Logo

सर्वेन्द्र खनालले खुलाए मानव बेचबिखनविरुद्ध के गर्दैछ प्रहरी



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनमा संलग्न तस्करहरुलाई कानूनी दायरामा ल्याउन सम्पूर्ण सरोकारवाला निकायहरु ऐक्यबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय अभियानमा सरोकारवालाको साझेदारी भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई २९ साउनमा सम्बोधन गर्दै खनालले मानव बेचबिखनविरुद्ध प्रहरीको अभियानबारे खुलाएका हुन् ।

खनालले मानव बेचबिखन विरुद्ध आवद्ध सरोकारवाला निकायहरुबीच समिति बनाई आगडि बढ्ने चर्चा गर्दै यस्ता अन्तरक्रिया कार्यक्रमले मानव बेचबिखनमा देखिएका चुनौतीलाई समाधान गर्न थप सहज हुने उल्लेख ‍गरे । सरोकारवाला निकायहरुले आ(आफ्नो क्षेत्रबाट निर्वाह गर्ने भूमिका एवम् साथ र सहयोग सदैव रहने अपेक्षा समेत व्यक्त गरे ।

खनालले दक्षिण एसियाबाट मानव तस्करीका मुख्य गन्तव्यहरु, घटना विश्लेषणका आधारमा मानव बेचबिखनका प्रवृत्तिहरु, अपराधिक कार्यविधि, अपराधिक योजना, मानव बेचबिखनका रुट र गन्तव्य,आन्तरिक मानव बेचबिखनका क्षेत्रहरु लगायतका विषयमा प्रस्तुतीकरण गर्दै मानव बेचबिखन विरुद्ध नेपाल प्रहरीको रणनीति, दृष्टिकोण र संयन्त्रका बारेमा जानकारी दिए ।

पीडितको सुरक्षा, मनोपरामर्श र पुनर्स्थापना केन्द्रहरुको स्थापना गर्ने, केन्द्रीय स्तरमा रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोको क्षमता अभिबृद्धि गरी प्रादेशिक तहमा विस्तार गर्ने, विदेशमा मानव बेचबिखनको जोखिममा रहेका नेपालीहरुको उद्दारको लगि इन्टरपोलसँग समन्वय गर्ने, सिमा क्षेत्रका प्रवेश नाकाहरुमा विशेष सतर्कता तथा चेकजाँच गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवालाहरुसँग समन्वय, सहकार्य र मानव बेचबिखनका सम्भाव्य पीडितहरुको पहिचान गरी उद्दार गर्ने र मानब बेचबिखनका जोखिम तथा प्रभावहरुबारे व्यापक जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने नेपाल प्रहरीको रणनीति रहेको उल्लेख गरे । समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत सामुदायिक कार्यक्रमका प्राथमिकताहरुमध्ये मानव बेचविखन नियन्त्रण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको समेत बताए ।

अध्यागमन बिभागका महानिर्देशक ईश्वर राज पौडेलले मानव बेचबिखन नियन्त्रणमा नेपाल प्रहरी र अध्यागमन बिभागबीच सहकार्य हुँदै आएको चर्चा गर्दै मानव बेचबिखनमा देखिएका चुनौतीमध्ये आधुनिक दासतालाई नियन्त्रण गर्नका लागि सबै सरोकारवाला निकायहरु एकजुट भएर जानुपर्नेमा जोड दिए। पीडितहरुले उजुरी नदिएको कारण मानव बेचबिखन नियन्त्रणमा थप आवश्यक अनुसन्धान कार्य गर्न कठिनाई भएको उल्लेख गर्दै महानिर्देशक पौडेलले बालबालिकाको तस्करी नियन्त्रणमा पनि सम्बद्ध निकायहरु संवेदनशील हुनुपर्ने बताए ।

वैदेशिक रोजगार बिभागका निर्देशक हरि ज्ञवाली, उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता लोकराज पराजुली तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रा शर्माले अन्तरक्रिया कार्यक्रमको महत्व तथा मानव बेचबिखन नियन्त्रणमा भएका प्रयास सम्बन्धमा आ(आफ्नो धारणा व्यक्त गरेका थिए । मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ईश्वर बाबु कार्कीले स्वागत मन्तव्य व्यक्त तथा अन्तरक्रिया कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्