Logo

समाजवादी–राजपाबीच एकताबारे छलफल नै हुन सकेन



साउन २९, काठमाण्डौ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच एकीकरण गर्ने भनिएको धेरै समय भयो । तर अहिलेसम्म नेताहरुले औपचारिक रुपमा छलफल अगाडि बढाउन सकेका छैनन् । समाजवादी सरकारमा छ भने राजपाले सरकारको चर्को आलोचना गरिरहेको छ । यस्तो अवस्थामा दुई दलबीचको एकता जटिल देखिन्छ ।

समाजवादी र राजपाका शीर्ष नेताबीच अनौपचारिक छलफल जारी छ । तर औपचारिक रुपमा भने दुइपक्षले नै वार्ता गरेका छैनन् । एकतापछिको नेतृत्व, निर्वाचन प्रणाली, सरकारमा रहने वा नरहने लगायतका विषयमा सहमति जुट्न सकेको छैन ।

एकीकरणपश्चात् शीर्ष नेता व्यवस्थापन कसरी गर्ने, संसद्बाट निर्वाचित प्रधानमन्त्रीय प्रणाली कि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचन प्रणाली पूर्ण समानुपातिक कि मिश्रित भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

दुई पार्टी एकीकरण गर्न सहमत भएपनि अहिलेसम्म औपचारिक रुपमा वार्ता हुन नसकेकोले पनि केही अलमल देखिएको राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको भनाई छ ।

अर्कोतिर सरकारमा सहभागी समाजवादी पार्टीले ‘एकीकरणअघि सरकार छोड्ने कि एकीकरण पश्चात् ? भन्ने पनि अर्को बहसको विषय बनेको छ । तर समाजवादी पार्टीले भने पार्टीको शैदान्तिक विषयदेखि नेतृत्वसम्म सवै विषयमा सहमती भए सरकार छाड्ने कुरा कुनै ठुलो कुरा नभएको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदी बताउँछन् ।

अनौपचारिक रुपमा भएका छलफलहरुमा भने राजपा अध्यक्षमण्डलमा रहेका ६ नेतामध्ये ठाकुर र महतो तथा समाजवादी अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको चार सदस्यीय अध्यक्षमण्डल बनाउनुपर्नेमा भने शीर्ष नेताहरु सहमत देखिएका छन ।

पार्टीको नाम ‘राष्ट्रिय समाजवादी पार्टी’, झन्डा समाजवादीको र चुनाव चिह्न राजपाको राख्ने विषयमा अनौपचारिक सहमति समेत भइसकेको बताइएको थियो । गत २३ वैशाखमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको थियो । वैकल्पिक शक्ति निर्माणका लागि समाजवादी र राजपा नेपाल एकीकरण गर्ने विषयमा दुवै दल सहमत भएपनि औपचारिक रुपमा भने एकीकरण हुनसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्