Logo

नेकपामा बामदेव तरङ्ग : के हुँदैछ समीकरण ?



काठमाण्डौ । नेपाली राजनीतिक क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी–नेकपाभित्रको राजनीतिक समिकरणबारे विभिन्न चर्चा र आकलन भैरहेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रकृया अघि बढाएसँगै समिकरणबारे टिप्पणी सुरु भएका हुन् ।

कतिपयले नेकपाकै अर्का अध्यक्ष प्रचण्डको नजिक रहेको मानिएका गौतम ओली निकट भए भनेर विश्लेषण गरिरहेका छन् । तर केहीले तत्कालिन माओवादी शान्ति प्रकृयामा आएदेखिनै प्रचण्ड प्रति सकारात्मक देखिएका गौतम दुवै अध्यक्षको साझा पात्रका रुपमा देखिएको आकलन गरेका छन् ।

तत्कालिन एमाले र तत्कालिन माओवादीको एकतादेखिनै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका नेता बामदेव गौतम अहिले प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली निकट भएको आकलन गरिएको छ ।

विधानै परिवर्तन गरेर नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रकृया अघि बढेसँगै गौतम ओली निकट भएको आँकलन भैरहेका छन् । प्रतिनिधिसभाको गएको निर्वाचनमा पराजय र पार्टीभित्र महत्वपुर्ण जिम्मेवारीबाट बन्चित भएपछि गौतम ओलीको खरो आलोचकका रूपमा देखिएका थिए ।

गौतमले गत स्थायी समिति बैठकमै दुई अध्यक्षको लिखित प्रस्तावमाथि फरक मत राख्दै ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याई एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरी प्रचण्डलाई पार्टीमा बलियो बनाउने रणनीतिमा लागेका थिए ।

पार्टी एकतामा निर्णायक भूमिका खेलेपनि पार्टीमा उपयुक्त जिम्मेवारी नदिईएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र संभावित उपनिर्वाचनमा पनि ओली बाधक बन्ने परिस्थिति देखिएको ठहर गर्दै गौतम ओलीबाट टाढीदै प्रचण्डको सारथी बनेको देखिन्थ्यो । तर अहिले गौतमलाई उपाध्यक्षका लागि अघि सारेपछि ओलीको नजिक पुगेको बुझन गाह्रो नहुने विश्लेषक मुमाराम खनाल बताउँछन् ।

तर प्रचण्ड स्वयम्ले भने आफ्नै चाहनामा गौतमलाई संगठन विभाग प्रमुख र उपाध्यक्ष बनाएको बताउने गरेको स्रोतको दाबी छ । जिम्मेवारी दिँदैमा ओलीको खेममा गए भन्ने टिप्पणीको प्रचण्डले खण्डनसमेत गरेको बताइन्छ ।

विभिन्न उतारचढाव पछि अहिले पार्टीमा बलियो भुमिकामा देखा परेका गौतम ओलीका भरपर्दा पात्र बन्दै प्रचण्डसँगको दुरी बढाए भन्ने टिप्पणी भैरहदाँ तत्कालिन माओवादी शान्ति प्रकृयामा आएदेखिनै प्रचण्ड प्रति सकारात्मक देखिएका गौतमको प्रष्ट लाइन के हुन्छ ? उहाँ ओलीको कसरतमा मात्र उपाध्यक्षका लागि प्रस्तावित हुनुभएको हो या दुवै अध्यक्षको साझा एजेण्डा हो ? त्यो यसै भन्न सकिने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्