Logo

आकाश यात्रा लोकार्पण



काठमाडौं, १ भदौ । क्याप्टेन दधिराम निरौलाको पुस्तक आकाश यात्रा आजदेखि बजारमा आएको छ । पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल तथा क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य, निरौला पत्नी विना लगायतले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखेको यो पहिलो किताब आफूले पहिलो विमोचन गरेको बताए । उनले भने,‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिको पुस्तालाई एक दस्तावेज छाडेको छ ।’

क्याप्टेन कोश कुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना हुने गरेको र त्यो कुरा क्याप्टेन निरौलाले यस पुस्तकमा लेखेकोले पुस्तक रोमाञ्चक रहेको बताए ।

प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालले नेपालमा मानवजीवनको दस्तावेज बनाउन आफूहरुले सुरु गरेकोले पूर्खाको इतिहासले पुस्ता बदल्ने यो अभियानको पछिल्लो कडी यो पुस्तक भएको बताएको छ । ‘जीवन एकपल्ट मात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउनु जरुरी छ । त्यो काम दधिराम निरौलाले गर्नु भएकोमा खुशी लागेको छ ।’

क्याप्टेन पत्नी विना निरौलाले पाइलटको जीवन आकाशमा हुने पत्नीको जीवन धर्तीमा हुने हुनाले सधैं लागेको डरको पनि यो पुस्तक दस्तावेज भएको बताईन् । पाइलटको जीवन परिवारको लागि एकदमै कम हुँदाको असन्तुष्टि भए पनि किताब बन्दा खुसी लागेको छ ।

लेखक दधिराम निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुन्छ र तपाईँ किताब लेख्नुस् भन्ने पूर्व गभर्नर गणेश बहादुर थापाको भाइले प्रेरित गरेर र घोस्ट राइटिङ नेपालले करबल गरेर जीवनको पुस्तक बनाएको सुनाए । आफ्नो बेलाको पाइलटको दुख संघर्षको साथै आकाशको यात्रा भएकोले पुस्तकको नाम आकाश यात्रा संघर्ष र अनुभूति राखिएको हो ।



प्रतिक्रिया दिनुहोस्