३ गतेबाट यात्रा शुरु गर्नुभएका श्रेष्ठ १४९ दिन लगाएर गोरखा आईपुगेका हुन् ।

श्रेष्ठले आउँदो असोजभित्रै देशका ७७ वटै जिल्लाको भ्रमण गरेर सक्ने लक्ष्य लिएको बताए । “साइकलको अगाडि दायाँबायाँ राष्ट्रिय झण्डा फहराउँदै, नेपाली राष्ट्रिय पोशाक दौरासुुरुवालमा साइकलयात्रामा हिँड्नुभएका श्रेष्ठले गोरखा सदरमुकाममा जिल्लाका ऐतिहासिक एवं धार्मिकस्थलको बारेमा जानकारीसमेत लिए ।

यात्राका क्रममा जिल्ला सदरमुकाममा पुगेर त्यहाँ रहेका उद्योग वाणिज्य सङ्घ, विद्यालय, क्याम्पस विद्यार्थी एवं पत्रकार महासङ्घसँग अन्तक्र्रिया गरेका हुन्। गोरखाका पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले देश भ्रमणका लागि साइकल सस्तो यात्रा भएको र स्वास्थ्यका लागि समेत फाइदा भएकाले साइकलयात्रा रोजेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्