Logo

रवि लामिछानेलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाउने



काठमाडौं । प्रहरीले पत्रकार रवि लामिछानेमाथि निगरानी बढाएको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा मुछिएका रविमाथि प्रहरीले निगरानी बढाएको हो ।

आत्महत्या अघि पुडासैनीले बनाएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की नामकी महिलालाई मुख्य दोषी भनेपछि प्रहरीले अनुसन्धानका क्रममा घटनासँग जोडिएकाहरुमाथि छानविन बढाएको हो । यस क्रममा अस्मिता कार्की पक्राउ परेकी छिन् । ओखलढुंगा घर भई काठमाडौं बस्ने अस्मितालाई चितवनबाट महिला टोली आई लगेका छन् । उनीमाथि सोधपुछ शुरु भएको जनाइएको छ ।
प्रहरीले अस्मिता र शालिकग्रामबीचको सम्बन्धबारे समेत छानविन बढाएको छ । भिडियोमा शालिग्रामले अस्मिताले धोका दिएको भन्दै आत्महत्याका लागि वाध्य पार्न भूमिका खेलेको उल्लेख गरेका छन् । अस्मिता पेशाले नर्स हुन् । उनलाई प्रहरीले केही दिन अघिदेखि खोजिरहेकोमा ३० साउनमा नियन्त्रणमा लिएको थियो ।

घटनाबारे अनुसन्धान गर्न पत्रकार रवि लामिछानेलाई पनि बयानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले बोलाउने तयारी गरेको छ । चर्चित पत्रकार भएकाले उनलाई बयानका लागि बोलाउँदा प्रहरीले संयमता अपनाएको छ । भिडियोमा शालिग्रामले लामिछानेलाई आत्महत्याको मुख्य कारण भनेका छन् ।

२० साउनमा भरतपुरस्थित होटलमा झुण्डिएको अवस्थामा शालिग्राम पुडासैनीको शव फेला परेको थियो । घटनापछि उनको मोबाइलमा कैद गरिएको ८ मिनेट लामो भिडियोले तरंग ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्