Logo

के रवि लामिछाने अपराधी हुन् ?



समाचार विश्लेषण । पत्रकार रवि लामिछानेको नाम अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको घटनामा जोडिएको छ । आत्महत्या गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछानेसहित अर्का पत्रकार युवराज कँडेल र एक महिलाको नाम उल्लेख छ ।

रुँदै बनाएको भिडियोमा शुरुमा रवि र युवराजलाई दाई भनेपनि अन्तमा नकारात्मक शब्द उच्चारण गरिएको छ । आफ्नो मृत्युको कारण रवि लामिछाने भएको भन्दै फाँसीको सजाय समेत माग गरेका छन् । नेपाल आजले खुलासा गरेको भिडियो शालिकराम नै हुन् भन्ने पक्का भएपनि उनको मृत्युको कारण भिडियो मात्र मुख्य आधार बनाउन कठिन हुन्छ ।

भिडियोमा शालिकरामले विगतमा सेक्युरिटी कम्पनि खोलेर राम्रो आम्दानी गरेको उल्लेख गरेका छन् । महिनाको डेढ लाख कमाई छाडेर उनी न्युज ट्वान्टी फोमा १५ हजार तलब पाउने गरी पुगेको खुलाएका छन् । उनी ठूलो कमाई छाडेर किन मात्र १५ हजार तलब पाउने टेलिभिजन गए भन्ने रहस्यको विषय छ ।

रवि लामिछानेले ठूला व्यापारीसँग पैसा उठाउने गरेको समेत उल्लेख गरेका छन् । पैसाको विषय उठ्दै गर्दा शालिकराम पुडासैनी ऋणमा परेको समेत बताएका छन् । ऋणमा उनी कसरी परे ? यो रहस्यको विषय छ ।
शालिकराम एक युवतीको प्रेममा परेको खुलाएका छन् । ती युवतीको नाम समेत उल्लेख गरेका छन् । यतिसम्मकी युवतीको दाजुको नाम र काम गर्दै आएको कार्यालयको समेत नाम खुलाएका छन् । विवाहित शालिकग्राम ती युवतीसँग प्रेममा परेको र सम्बन्ध टुटेको भिडियो रेडर्कमा उनले बताएबाट बुझ्न सकिन्छ ।
शालिकग्राम पुडासैनीको आत्महत्याको कारण उनी एक्लै मात्र पक्कै होइनन् । यसमा सामाजिक परिवेश उत्तिकै जिम्मेवार छ । आत्महत्याको दोषी व्यक्ति मात्र हुँदैन, सामाजिक परिवेश पनि हुन्छ । समाजशात्री इमाइल दुर्खाइमलले आत्महत्याको कारण समाज भनेका छन् ।

घटनाबारे अहिलेसम्म खुलेका तथ्य र भिडियो फुटेजमा उनको खुलासा, प्रस्तुतीको शैलीले विक्षिप्त थिए भन्ने बुझिन्छ । उनी निकै पीडामा रहेकोमा त्यसको मुख्य कारण पैसा, साथीभाईबाट भएको बेवास्ता र प्रेममा बिछोड देखिन्छ । यसकारण एउटा पत्रकारको निधनलाई एकपक्षीय र उनको आक्रोश र पीडाको वाक्यकै आधारमा निष्कर्ष निकालिनहुन्न ।

घटनाबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ । आत्महत्या, हत्या वा मृत्यु के हो अनुसन्धानले बताउला । तर, घटनाको निष्पक्ष छानविन जरुरी छ । जसरी रवि लामिछानेले विगतमा आफ्ना प्रस्तुतीका कारण आफूलाई देवत्वकरण गर्न खोजे, उनका अन्धभक्तले उनको देवत्वकरणलाई स्वीकारे त्यसरी नै एउटा घटनाले उनको दानवीकरण हुनु अन्याय हुनजान्छ । चर्चा र लोकप्रीयताको भारी निकै वजनदार हुन्छ । यसलाई थेग्न कठिन हुन्छ ।

रवि लामिछानेका लागि लोकप्रीयताको भारी बोकिनसक्नुको भइसकेको थियो । शालिकरामको आत्महत्या एउटा घटना मात्र हो । नेपालको पत्रकारिता वा जुनसुकै क्षेत्र किन नहोस् सतही काम र सतही लोकप्रीयता टिकाउ हुँदैन । अब रवि लामिछानेलाई अपराधीको शैलीमा बुझ्नु अर्को भुल हुनेछ । उनी दोषी हुन् होइनन् अनुसन्धान गर्ने निकायको काम हो । तर, शालिकरामको आत्महत्या हो भने मुख्य दोषी उनी हुन् । उनले चुनौतीबाट भाग्ने कायरता देखाए । त्यसपछिको दोषी समाज र उनको परिवेश हो जहाँ उनी बाँचेका थिए । त्यसैले अब उप्रान्त शालिकरामहरुको ज्यान जान दिनहुन्न । कसैलाई एकैपटक अपराधी करार गरेर प्रतिष्ठामा आँच पुर्याउनहुन्न । रविले टेलिभिजन प्रस्तुतीमा एकैपटक कसैलाई अपराधी भनिदिन्थे । उनको हकमा अरुले त्यस्तै प्रस्तुती गरेर अर्को गल्ती गर्न हुन्न । रवि अहिलेसम्म अपराधी होइनन् ।



प्रतिक्रिया दिनुहोस्