Logo

लुकाइँदैछ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था !



साउन ३१, काठमाण्डौ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासँग देश र जनताको चासोको विषय हो । प्रधानमन्त्री आफैंमा व्यक्ति होइन । संस्था हो । तर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे आश्वस्त हुने गरी जानकारी दिइएको छैन । चिकित्सकसहित दर्जनौं सल्लाहकार र विज्ञ राखेका प्रधानमन्त्रीको स्वास्थ्यबारे स्पष्ट नगर्दा अनेक चर्चा चल्ने गरेको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बिहीबार नेकपा सचिवालय बैठक नै स्थगित भयो । उहाँ केही दिनअघि मात्रै सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्कनु भएको हो । उपचार गरेर फर्किएलत्तै अस्वस्थ भएपछि प्रधानमन्त्रीको स्वास्थ्यप्रति अनेकन चर्चा भए ।

हल्ला यतिसम्म चल्यो कि ओलीलाई आकष्मिक रुपमा फेरी उपचारका लागि सिंगापुर लाने तयारी भइरहेको छ । यस्ता चर्चा परिचर्चाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ भन्नेमा चासो बढ्न थाल्यो । अनेकन अडकलबाजी पनि भए । सरकारले विधिवत रुपमा मुख त खोलेन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विहिबार राति ट्वीट गर्नुभयो । सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले प्रधानमन्त्री केही थकित भएकाले विहिबारको सचिवालय बैठक स्थगित गरिएको उहाँले जानकारी गराउनुभयो ।

देशको कार्यकारी प्रमुखको स्वास्थ्यबारे चासो हुनु स्वभाविक नै हो । तर सरकारीस्तरबाट जनता आश्वस्त हुने गरी पर्याप्त जानकारी नदिइदा भ्रम र आशंका फैलिएका छन् । प्रधानमन्त्री ओली १० दिन सिंगापुरमा उपचार गरेर फर्केको पाँच दिनसम्म पनि स्वास्थ्य रिपोर्ट सार्वजनिक गरिएको छैन । उपचारपछि फर्किदा विमानस्थलमा समेत आश्वस्त हुने गरी स्वास्थ्यअवस्थाबारे जानकारी दिइएन ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे बढि चिन्ता व्यक्त हुनुको कारण उहाँको मृगौला प्रत्यारोपण हो । प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ । मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनु भएको छ । चिकित्सकका अनुसार मृगौला प्रत्यारोपण गरेपछि स्वास्थ्यमा धेरै नै सावधानी अपनाउनु पर्छ ।

प्रधानमन्त्री भएपछि चिकित्सकले भनेजसरी आराम गर्न त सम्भव नहोला । तनाव र धपेडी प्रधानमन्त्रीको स्वास्थ्यका लागि बाधक हुन सक्छ । यतिनै बेला प्रधानमन्त्री अध्यक्ष रहेको नेकपाभित्र दोस्रो पद अर्थात उपाध्यक्षको प्रस्ताव पनि चलेको छ । वैकल्पिक प्रधानमन्त्रीको अपुष्ट चर्चा सत्तासीन नेताहरुबाटै हुने थालेको छ ।

यसले पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे चिन्ता राख्नेहरुलाई आधार थपिएको छ । प्रधानमन्त्रीको चिन्ता र चासोबीच ओलीले आफू स्वस्थ रहेको र अझै २५ वर्षसम्म केही नहुने दावी गर्नुभएको छ । गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग शुक्रबार बालुवाटारमा भेटघाटमा प्रधानमन्त्रीले आफू तन्दुरुस्त रहेको भन्दै स्वास्थ्य मजबुत भएको सन्देश दिनुभएको छ । अझै पनि प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्टबारे यथार्थ भने जानकारी गराइएको छैन ।



प्रतिक्रिया दिनुहोस्