Logo

भारतीय स्वतन्त्रता आन्दोलनमा वीपीदेखि मनमोहनसम्म



काठमाडौं । भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । अध्ययनका लागि विद्यार्थीका रुपमा वा प्रवासीका रुपमा भारत बसेका बखत उनीहरु बेलायतको उपनिवेशबाट भारतलाई मुक्त गर्न भएको आन्दोलनमा प्रत्यक्ष सहभागी भएका थिए । सन् १९४७ अघि भारतको स्वतन्त्रताका लागि नेपाली नेताहरुले पुर्याएको योगदानको भारतीय नेताहरुले समेत चर्चा गर्ने गरेका छन् ।

वीपी कोइराला स्वतन्त्रताको आन्दोलनका क्रममा भारतमा पक्राउ पनि परे । त्यसैले उनी नेपालमा मात्र नभएर भारतमा अति सम्मानित छन् । वीपीको शालिक विहारको पटनामा समेत छ । पटनास्थित वीपीको शालिकमा सम्मानका लागि त्यहाँका मुख्यमन्त्रीहरु समेत पुग्नेगर्छन् ।

भारतको स्वतन्त्रता संग्राममा गणेशमान सिंह, डा. डिल्लीमणि रेग्मी, मनमोहन अधिकारीलगायत पनि सहभागी थिए । उनीहरु त्यहाँको आन्दोलनबाट प्रेरित भएर नेपालमा राणाविरोधी आन्दोलनमा सक्रिय भएका थिए । भारतको स्वतन्त्रता आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनको प्रेरणा स्रोत पनि हो । पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता डा. रामशरण महत भारतको स्वतन्त्रता आन्दोलनमा वीपी कोइराला, मनमोहन अधिकारी, सूर्यप्रसाद उपाध्यायलगायतको उच्च योगदान भएको बताउँछन् ।

भारतको स्वतन्त्रता आन्दोलनका नायकहरुमध्येका जयप्रकाश नारायण र राममनोहर लोहिया बेलायती शासकको पक्राउबाट जोगिन नेपाल आएका थिए । नेपालमा राणाहरुले पक्राउ गरी बेलायती शासकलाई बुझाउन खोज्दा नेपालीहरुले विद्रोह गरी हिरासतबाट निकालेका थिए । यो घटनाको स्मरण गराउँदै भारतीय राजदूत मञ्जिभ सिंह पुरी नेपाली जनताले समेत भारतको स्वतन्त्रतामा योगदान पुर्याएको बताउँछन् । उनले भने, नेपाली जनताले सधै भारतको परिवर्तन र प्रगतिमा साथ दिएको इतिहास छ ।

एक अर्काको राजनीतिक परिवर्तनमा समेत साथ र सहयोग हुनेगरेकाले नेपालीहरु भारतको स्वतन्त्रताको योगदानकर्ता पनि हुन् । यसले नेपालमा समेत राजनीतिक र सामाजिक परिवर्तनको मार्ग कोर्यो । दुई देशबीचको परस्परको अन्र्तसम्बन्धबाट लाभ लिनसक्ने मार्ग प्रशस्त छन् । त्यसका लागि दुवै देशाबाट इच्छाशक्ति आवश्यक छ । भारतीय राजदूत पुरीले भनेजस्तै विन विनको अवस्था निर्माण गर्न सक्नुपर्छ । यसमा नेपाल र भारत दुवैको भलाई छ ।



प्रतिक्रिया दिनुहोस्