काठमाडौं ३२ साउन । आत्महत्या दुरुस्साहन आरोपमा पक्राउ परेका कार्यक्रम सञ्चालक रवी लामिछानेका समर्थकहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शन ‘उग्र’ बनेका कारण १० सेल अश्रुग्याँस प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए ।
रवीका समर्थकहरु बिहान १० बजेदेखि दिनभर नाराबाजी गर्दै बसेका थिए। जिल्ला प्रहरी कार्यालय अगाडि नै नाराबाजी गरेपछि प्रहरीले पछिल्लो ढोकाबाट लामिछानेलाई अदालत लैजानु परेको थियो। जिल्ला प्रहरी कार्यालयबाट तीन सय मिटर पूर्वमा चितवन जिल्ला अदालत छ। अदालतको पछाडि सरकारी वकिलको कार्यालय छ।
शुक्रबार मध्यान्ह सरकारी वकिलको कार्यालय ढोकाबाट रवि लगायतलाई अदालत लगिएको थियो। सर्वसाधरणहरु प्रहरीको मुख्य गेट र अदालत गेट अगाडि भीड लागेका थिए। पछि उनीहरु सरकारी वकिलको कार्यालय अगाडि पनि थुप्रिए। अदालतमा पेस गरेपछि रवि लगायत तीनैजना आरोपीहरुलाई ५ दिन हिरासतमा राख्न म्याद दिइयो। तर उनीहरु दिनभर जसो अदालतमै बसे। चाढे ४ बजेतिर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा फर्काइएको थियो। त्यसपछि केही शान्त देखिएको थियो।
तर, साँझ छिप्पिदै जाँदा साढे ६ बजेतिर प्रहरी कार्यालय अगाडि उग्र भएको थियो। प्रहरी कार्यालयभित्रै ढुंगा हान्न थालेपछि अश्रु ग्याँस प्रहार गरेको एसपी मल्लको भनाइ छ।




प्रतिक्रिया