Logo

विकराल बन्दै आत्महत्या, दैनिक १६ जनाले फाल्छन् ज्यान



काठमाण्डौ । आत्महत्या नेपालको गम्भीर समस्या भइसकेको छ । नेपाल प्रहरीका अनुसार नेपालमा प्रत्येक दिन १६ जनाले आत्महत्या गर्छन् । पछिल्लो समय आत्महत्याले विकराल रुप लिदैँ आएको छ । कतिपय आत्महत्याका घटनाको अनुसन्धान पनि फलामको च्यूरासरह हुने गरेको देखिएको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ अनुसार दैनिक १६ जनाले आत्महत्या गर्ने गरेका छन् । जुन संख्या अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढी हो । आत्महत्या गर्नेमा १८ बर्ष मुनिका ८ प्रतिशत, १९ देखि ४० बर्ष उमेर समुहका १५ प्रतिशत ४१ देखि ६० बर्ष उमेर समुहका २९ प्रतिशत र ६० बर्ष भन्दा माथिका ७ प्रतिशत छन् । आत्महत्या गर्नेमध्ये ७५ प्रतिशत मानिसले झुण्डिने गरेका छन् ।

२३ प्रतिशतले विष सेवन त बाँकी २ प्रतिशत विभिन्न हतियार मार्फत आत्महत्याको बाटो रोज्ने गरेका छन् । आत्महत्यालाई पूरै रोक्न नसकिए पनि न्युनीकरण गर्न संभव छ । यसका लागि हरेक व्यक्ति र समाज नै सचेत हुनु जरुरी रहेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल बताउनुहुन्छ ।

पछिल्लो समय पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणले निकै चर्चा पाएको छ । आत्महत्या गर्नुअघि पुडासैनीले छोडेको भिडियो रेकर्डका आधारमा अनुसन्धान भइरहेको छ । उक्त भिडियो विभिन्न संचारमाध्यमबाट सार्वजनिक भएपछि प्रहरीमाथि भिडियो सुरक्षित राख्न नसकेको आरोप पनि लागेको छ । तर प्रहरी प्रवक्ता विश्वराज पोखरेलले उक्त भिडियो प्रहरीले कसैलाई नदिएको दावी गरे । बरु पुडासैनीले आत्महत्या गर्नुअघि नै भिडियो अरु कसैलाई शेयर गरेको हुन सक्ने पोखरेलको अनुमान छ ।

जब मान्छे अत्यधिक मानसिक एवं शारीरिक समस्याबाट गुज्रन थाल्छ तब उ विभिन्न खाले चिन्ताबाट विक्षिप्त हुन सक्छ । जब उसमा उत्साह र उमंग घट्छ, नकारात्मक सोच हाबी हुन पुग्ने मनोविज्ञको भनाइ छ । त्यसपछि जताततै अन्धकार र निराशा देखेपछि आत्महत्याको बाटो रोज्ने गरेको मानसिक रोग विशेषज्ञ डा. आलोक झा बताउँछन् ।

मृत्युलाई समस्या समाधान होइन । मानिस समस्यासँग जुध्न सक्ने भएकोले नै श्रेष्ठ प्राणी हो । बढ्दो प्रविधि प्रयोग र बदलिदो जीवनशैलीसँग मानिस व्यस्त र एकांकी बन्दैगएको छ । मानसिक रोगको समस्या पनि बढ्दो छ । आत्महत्या बढ्नुमा यो पनि प्रमुख कारण भएको छ । एकांकीबाट सामूहिक, घरपरिवारसँग घुलमिल हुने एवं रमाउने गर्ने जस्तो वातावरणले पनि यो विकराल समस्या घटाउन सहयोगी हुन सक्ने चिकित्सकहरुको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्