Logo

कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’



काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा निश्पक्ष छानबिन हुनपर्ने धारणा सार्वजनिक गरेको छ । पार्टीका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले यो प्रकरणमा स्वतन्त्र र निश्पक्ष ढंगले छानबिन हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको कुरा पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले यो प्रकरणमा पक्रा परेका न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेको पक्षमा वा समर्थनमा पत्र नपठाएको समेत उनले स्पष्ट पारे । उनले भने,”हाम्रो पार्टीले रवि लामिछानेलाई समर्थन गरेको छैन । हामी निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ भन्ने पक्षमा छौं । सभापतिले रवि लामिछानेलाई पत्र पठाउनुभएको छैन् ।” आफ्नो पार्टी पीडितले न्याय पाउनुपर्ने र कोही पनि निर्दोष व्यक्ति फस्न नहुने पक्षमा रहेको महतको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अहिले पत्रकार लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसहित तीनै जनाविरूद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको समय पाएको छ । आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमती सम्झनाले आजमात्रै रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की्विरूद्ध किटानी जाहेरी दिएकी छिन्।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी हुन्। उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाइको महानगरीय प्रहरी परिसरले जनाएको छ। तेह्र दिनको काजकिरिया सकिएपछि उनी आइतबार जाहेरी दिन परिसरमा पुगेकी थिइन्।

यो प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरिएपछि चितवनमा उनको पक्ष र विपक्ष दुवैमा प्रर्दशन भैरहेको छ । अनुशन्धान चलिरहेकोले जारी प्रदर्शनलाई निरुत्साहित पार्नेबारे आजमात्रै चितवनका प्रमुख राजनीतिक नेकपा र नेपाली कांग्रेस सहमत भएका छन् । पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरुले आम जनसमुदायमा अपील समेत गरेका छन् ।

कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुले यसअघि रवि लामिछानेलाई भेट गरेका थिए । उनले भेट गरेपछि देउवाले विशेष सन्देशसहित पत्राचार गरेको समाचार बाहिरिएको थियो । त्यसको लगत्तै, पार्टीले त्यसबारेमा खण्डन गरेको हो । आजमात्रै पनि नेविसंघका पूर्व महान्त्री कुन्दनराज काफ्लले लामिछानेलाई हिरासतमा पुगी भेटवार्ता गरेका थिए ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्‍याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज पुगेको हो । अनुसन्धानमा थप सहयोग पुर्‍याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनकाअनुसार काठमाडौँबाट गएका चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिक लगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्नेछ । टोलीले आजैदेखि काम शुरु गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्