Logo

अन्तरघात गर्नेलाई कारबाही : देउवा र कोइरालालाई के गर्ला अनुशासन समितिले



साउन ३१, काठमाण्डौ । आन्तरिक किचलोकै कारण कमजोर भइरहेको पार्टी हो नेपाली कांग्रेस । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको चुनावमा पार्टीभित्रैबाट अन्तरघाट हुँदा धेरै ठाउँमा पराजय बेहोर्नुपरेको कांग्रेसको ठहर छ । यसरी पार्टीको अनुशासन उल्लङ्घन गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र सभापतिका सम्भावित उम्मेदवार मानिएका शेखर कोइरालाविरुद्धसमेत अनुशासन समितिमा उजुरी परेको छ । कांग्रेस केन्द्रीय सदस्य भीष्म आङदेम्बेको नेतृत्वमा गठित अनुशासन समितिले उजुरी परेकासँग स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ  ।

स्वतः निष्कासन हुनेबाहेकका उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाईएको हो । आरोपितका नाममा समितिले पत्र काटेको ३५ दिनभित्र आरोपितले अनुशासन समितिमा स्पष्टीकरण दिनुपर्नेछ । समितिले प्रक्रिया अघि बढाएसँगै स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका करिब १२ सय स्थानीय नेता तथा कार्यकर्ता कारबाहीमा पर्ने देखिन्छ ।

सभापति देउवाविरुद्ध स्थानीय चुनावमा भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो भने नेता कोइरालाविरुद्ध १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेकोमा उजुरी परेको हो । तर यसबारे खासै खुलेर बोल्न नमानुभएका अनुशासन समितिका सदस्य देवेन्द्रराज कँडेलले शिर्षस्थ नेता विरुद्ध पनि उजुरी परेको भने स्विकार गरेका छन् ।

हुन त २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अन्तर्घात गरेकाहरू विरुद्ध कारबाही गर्न कांग्रेसको तत्कालिन अनुशासन समितिले अनुसन्धान गरेको थियो । १ सय ५४ मध्ये २४ जनाले मात्रै स्पष्टीकरण दिएका थिए । तर यस पटक भने अनुशासन समितिले उजुरी परेका सबैसँग स्पष्टीकरण लिई छाड्ने समिति सदस्य कँडेलको दाबी छ ।

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार, प्रस्तावक, समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार बनेका र तिनका प्रस्तावक र समर्थक ३२ जिल्लाका २ सय ९८ जना नेता तथा कार्यकर्तालाई भने यसअघि नै पार्टीबाट निष्कासन गरिसकेको छ । अनुशासनको कारबाहिमा कडाईले कांग्रेसभित्र रहेको अन्तर्घातको रोग केही कम हुने आकलन गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्